कर्म अनुसारको फल
अरूलाई दोष लगाउनुअघि सत्य पत्ता लगाउनुपर्छ।
एकजना योगी सत्यको खोजीमा निस्किए। धेरै दिन हिँडेपछि बाटोमा उनको एकजना आँखा नदेख्ने व्यक्तिसँग भेट भयो। एक आपसमा चिनजान गरे। ती व्यक्ति पनि सन्यासी रहेछन्। उनी पनि केही कुराको खोजीमै हिँडेको योगीले थाहा पाए। त्यसपछि उनीहरूसँगै यात्रामा हिँडे। केही दिनपछि विशाल मरुभूमिमा पुगे। बास बस्ने ठाउँ कहीँ पाएनन्। उनीहरू थकित थिए। खानेकुरा तथा पानी पनि केही थिएन। औंसीको रात अनि जाडोको समय थियो। कहीँ केही नपाएपछि उनीहरू मरुभूमिमा सुते। दिनभरीको थकानले एकैछिनमा निदाए पनि।
अँध्यारो रात अनि जाडो धेरै भएकाले आधा रातमै योगीको निद्रा खुल्यो। उनलाई उज्यालो भइसकेजस्तै लाग्यो। संन्यासीलाई हेरे, मस्त निदाइरहेका थिए। उठाउन मन लागेन। आफू पनि सुत्न खोजे तर जाडोले सकेनन्। त्यसपछि सन्यासीलाई उठाए। उनी उठेपछि छामछुम गर्दै यताउता केही खोज्न थाले। ‘के खोज्नुभएको ?’ योगीले सोधे। उनले भने, ‘मेरो टेक्ने लौरो खोजेको, कहीँ भेटिएन। तपाईं त आँखा देख्नुहुन्छ, खोजिदिनुहोस् न।’ योगीले राति सुत्ने बेलामा लौरो नदेखेको बताए। आँखा देख्ने मान्छे भएर पनि सहयोग नगरेको भन्दै संन्यासी भुत्भुताउँदै थिए।
मरुभूमिमा राखेको लौरो बालुवामा पुरिएछ। कुन ठाउँमा पुरियो पत्तै भएन। अँध्यारो रातमा कहाँ खोज्ने। साधुले पनि कतै भेटेनन्। त्यसपछि सुरु भयो उनीहरूको झगडा। संन्यासीले लौरो लुकाइदिएको आरोप योगीलाई लगाए। आँखा नदेख्ने भनेर हेपेको पनि भने। योगी चुप लागेर बालुवाभित्र कतै लौरो भेटिन्छ कि भन्दै खोजिरहे। अचानक उनले बालुवाभित्र एउटा सर्प भेटाए। जुन जाडोले कठ्याँग्रिएर अह्ररो भएको थियो। चिल्लो, डोलो चिजलाई उनले लौरो नै ठाने। साथीले लौरो भेटाएकोमा योगी पनि खुसी भए। केही घन्टामा उज्यालो भयो। साथीको हातमा सर्प देखेर भने, ‘त्यो तपाईंले हातमा लिएको लौरो होइन, त्यो त सर्प हो। फालिदिनुहोस्।’ तर, उनले मानेन्। तापक्रम बढ्दै गयो। सर्प पनि ब्यूँझन थाल्यो। एकैछिनमा सर्पले सन्यासीलाई टोक्यो। उनी त्यहीँ मरे।
नैतिक शिक्षा : अरूलाई दोष लगाउनुअघि सत्य पत्ता लगाउनुपर्छ।