एनआरएनएमा कुबेलाको राजनीति
राजनीति एक अपरिहार्य चिज हो। तर, कहिले र कुन बेलामा राजनीति गर्ने र कुन बेलामा नगर्ने भन्ने महत्वपूर्ण कुरा हो।
निर्वाचन हुने सुनिश्चितता बढेसँगै संसारभरका गैरआवासीय नेपालीमा यतिबेला नेतृत्व छनोटको चर्चा छ। उनीहरू काठमाडौंका होटल तथा रेस्टुराँमा देखा पर्न थालेपछि फरक रौनक थपिएको छ। गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनकै विषयमा चर्चा, परिचर्चा र छलफल सुनिनु स्वाभाविक पनि हो। वास्तवमा गैरआवासीय नेपालीबीच राजनीतिक रूपले विभाजन भएको देखिन्छ। जुन हुनु वा राजनीतिक दलको प्रभावका आधारमा व्यवहार हुनु नेपाल र नेपालीकै लागि सही होइन। तर, गैरआवासीय नेपालीको छाता संगठनभन्दा मुनिका अन्य विभिन्न संगठन राजनीतिक आस्थाकै आधारमा बनेका छन्। सम्भवतः सोही कारण कहिलेकाहीँ गैरआवासीय नेपालीमा राजनीतिक दलप्रतिको आस्था हावी हुने परिस्थितिको सिर्जना भएको हुनसक्छ।
गैरआवासीय नेपाली संसारमा जो जहाँ भए पनि नेपाल र नेपाली प्रतिको माया मोह रहेको कुरामा भने शंका छैन। निःसन्देह रूपमा गैरआवासीय नेपालीले नेपाललाई माया गरेका छन्। त्यस विषयलाई हामीले नजरअन्दाज गर्न मिल्दैन। तर, यसरी अन्तर्राष्ट्रिय सम्मेलन रोकिनु, राजनीतिक आस्थाको आधारमा व्यवहार हुनु र विभाजित हुनु गैरआवासीय नेपाली र नेपालका लागि पनि राम्रो होइन।
पंक्तिकारलाई समेत गैरआवासीय नेपाली र उनीहरूको संस्थाका विषयमा चासो, चिन्ता र बहस यस कारण पनि छ–गैरआवासीय नेपालीलाई कानुनी मान्यता दिन र उनीहरूका लागि कानुन बनाउने कामसमेत गरेको हुँ। त्यतिबेला गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय अध्यक्ष उपेन्द्र महतो हुनुहुन्थ्यो र वरिष्ठ उपाध्यक्ष देवमान हिराचन। जतिबेला नेपालमा एनआरएनहरूको अन्तर्राष्ट्रिय कार्यालयमा उद्योग वाणिज्य संघको भवन टेकुमा थियो।
त्यस बखत प्रतिनिधिसभाका सदस्य नारायणमान बिजुक्छेको संयोजकत्वमा चक्रप्रसाद बाँस्तोला र रोमी गौचन थकाली तीन जनाको समिति बनाइयो। कानुनविज्ञको सहयोग लिएर गैरआवासीय नेपालीसम्बन्धी ऐन बन्यो। ऐन बनेपछि प्रतिनिधिसभामा पेस गर्न उहाँहरूले जिम्मेवारी पाउनुभएको थियो। त्यसबेला चक्रप्रसाद बाँस्तोलाले पंक्तिकारलाई बोलाएर गैरआवासीय नेपालीहरूका लागि संसद्मा विधेयक पेस गर्न ऐन बनाउन जिम्मा दिनुभएको थियो। उपेन्द्र महतो, देवमान हिराचन तत्कालीन उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी र पराराष्ट्र मन्त्रालयका तत्कालीन एनआरएन हेर्नेसमेत तोकिएका सहसचिव सुरेश प्रधान (जो त्यसबेला जर्मनका लागि राजदूत नियुक्त भएका थिए) उनीहरू समेतलाई समन्वय गरेर पंक्तिकारले एनआरएनका लागि व्यवस्थित गर्न मस्यौदा गरेको थियो। उक्त ऐन २०६४ सालमा संसद्बाट पारित गरेर जारी गरियो।
गैरआवासीय नेपालीले ऐनमा व्यवस्था गरेकाले हाम्रो आवश्यकता पूरा भएन भनेर आपत्ति जनाइयो। त्यसपछि र ऐन कार्यान्वयनमा अवरोध सिर्जना भयो। पुनः परराष्ट्रका सहसचिव सुरेश प्रधान, गैरआवासीय नेपाली संघका उपाध्यक्ष देवमान हिराचन, उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी र पंक्तिकार गरी चार जनाको कमिटी बनाएर गैरआवासीय नेपाली संघ नियमावली २०६६ बनाएर जारी गरियो।
त्यसपछि संसारभरका गैरआवासीय नेपालीले मातृभूमिले नेपाली जनप्रतिनिधिको थलो संसद्ले कानुन बनाएर सुविधा दिएको कुराको उत्साह संसारभर मनाए। त्यसपछि गैरआवासीय नेपाली संघको नेतृत्वमा देवमान हिराचन आउनुभयो। ऐन र नियमले गैरआवासीय नेपालीका हकमा नेपालमा लगानी गर्न पाउने, लगानी सुरक्षित हुने, सम्पत्ति राख्न पाउने, घरजग्गा सम्पत्तिको सीमा कानुनले नै तोकिएको थियो। गैरआवासीय नेपालीले के–के सुविधा राख्न पाउने सुविधा कानुनले तोकेको थियो।
विदेशमा रहेका जति पनि नेपालीहरू छन्, उनीहरू एक हुनु अहिलेको आवश्यकता हो। तर, यदि उनीहरूमा पनि राजनीतिक दाउपेच चल्न थाल्यो भने उनीहरूको राष्ट्रियता पनि फितलो बन्दै जान्छ।
यसरी संसारभरका विभिन्न पेसा व्यवसाय गरेर बसेका नेपाली जो कसैले नेपालको नागरिकता त्यागेर उतैको नागरिकता लिएका छन्। जो नेपालको नागरिकता यथावत् राखेर पनि बसेका छन्। जुन–जुन मुलुकको जे व्यवस्था छ, त्यहीअनुसार संसारभर बसेका नेपाली आफ्ना सन्तानलगायतले नेपालको माया गरेका छन्। कतिपयले विदेशमा बसे पनि त्यहाँ काम गरे पनि त्यहाँको पैसा नेपालमा ल्याएर लगानी गरेका छन्। सम्पत्ति नेपाल ल्याएर नेपालमा उद्योगधन्दा रोजगारी फस्टाएका छन्। यी सबै सकारात्मक अभिप्रायले गरेका काम थिए।
तर, आज आएर वर्षौंदेखि अन्तर्राष्ट्रिय सम्मेलन हुन सकेको छैन। गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय संस्थामा पनि विभिन्न दलका उम्मेद्ववार भनेर चिनाइनु रंगको आधारमा व्यवहार गरिनु हो। सम्मेलन रोकिनु हो। एकअर्काले अदालतको ढोका ढकढक्याएर सम्मेलन रोक्नु एक अर्काले गर्न खोजेका राम्रा काम गर्न नदिनु हो। कहीँ नभएको जात्रा हाँडी गाउँमा जस्तो नेपालीको जस्तै व्यवहार देखिनु दुर्भाग्यपूर्ण हो। जसमा मजस्तो व्यक्ति जो गैरआवासीय नेपालीको शुभचिन्तक देखिन्छ। ऐन, नियम मस्यौदादेखि संगठनका आन्तरिक गतिविधिसमेतलाई सकारात्मक सहयोग पुर्याउने जोकोहीले शुभचिन्तक पनि एनआरएनमा अहिले देखिएको अवरोध बाधा व्यवधान र विवाद देख्दा दुःख माग्नु स्वाभाविक नै हो।
हो राजनीति एक अपरिहार्य चिज हो। तर, कहिले र कुन बेलामा राजनीति गर्ने र कुन बेलामा नगर्ने भन्ने महत्वपूर्ण कुरा हो। विदेशमा रहेका जति पनि नेपालीहरू छन्, उनीहरू एक हुनु अहिलेको आवश्यकता हो। तर, यदि उनीहरूमा पनि राजनीतिक दाउपेच चल्न थाल्यो भने उनीहरूको राष्ट्रियता पनि फितलो बन्दै जान्छ। त्यहाँ मातृभूमिप्रतिको मायाभन्दा पनि दलप्रतिको स्वार्थ बढ्दै जान्छ। अहिले वास्तवमा देशलाई गैरआवासीय नेपालीहरूको आवश्यकता छ। उनीहरूको लगानी नेपालका लागि महत्वपूर्ण हुनेछ। आयात बढेसँगै विदेशी मुद्रा सञ्चितिमा बढेको चापलाई कम गर्न गैरआवासीयहरूको योगदान महत्वपूर्ण रहन्छ। किनभने देशमा उनीहरूले डलर भित्याउन सक्छन्। उनीहरूले सेयरमा लगानी गर्न सक्छन्। देशमा उद्योगधन्दा सञ्चालन गरेर उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सघाउ पुर्याउन सक्छन्। तर, त्यसका लागि प्रतिबद्धता भने चाहिन्छ। एक ठोस योजना पनि चाहिन्छ। त्यो तबमात्र सम्भव छ जब सबै गैरआवासीय नेपालीहरू एक ठाउँमा उभिन्छन्।
तर, अहिले हेर्ने हो भने सबै विभाजित छन्। विभाजित यस अर्थमा छन् कि उनीहरूको विचार फरक–फरक भएको छ। नेपाललाई हेर्ने नजरिया फरक–फरक भएको छ। किनकि उनीहरू पार्टीगत आस्था राख्न थालेका छन्। हो, उनीहरूलाई कुनै पनि पार्टीको आस्था राख्न छुट छ। र हुनु पनि पर्छ। किनभने त्यो उनीहरूको अधिकारको कुरा हो। तर, राजनीतिक विषयले उनीहरूबीच फुटको स्थिति सिर्जना हुन्छ भने त्यहाँ राजनीतिले नकारात्मक प्रभाव पारेको महसुस गर्न सकिन्छ। जो हुनुहुँदैन। उनीहरू देशको अभिन्न अंग भएको नाताले राष्ट्रियताको विषयमा उनीहरू एक हुनुपर्छ।
देशलाई कसरी मद्दत गर्न सकिन्छ त्यस विषयमा उनीहरू एक हुनुपर्छ। त्यहाँ कुनै दलप्रतिको प्रेमभन्दा पनि नेपालप्रतिको माया झल्किनुपर्छ। अन्यथा उनीहरूको राजनीतिले देशलाई कुनै फाइदा हुँदैन। त्यसैले देशमा भइरहेका तमाम घटनाहरूको सम्बन्धमा उनीहरूले समय–समयमा छलफल गर्नुपर्छ। त्यसको निचोड निकाल्न सरकारलाई सल्लाह दिनुपर्छ। गैरआवासीय नेपालीहरूले नेपालमा पर्यटन विस्तारमा जोड दिन सक्छन्। नेपालमा उद्योग कलकारखानाहरू खोली रोजगारी सिर्जना गर्न सक्छन्। यहाँको मौलिक संस्कार तथा भाषा संस्कृतिलाई विश्वसामु पस्किन सक्छन्। नेपालको इतिहासलाई विभिन्न देशहरू समक्ष पस्किन सक्छन्। देशमा बन्ने नीति नियम तथा विकासका योजनाहरूमा सरकारको सारथिको रूपमा काम गर्न सक्छन्। विदेशी ज्ञान र अनुभवलाई नेपाल भित्याएर नेपालमा पनि विकासको खम्बा गाड्न सक्छन्। त्यसका लागि बस उनीहरूको बीचको एकता आवश्यक छ। त्यसमा गैरआवासीय नेपाली संघले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
तर, पुराना संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोजस्ता व्यक्तित्व देवमान हिराचन, शेष घलेजस्ता संस्थापक र पूर्वअध्यक्षले अभिभावकको भूमिका लिने अग्रसरता देखाउनु पर्छ। यो संस्थालाई जीवन्त र सशक्त बनाउने काम आउने दिनमा उनीहरूको काँधमा पनि छ। नयाँ आउने नेतृत्वलाई राम्रो सल्लाह सुझाव दिएर मार्गप्रशस्त गर्न उनीहरूले पनि उल्लेखनीय भूमिका खेल्नुपर्छ।