महानगरले मास्यो ‘लाछी’

महानगरले मास्यो ‘लाछी’

काठमाडौं : नेवारी भाषामा ‘लाछी’ शब्दले सार्वजनिक आँगन भन्ने बुझाउँछ। काठमाडौंका टोल–टोलमा लाछी राखेर सार्वजनिक कार्यक्रम र चाडपर्व त्यहीँ मनाउने चलन पुरानो हो। यस्तो स्थानमा पानीको पनि व्यवस्था हुने भएकाले पैदल हिँड्नेलाई थकाई मार्न र पानी पिउन पनि सहज हुन्छ। लाछी काठमाडौंमा धेरै भए पनि पछिल्लो समय अतिक्रमणमा पर्न थालेको छ। 

काठमाडौं महानगरपालिका–२७ ज्याठामा रहेको गुणाकर महाविहार (छुस्याबहाः) को  सार्वजनिक जग्गा ‘लाछी’ पनि अतिक्रमणमा परेको छ। सार्वजनिक जग्गामा वडा कार्यालयको भवन बनाउन सुरु भएपछि स्थानीयले आपत्ति जनाएका छन्। ४ आना क्षेत्रफल भएको सो जग्गा पुरातात्विक सम्पदा भएको भन्दै सम्पदाविद् तथा पुरातत्वविद्हरूले आपत्ति जनाएका हुन्। वडाको सो निर्णय रोक्नका लागि उनीहरूले पुरातत्व विभागमा निवेदनसमेत दर्ता गराएका छन्। 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्की तथा वडाअध्यक्ष चिनियामान बज्राचार्यलगायतले गत माघ २३ गते उक्त स्थानमा भवन शिलान्यास गरेका थिए। गत माघ २० गते सुरु भएर ०७९ पुस ३० सम्म निर्माण सम्पन्न गर्ने भनिएको उक्त आयोजना काठमाडांै महानगरपालिकाको २ करोड ८० लाख ८१ हजार ६ सय ३१  रुपैयाँबराबरको लागतमा बन्नेछ। महानगरले वडा कार्यालय भवन बनाउन सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप स्थानीयको छ।

उता महानगरको आफ्नै दाबी छ– ‘त्यो जग्गा हाम्रो स्वामित्वको हो।’ ‘त्यो जग्गा हाम्रो स्वामित्वमा छ। वडाको हितका लागि हामीले वडा भवन बनाउन थालेका हौं,’ वडा नं. २७ का वडा सदस्य नरेशमान महर्जन भन्छन्। सम्पदाविद् भने उनको कुरालाई खण्डन गर्छन्। सम्पदाविद् सिद्धिरत्न शाक्य भन्छन्, ‘पुरातात्विक महत्वको उक्त जग्गाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ। यसलाई मासेर कृत्रिम संरचना बनाउन पाइँदैन।’ 

सम्पदाकर्मीको निवेदनमा पुरातत्व विभागले शुक्रबारदेखि नै उत्खनन कार्य सुरु गरेको छ। उत्खननका क्रममा उक्त स्थानबाट ऐतिहासिक तथा परम्परा दर्शाउने सामग्री फेला परेको पुरातत्व विभागले जनाएको छ। पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार उत्खनन गर्दा श्री ३ जुद्ध लेखिएको पुरानो इँटालगायतका सामग्री भेटिएको छ। यसका साथै उक्त स्थानमा फल्चा (बस्ने ठाउँ) रहेको समेत पत्ता लागेको छ। पुरातात्विक स्थलमा अनुमति नलिई भवन बनाउन सुरु गरिएकाले विभागले तत्कालै रोक्न पत्राचार गरेको थियो। महानगरले संरचना निर्माण गर्न सुरु गरेकाले पौराणिक सामग्री नष्ट हुने संभावना भएकाले तत्कालै उत्खनन कार्य गरिएको विभागले जनाएको छ। 

उक्त जग्गा दान दिएको र सार्वजनिक भएको त्यहाँ भेटिएको शिलापत्रले पनि पुष्टि गर्छ। गुणाकर महाविहार परिसरभित्र मूल मन्दिरको ठ्याक्कै अगाडि दाहिने दिशामा शिलापत्र छ। शिलापत्रअनुसार उक्त जग्गा ३ सय ५३ वर्षअघि दान दिइएको जग्गा हो। पुरातत्व विभागको अभिलेख शाखामा लामो समय काम गरेका सम्पदाविद् सिद्धिरत्न शाक्यका अनुसार शिलापत्रमा उक्त जग्गाको विषयमा प्रष्ट लेखिएको छ। सिद्धिरत्न  भन्छन्, ‘शिलापत्रअनुसार नेपाल सम्वत् ७८८ अर्थात् विक्रम सम्वत् १७२५ मा ध्वखा बहालका गुणज्वोति बज्राचार्यले यो ठाउँमा महाविहार बनाएका थिए। जसलाई गुणाकर महाविहार भनिन्छ। महाविहार बनाएपछि सबैले देख्ने गरी पाटी बनाए। लाछी पनि संकल्प गरे। त्यसपछि नै करिब ४ आना क्षेत्रफल बराबरको लाछी सार्वजनिक कामका लागि प्रयोगमा आउन थालेको हो। 

ज्ञानज्वोति बज्राचार्यले दिएको त्यहीँ लाछीमा अहिले वडाभवन बनाउन लागिएको हो। शिलापत्रअनुसार यो विहार भत्कायो वा यहाँको सामान चोरी गरेर लगेमा पञ्च महापाप लाग्छ भन्ने जनविश्वास छ। संरक्षण गर्नेलाई हजारवटा विहार बनाएको र कोटीयज्ञ गरेको फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको भन्छन् बज्राचार्य। अहिले हेर्दा गुणाकर महाविहार भने जस्ताको तस्तै छ। पाटी मासिएको छ। लाछीको जग्गा विवादित छ। सम्पदाविद् ओलोकसिद्धी तुलाधरका अनुसार लाछीको सार्वजनिक जग्गामा केही अघिसम्म स्थानीय क्लबको सानो भवन थियो। अहिले यो भवन भत्काएर वडाको ५ तले भवन निर्माण गर्न लागिएको हो। 
तुलाधर भन्छन्, ‘महानगरको लापरबाहीले गर्दा काठमाडौंका धेरै लाछी, विहार र फल्चाहरू मासिसके। सम्पदा र संस्कृति जोगाउने जिम्मा पाएको महानगर नै सम्पदा मास्न अघि सरेपछि हाम्रा सन्तानलाई के राखीदिने ? सम्पदाको नाममा भावी पुस्ताले के हेर्छन् ? वडा कार्यालय भवन बनाउन यही लाछीको जग्गा किन चाहियो ?’ 

वडा नम्बर २७ का वडा सदस्य नरेशमान महर्जन यो वडा कार्यालय बनाउदा यहीँका बासिन्दालाई फाइदा हुने तर्क गर्छन्। ‘सार्वजनिक हितका लागि नै हामीले यो भवन निर्माण गर्न लागेका हौं। स्थानीय क्लबसँग यो जग्गाको लालपुर्जासमेत छ। क्लबसँगको सहकार्यमा हामीले भवन निर्माण गर्न लागेका हौं। पुरातत्व विभागले काम रोक्न भनेकाले केही दिन रोकिएको हो। उत्खनन पछि केही प्रतिवेदन आउला नै। त्यसपछि आधुनिक संरचना निर्माण गर्ने नै छौं। यो सबैको हितका लागि हो।’ 

सम्पदाविद् आलोसिद्धि तुलाधर भन्छन्, ‘दानमा दिइएको यो जग्गाको लालपुर्जा छ छैन ? छ भने स्थानीय क्लबको नाममा कसरी लालपुर्जा बन्यो हामीले खोजिरहेका छौं। आवश्यक परेमा कानुनको सहयोग लिएर लालपुर्जा बदर गराएर भए पनि सम्पदा संरक्षण गर्छौँ।’ गुणाकर महाविहारभित्र भएको शिलापत्रभन्दा बलियो प्रमाण अरू केही नहुने उनी बताउँछन्। ‘यो जग्गा सार्वजनिक लाछीकै हो। हामीले संरक्षण गर्नुपर्छ। कानुनले पनि शिलापत्रलाई बलियो र ठोस प्रमाण मान्ने गर्छ।’ 

वडाध्यक्ष चिनियामान बज्राचार्य ज्याठा सामुदायिक क्लबसँग लालपुर्जा रहेको दाबी गर्दै भन्छन्, ‘२१३५ नम्बर कित्ता नम्बरको लालपुर्जा क्लबसँग छ। मलाई कहिले लालपुर्जा लिए भन्ने थाहा छैन। तर, हामीले बैधानिक रूपमा नै बनाउन सुरु गरेका हौं।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.