यसरी क्यान्सरको निदान
विश्वमा बढिरहेको नसर्ने रोगमध्येको प्रमुख रोग हो, क्यान्सर। यसबाट विश्वमा ८८ लाखभन्दा बढी अर्थात् १३ प्रतिशत बढीको मृत्यु हुन्छ। दक्षिण एसियामा १३ लाख र नेपालमा बर्सेनि १५ हजारदेखि २० हजार मानिसको मृत्यु हुन्छ। एक जटिल जनस्वास्थ्य समस्याको रूपमा देखा परेको क्यान्सरबाट ७० प्रतिशत अर्थात् मृत्यृको तेस्रो कारक मानिन्छ। विकासशील तथा कम आय भएका देशहरूमा र विकसित देशमा मृत्यृको दोस्रो कारकका रूपमा रहेको पाइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरिमा हुने हरेक ६ मृत्युमा एउटा क्यान्सरको कारणले हुन्छ। नेपालमा एक लाखभन्दा बढी क्यान्सर पीडित छन्। वार्षिक ४० हजार बिरामी थपिन्छन्। जसमा आधाभन्दा बढी महिला पर्छन्।
नेपालमा प्रत्येक दुई घर बिराएर तथा हरेक १० जनामा एक क्यान्सर रोगी हुन सक्ने अनुमान छ। भयावहतालाई मध्यनजर गर्दै सचेतना जगाउन हरेक वर्ष झंै यस वर्ष पनि ‘विश्वभर हामी सक्छौं, म सक्छु’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस विश्वभर मनाइयो। तथापि औपचारिकता र सरोकारवाला संस्थामै सीकित रह्यो। विश्वका प्रमुख रोग औलो, क्षयरोग र एचआईभी/एड्सभन्दा बढी मृत्यु क्यान्सरबाट हुने भएकाले अझै पनि चुनौतीका रूपमा छ। ६० देखि ७० हजारभन्दा बढी क्यान्सरका रोगी नेपालमा भएको अनुमान छ। एकातिर यस्तो भयावह स्थिति छ। अर्कोतिर क्यान्सर बनाउन सक्ने कारणहरू १० वर्षमा १५ सय गुणाले वृद्धि भएको पाइन्छ। यसरी उत्पादन तथा प्रचारप्रसारमा वृद्धि भएको तथ्यांकले स्वास्थ्यकर्मी मात्र होइन, स्वास्थ्यप्रति सचेत जनता र राष्ट्रलाई नै चिन्ताको विषय बनाएको छ।
उपाय नसुल्झाए आगामी एक दशकमा विश्वमा १ करोड ७० लाखको ज्यान क्यान्सरबाट जानेछ। जनचेतनाको कमी, समयमा निदान हुन नसक्नु, उपचार अन्य चिकित्सकबाट गरिनु समस्या बनेको छ। सुविधाको पहुँचको कमी र उन्मूलनतर्फ नयाँनयाँ उपायको खोजी हुन नसक्नुले पनि चुनौती थपेको छ। रोग लाग्न नदिन विभिन्न जनचेतनामूलक कार्यक्रम नहुनुले प्रकोपता बढेको बढ्यै छ। यिनमा ध्यान दिई रोग लाग्ने वातावरण, समयमै विशेषज्ञकहाँ पुग्ने तथा समयमै निदान र उपचारको व्यवस्था मिलाउन थप जोड दिनुपर्ने टड्कारो महसुस छ।
शरीरको अंगप्रत्यंगका कोष/कोषिका अनियन्त्रित र असामन्जस्य रूपमा अस्वाभाविक आकार र संख्यामा वृद्धि भएर शरीरलाई प्रतिकूल असर पार्ने रोग क्यान्सर हो। क्यान्सरले आफू नजिकका तन्तुहरूलाई असर पार्छ। एक स्थानबाट अर्को स्थानमा तन्तुमा सर्न वा असर पार्न पनि सक्छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन। अर्बुद रोग उपचार गर्न सकिने एक दुःख हो। जुन पुरुषमा प्रायःको उपचार हुन्छ र महिलामा झन् सुरुमै पत्ता लगाउन सकिन्छ। अर्बुद रोगको सम्भावना बढाउनेमा ९० प्रतिशत बढी खानपिन, रहनसहन, वातावरण, जीवनशैली आदि नै हो। १० प्रतिशत कममा शरीरको आन्तरिक कारणले हुने गर्छ। सुर्ती तथा सुर्तीजन्य पदार्थ, मादक पदार्थ, खानपिन–पोषणको कमी भिटामिन ए, ई र सी, खनिजतत्व फलाम आदिको कमीले यो रोगलाई निम्त्याउँछ। तामा र म्यागनिज, तयारी खाना, बासी खाना र बढी चिल्लो भएको खाना, प्रदूषण– विषालु रसायन पनि रोगका कारण हुन्। आर्सेनिक, निकेल, अस्वेस्टस, अलकत्रा र तार, विकिरण–एक्सरे, अल्ट्राभाइलेट किरण, भाइरस–ईवीभी, एचपीभी, एचएसभी, सीएमआई, भेरिसेला जुस्टर, हेपाटाइटिस, असुरक्षित यौन व्यवहार, हर्मोन–स्ट्रोजेन र टीएसएच, उमेर र वंशानुगत पनि हुन्।
उमेर जति बढ्दै गयो त्यति नै क्यान्सर लाग्ने सम्भावना बढ्दै जान्छ। विश्वमा करिब दुई सय प्रकारका क्यान्सर देखा परेका छन्। बिनाकारण वजन घटेमा, अपच वा खाना निल्न गाह्रो भएमा, दिसा वा पिसाबको बानीमा फरक परेमा चिकित्सकलाई परीक्षण गराउनु पर्छ। असाधारण रक्तस्राव वा पिप आएमा, उपचारद्वारा निको नहुने पुरानो घाउ भएमा, हतपत निको नहुने खोकी वा घोक्रो स्वर भएमा पनि सचेत हुनुपर्छ। कोठीको रङ र आकारमा परिवर्तन देखा परेमा, स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आएमा क्यान्सरको सुरुको लक्षण सम्झेर शंका गर्नुपर्छ। अंगअनुसार लक्षणहरू पनि फरक–फरक देखिने गर्छन्। क्यान्सर लागिसकेपछि व्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पता हुने र प्यारानियोब्लस्टिक सिन्ड्रोम हुन्छ।
क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमले साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्छ। वयस्कमा ४० प्रतिशत निको हुन्छ भने बच्चामा ६०–९० प्रतिशत निको हुन्छ। यदि सुरुकै अवस्थामा क्यान्सरको निदान हुन सक्यो र उपचार सुरु गरियो भने क्यान्सर निको भई धनजनको क्षति न्यूनीकरण हुन्छ।
क्यान्सर स्वीकार्न त्यति सजिलो छैन, डाक्टरले क्यान्सर छ भन्दा त छानाबाट खसेझैं हुन्छन् बिरामी र आफन्त। जीवनशैलीमा सकारात्मक परिवर्तन, सकारात्मक सोच र सामान्य उपचारले पनि क्यान्सर रोक्न सकिन्छ। दिनहुँ ३० मिनेटको व्यायामले क्यान्सरबाट बचाउने विश्व स्वास्थ्य संगठनले जनाएको छ। दैनिक फरकफरक ताजा फल र सब्जी चार, पाँच सय ग्राम उपयोग गर्दा तथा दैनिक भोजनमा वनस्पतिको उपयोग बढाउँदा क्यान्सर रोक्न सकिन्छ।
९० प्रतिशतभन्दा बढी क्यान्सर सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपिन र रहनसहन, वातावरणीय प्रदूषण इत्यादिको कारणले हुन्छ। क्यान्सर रोकथाम र नियन्त्रण गर्न सूर्तीजन्य पदार्थको उत्पादन, वितरण र प्रयोगमा नियन्त्रण गर्ने, रक्सी उपयोग नगर्ने र अस्वस्थकर खानपिनको बानी व्यहोरामा सुधार गर्नुपर्छ। हेपाटाइटिस रोगविरुद्धको खोप लगाउने, ताजा हरियो सागपात र मौसमअनुसारको फलफूल दिनहुँ खाने तथा बासी सडेगलेको तथा ढुसी परेको खाद्यपदार्थ नखाने गर्नुपर्छ। अन्यमा रासायनिक मल, किटनाशक औषधि र अखाद्य रङ प्रयोग भएको खानेकुरा खानु हुँदैन। सक्रिय दैनिक जीवन अपनाउने र आफ्नो स्वास्थ्यप्रति सचेत भई बेला बेलामा स्वास्थ्यकर्मीहरूसँग परामर्श लिने गर्दा क्यान्सरबाट बच्न सकिन्छ।
- बुढाथोकी, नेपाल चिकित्सक संघका कोषाध्यक्ष हुन्।