नगर विकास लिज प्रकरण : २ सय जनामाथि विशेष अदालतमा मुद्धा दर्ताको तयारी
महेन्द्रनगर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा दुई सय जना माथि विशेष अदालतमा मुद्धा दर्ताको तयारी गरेको छ।
महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री, वितरण र लिजमा दिएको उजुरीपछि आयोगको टोलीले अनुसन्धान थालेको थियो। अख्तियार स्रोतका अनुसार अबको केही दिनमै २ सय जनामाथि विशेष अदालतमा मुद्धा दर्ताको तयारी भइरहेको छ।
“महेन्द्रनगर नगर विकास जग्गा प्रकरण अहिले सम्मकै ठूलो मुद्धा हो।” स्रोतले भन्यो–“अहिले प्रतिवेदन तयार हुँदै छ केही दिनमै २ सय जना माथि विशेष अदालतमा मुद्धा दायर गर्ने तयारी भइरहेको छ।”
जग्गा अनियमितताको विषय छानबिनका लागि भने अख्तियारको टोली भदौ तेस्रो साता कञ्चनपुर पुगेको थियो। अख्तियारले जमिन लिजमा लिने र खरिद गर्नेदेखि समितिका तत्कालीन पदाधिकारी र कर्मचारीहरूसहित २ सय भन्दा बढीको बयान लिएको थियो।
स्थापनाका बेला ६३८ बिघा जमिन रहेको समितिसँग अहिले ६६ बिघा मात्रै बाँकी छ। अनुसन्धान टोलीले अहिलेपनि अनुसन्धान गरिरहेको छ। ६ सय ३८ बिघा जग्गा रहेको सो समितिलाई हाल भीमदत्त नगरपालिकाको मातहत ल्याइएको छ।