सुर्खेत मेडिकल कलेजमा वार्षिक एकसय विद्यार्थीले पढ्न पाउने
सुर्खेत : वीरेन्द्रनगरमा सुर्खेत मेडिकल कलेज स्थापनाको पक्रिया अगाडि बढेको छ। यसका लागि सर्वेको काम पनि सम्पन्न भएको छ। सर्वे सकिएसँगै अबको केही समयभित्र गुरुयोजना पनि सम्पन्न हुने भएको हो। सोही गुरुयोजनाको दोस्रो ड्राफ रिपोट अनुसार वीरेन्द्रनगरमा ६ सय शैयाको अस्पताल निर्माण हुनेछ।
‘गुरुयोजनाले अन्तिमरुप पाउँदैछ, ६ सय शैयाको अस्पताल बन्ने पक्कापक्की भएको छ’ सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास आयोजनाका इन्जिनियर शंकरप्रसाद तिमिल्सेनाले भने, ‘अब सुर्खेतमा कर्णालीकै सबैभन्दा ठूलो मेडिकल कलेज संचालन हुन्छ।’ रिपोर्ट अनुसार ६ सय शैयाको अस्पताल बन्ने पक्कापक्की भएको आयोजनाले जनाएको छ। कर्णाली प्रदेशमा हाल ६ सय शैयाका अस्पताल छैनन्। मेडिकल कलेज स्थापना भएपछि सुर्खेतमा कर्णाली प्रदेशकै सबैभन्दा ठूलो अस्पताल बन्नेछ।
कलेजको गुरुयोजना बनोउने जिम्मा इभरसेफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रालि बालुवाटार काठमाडौंले लिएका हो। आयोजनाले तीन महिनाभित्र गुरुयोजना तयार गर्नेगरी कन्सल्टेन्सीलाई जिम्मा दिएको थियो। कन्सल्टेन्सीले आयोजनालाई गुरुयोजना बुझाएपछि बाँकी कामहरु अगाडि बढ्नेछन्। यो मेडिकल कलेज स्थापना भएपछि वार्षिक एक सय विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गर्न पाउनेछन्। ६ सय शैयाको अस्पतालमा एउटा शैक्षिक सत्रमा एक सय विद्यार्थीलाई अध्यापन गराउन पाउने व्यवस्था छ। गुरुयोजनामा ६ सय शैयाको अस्पताल बनाउने पक्कापक्की भएपछि शिक्षण अस्पतालले एक शैक्षिक सत्रमा एक सय विद्यार्थीलाई पढाउन पाउने निश्चित भएको हो।
कलेजले सुरुमा एमवीवीएस तहका कक्षाहरु सञ्चालन गर्नेछ। कलेजले अध्ययन/अध्यापन सुरु गरेपछि कर्णालीका एक सय विद्यार्थीले सुर्खेतमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने छन्। हाल कर्णाली प्रदेशको जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिष्ठानले मात्रै चिकित्सा शिक्षा अध्ययन गराउँदै आएको छ। सुर्खेत मेडिकल कलेजले ६४ विगाह क्षेत्रफल जग्गा ओगट्ने छ। वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १३ को बतासेडाँडा र वडा नं. ११ को बस्तीपुर क्षेत्रको ६४ विगाह भू-भाग मेडिकल कलेजले ओगट्ने भएको हो। ‘सुरुमा हामीले ८० विगाह क्षेत्रफलमा मेडिकल कलेज बनाउने लक्ष्य राखेका थियौं, तर क्षेत्रफल सोचे जस्तो रहेनछ’ इन्जिनियर तिमिल्सेनाले भने, ‘अब मेडिकल कलेजले ६४ विगाह क्षेत्रफल मात्रै ओगट्ने छ।’
प्रत्येक प्रदेशमा एक एक वटा मेडिकल कलेज स्थापना गर्ने संघीय सरकारको अवधारणा अनुसार पाँच वर्षअघि सुर्खेतमा मेडिकल कलेजको स्थापनाको पक्रिया अगाडि बढेको थियो। डीपीआर तयार भएपछि बस्तीपुर र बतासेडाँडामा ६ सय शैयाको मेडिकल कलेज, छात्रावास भवन, खेलमैदान, हेलिप्याड, मन्दिर, डाक्टर आवास, स्टाफ आवास, गार्ड हाउस, क्यान्टिन भवन, बेडहरु, मर्चरी भवन, बहुद्देश्यीय हल, खेलकुद ग्राउन्डका साथै ओभरहेड पानी ट्यांकी लगायतका पूर्वाधार बन्नेछन्। बसासे डाँडा जंगल क्षेत्र हो। मेडिकल कलेज स्थापना भएपछि बतासे डाँडाको ४३.२ हेक्टर वन क्षेत्र मासिने छ। पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले दुई करोड बजेट आयोजनालाई दिएको छ।