जनकपुरधाममा महामुर्ख खोजिंदै
जनकपुरधाम :
हो..किनकाके हात कनक पिचकारी,
किनकाके हात अबिर झोरी..!’
‘रामजीके हात कनक पिचकारी,
सीयाजीक हातमें अबिर झोरी...हो.. खेलैय होरी..!!’
जोगिरा सरर ...... को जवाफ फर्कन्छ।
फागु गीत सुनिन छाडेको बेलामा मिथिला नाट्यकला परिषद्ले संस्कृतिको संरक्षण स्वरुप परम्परागत संस्कृतिलाई बचाउन प्रत्येक वर्ष झैं 'होरी महोत्सव' आयोजना गर्ने भएको छ। होलीको अवसरमा होरी गायन प्रतियोगिता र महामुर्ख सम्मलेनको आयोजना गर्दैछ। मिनापले प्रत्येक वर्ष आयोजना गर्दै आएको होरी गायन प्रतियोगिता र महामुर्ख सम्मेलन क्रमशः चैत ३ र ४ गते दुई दिन हुने भएको छ।
होरी-जोगिरा गायन प्रतियोगितामा विभिन्न १० टिम सहभागी हुने सचिव सन्दिप साहले जानकारी दिए। गायन प्रतियोगितामा धनुषाको गिद्धा, बेलापटी, बेला, गेरुवाही, जमुनीवास, धनुषाधाम, महोत्तरीको पिपरा, विश्वम्भरपुर र सप्तरी सहितको टिमले सहभागिता जनाएको छ। जोगिरा गायन प्रतियोगितामा सहभागी हुने शीर्ष तीन टिमलाई सम्मानसहित पुरस्कार र अन्यलाई सान्तवना शिल्ड प्रदान गरिने जनाएको छ।
महामुर्ख सम्मेलनको प्रारम्भ
जनकपुरधाममा मनाइने होली महोत्सवको प्रमुख आकर्षणमध्ये महामुर्ख सम्मेलन एक हो। महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै जनकपुरधाममा यसले निकै उचाइ पाएको छ। तर यसको प्रारम्भ विरगंजबाट भएको थियो। मैथिली साहित्य परिषद विरगंजमा २०५० सालमा पहिलोपटक महामुर्ख सम्मेलनको आयोजना गरिएको थियो। पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए। महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ।
फागु पर्वको मुख्य आकर्षणको रुपमा रहेको महामुर्ख सम्मेलनका लागि जनकपुरधाममा महामुर्खको खोजी युद्धस्तरमा भइरहेको छ। मिनापले महामुर्खका लागि करिब दुई दर्जन विशिष्ट व्यक्तिहरुको सूची तयार पारेको जनाएको छ। मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, भाषा वैज्ञानिक डा. भोगेन्द्र यादव, डा. रामदयाल राकेश, डा. भोगेन्द्र झासहित कुनै एक जनालाई महामुर्खको उपाधी प्रदान गर्ने योजना रहेको आयोजकले बताए। त्यस्तै अन्य १ दर्जनलाई अन्य उपाधी प्रदान गरिन लागिएको हो।
वि.सं. २०६१ बाट महामूर्ख सम्मेलन आरम्भ भएको हो। २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्व मन्त्री नेकपाका नेता रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९ मा नेपाली काँग्रेस प्रदेश नम्बर २ को संसदीय दलका नेता रामसरोज यादव, २०७० मा राष्ट्रिय जनता पार्टीका नेता डा. विजयकुमार सिंह, २०७१ मा नेकपाका नेता एवं प्रदेशसभा सदस्य शत्रुधन महतो, २०७२ मा मसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो।
त्यस्तै २०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागी ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम नै मिनापले स्थगित गरेको थियो। २०७५ मा महामुर्खको उपाधी पूर्व राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाललाई प्रदान गरिएको थियो। यस्तै मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत, महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ महामुर्ख घोषित भएका थिए।