राष्ट्रिय टोलीमा फर्किए इरिक्सन
लन्डन : डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। डेनमार्कले नेदरल्यान्ड्स र सर्बियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा इरिक्सनले लामो समयपछि स्थान बनाएका हुन्। उनी सन् २०२० पछि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्। डेनमार्कले मार्च २६ मा नेदरल्यान्ड्स र मार्च २९ मा सर्बियासँग मैत्रीपूर्ण खेल खेल्दै छ।
सन् २०२० को युरोकप फुटबल खेलका क्रममा इरिक्सन हृदयघात भएर मैदानमै ढलेका थिए। समूह चरणअन्तर्गतको फिनल्यान्डविरुद्धको खेलको ४३औं मिनेटमा उनी मैदानमै ढलेपछि संसारभरका फुटबलप्रेमी स्तब्ध
भएका थिए।
२९ वर्षीय इरिक्सनलाई तत्कालै मैदानमा सीपीआर दिइएको थियो। १५ मिनेट बेहोस भएका उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आईसीडी) जडान गरिएको थियो। उनको जीवन रक्षाको कामना गर्दै संसारभरका फुटबलप्रेमीले कामना गरेका थिए।
हृदयघात भएको करिब आठ महिनापछि उनी प्रशिक्षणमा फर्किएका थिए। त्यही क्रममा इन्टर मिलानबाट रिलिज भएपछि इरिक्सन गत जनवरीमा प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा आवद्ध भएका थिए। ब्रेन्टफोर्डले उनलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको छ।
प्रिमियर लिग क्लब टोट्टनहामका पूर्व खेलाडी इरिक्सन ब्रेन्टफोर्डको जर्सीमा मैदान उत्रिँदा रंगशालामा उपस्थित सबैले ताली बजाएर स्वागत गरेका थिए।