जनकपुरधाममा मासु तथा मदिरा विक्री वितरणमा रोक
जनकपुरधाम : जनकपुरधाममा दुई दिन मासु तथा मदिराको विक्री वितरणमा रोक लगाएको छ। बुधवार जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै चैत ३ र ४ गते जनकपुरधाम क्षेत्रभित्र मासु तथा मदिरा विक्री वितरण र सेवनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
१५ दिने मिथिला मध्यमा परिक्रमा बिहिवार जनकपुरधाम आउँदैछ। यसकै लागि चैत ३ र चैत ४ गते सूर्योदय देखि सूर्यास्त सम्मका लागि जनकपुरधाम क्षेत्रमा मासु मदिरा विक्रि वितरण तथा सेवन निषेधित गरिएको छ।
बिहीबार परिक्रमायात्रीहरु जनकपुरधाम फर्कनेछन् भने चैत ४ गते अर्थात शुक्रवार अन्तरगृह परिक्रमा गर्नेछन्। अन्तरगृह पक्रिमाको भोलि पल्ट शनिबार जनकपुरधाममा होली मनाइने छ।
त्यस्तै प्रशासनले होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता कार्य नगर्न सचेत गरेको छ।
प्रजिअ पौडेलले लागुऔषध, मदिरा, भांग अन्य उत्तेजक पदार्थ खाई सवारीसाधान चलाउन, हुलहुज्जत गर्न र चर्को स्वरमा बाजा बजाउन तथा डिजे सञ्चालन गर्नसमेत प्रतिबन्ध लगाएको जनाए। जिल्ला प्रशासनको सूचना उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारवाही गरिने जनाइएको छ।