धनुषा एमाले अध्यक्षमा राजकिशोर यादव
जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी एमालेको धनुषा जिल्ला अध्यक्षमा राजकिशोर यादव निर्वाचित भएका छन् । नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट पुनः राजकिशोर यादव अध्यक्ष सर्वसम्मत निर्वाचित भएका हुन् ।
जनकपुरधामको रौनियार सेवा समितिमा सम्पन्न जिल्ला अधिवेशनले यादवलाई दोस्रो कार्यकालको लागि पनि सर्वसम्मत अध्यक्ष चयन गरेको हो । यसअघि २०७१ सालमा भएको एमालेको छैठौं जिल्ला अधिवेशनबाट पनि यादव अध्यक्ष चुनिएका थिए ।
अहिले सातौं जिल्ला अधिवेशनले उनको अध्यक्षतामा एमालेको १ सय ३५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चुनेको हो । जसमा उपाध्यक्ष भोला यादव, सचिवमा तेजनारायण यादव, उपसचिव तारालाम बस्नेत र उपसचिव श्याम पुर्वे चयन भएको नवनिर्वाचित अध्यक्ष यादवले जानकारी दिए ।