पनौतीमा मनाइयो संकटा र अबीर जात्रा
काभ्रे : काभ्रेको पनौतीमा हरेक वर्ष फागु पूर्णीमाको दिन मनाउने संकटा जात्रा यसपाली धुमधामसँग मनाइएको छ । विशेषगरी यहाँका आचार्य र प्रधान समुदायले मनाउने जात्रामा बाजागाजासहित पनौती नगरपालिका वडा नं. ७ त्रिवेणी घाटमा रहेको संकटा मन्दिरबाट सुरु गरी बजार परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर जात्रा सम्पन्न गरेको छ ।
सिंगो पनौती बासिन्दाले मनाउने सो जात्रा हरेक फागु पूर्णीमाको दिन धुमधामसँग मनाइन्छ । भिन्तुना ग्रुप पनौतीको अगुवाईमा निरन्तर वार्षिकरुपमा मनाउँदै आएको वडा सदस्य एवं संकटा जात्रा व्यवस्थापन समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचायले जानकारी दिए ।
संकटा विशेष गरी पारिवारीक सुख र समृद्धिको कामनाका साथ सबैको सुख, शान्ति र मेलमिलापको कामना गर्दै संकटमोचन होस् भन्ने कामनाका साथ हरेक वर्ष मनाउँदै आएको कर्मार्चायले बताए । केहि वर्ष कोरोनाको कारणले संकटा जात्रा रोकिए पनि यो वर्ष संकटा जात्रा भएको छ ।
फागु पूर्णीमाका दिन आज बिहान बाजागाजासहित नगर परिक्रमा गरेर दिउँसो संकटा मन्दिरमा राँगो बलि दिएर सुन संकटा मूर्तिलाई बजार परिक्रमा गरेर पुनः मन्दिरमा नै लगेर राखिने भिन्तुना ग्रुपका अध्यक्ष प्रविण कर्मार्चायले जानकारी दिए ।
सो जात्रासँगै आज नै यहाँका स्थानीयबासिन्दाहरुले एकआपसमा अबिर लगाएर अविर जात्रा समेत मनाइएका छन् । आपासी सद्भाव, खुशी र उमंगको पर्वको रुपमा मनाउँदै आएको फागु पूर्णीमालाई यहाँका स्थानीयवासीले अविर जात्राको रुपमा मनाउँदै आएका छन् । विभिन्न बाजागाजा बजाएर बजार परिक्रमा गर्दै एकआपसमा रंग दलेर अबिर जात्रा मनाएको हो ।