नेपाल आइडलको फाइनल चैत ५ मा
काठमाडौं : हरेक साता बिहीबार र शुक्रबार एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल आइडल सिजन–४ को २९औं कार्यक्रम विशेष बन्यो। प्रतियोगीले बिहीबार होली खेल्दै रमाइलो गरे। कार्यक्रममा उत्कृष्ट पाँचको गृहनगर भ्रमणको भिडियोसमेत प्रशारण गरिएको थियो। उनीहरूले गृहनगरमा गएर पनि उत्कृष्ट प्रस्तुति दिएका थिए।
फाइनलमा झापाका विश्वास उप्रेती, भैरहवाका भूपेन्द थापामगर, मोरङ बेलबारीकी लक्ष्मी पौडेल, झापा बिर्तामोडका नाम्गेल तामाङ र रामेछाप मन्थलीका रञ्जित नेपालीबीच कडा प्रतिस्पर्धा छ। फाइनल नजिकिएसँगै नेपाल आइडलका प्रतियोगीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। उनीहरूले उत्कृष्ट प्रस्तुति पनि दिइरहेका छन्। शनिबार नेपाल आइडल सिजन–४ को विजेता घोषणा हुनेछ।
गत मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रशारण थालिएको नेपाल आइडलले उत्कृष्ट पाँचमध्येबाट कसलाई विजेता पाउनेछ भन्ने चासो सर्वत्र छ । नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार विजेताले २७ लाख ५० हजार, फस्ट रनरअपले ५ लाख र सेकेन्ड रनरअपले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।
नेपालमा पहिलो पटक फेन्चाइज गायन रियालिटी शोको सुरुवात गरी सिजन–४ सम्म सफल बनाउन पाउँदा सम्पूर्ण टिम नै निकै खुसी भएको पौडेलले जानकारी दिए। उनले निर्देशकीय भूमिकामा रहेर नेपाल आइडललाई नेतृत्व गर्ने अवसर पाएकोमा पनि खुसी व्यक्त गरे। आइडललाई जिम्मा लिनु अवसरसँगै चुनौती पनि बराबरी नै महसुस गर्दै सिजन–४ सम्म आउन सफल भएको बताए।