नेपालकै आइडल ‘नेपाल आइडल’

नेपालकै आइडल ‘नेपाल आइडल’

काठमाडौं : सबैसँग कला हुँदैन। भएकालाई चिन्नै मुस्किल। कला प्रस्तुत गर्ने र आफैंले चिन्ने मौकाको खोजीमा गाउँ र सहरका कुनाकुनामा प्रतिभा लुकेका हुन्छन्। त्यहीँ लुकेको गायन कलालाई सार्वजनिक गर्ने माध्यम बन्यो पहिलोपटक ‘नेपाल आइडल’। नेपाली टेलिभिजनकै सबैभन्दा ठूलो र सफल गायन रियालिटी सोको इतिहास रच्यो। आइडलबाट आएका गायक सांगीतिक क्षेत्रमा जमे। भविष्य बनाए। संगीतको क्षेत्रमा एउटा इँटा थप्ने काम गरे। एपीवान टेलिभिजनमा आउने यसै नेपाल आइडल चौथो संस्करणको ग्रान्ड फिनाले आज हुँदैछ। बुद्धनगरस्थित टेलिभिजनको स्टुडियो परिसरमा भव्य रूपमा फिनालेको तयारी छ।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापा देशका कुनाकन्दरामा लुकेका प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरको मञ्च प्रदान गर्न आइडल सुरुवात गरिएको बताउँछन्। उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज रियालिटी सो नेपाली टेलिभिजनमा ल्याउनु अवसरसँगै चुनौतीपूर्ण थियो। आज नेपाली संगीतमा देखिने पछिल्लो पुस्ता करिबकरिब ८० प्रतिशतभन्दा बढी नेपाल आइडलकै उत्पादन छन्।’ यसो भनिरहँदा एक अभिभावकको रूपमा राम्रै गरिएछ कि जस्तो लाग्ने बताउँछन् उनी। भन्छन्, ‘देश र जनताको सेवामा अन्नपूर्ण मिडिया नेटवर्क अग्रपंक्तिमा रहेर काम गर्छ। आइडल नेपाली संगीतको ब्रान्ड हो भन्न पाउँदा गर्व महसुस हुन्छ।’

क्याप्टेन थापाले नेपाल आइडल विशुद्ध सांगीतिक कार्यक्रम भएको र यसको नाफा घाटाको हिसाब नगरेको बताए। आइडलले दर्शकलाई कहिल्यै पनि निराशा नपार्ने प्रतिबद्धता उनको छ। एपीवान टेलिभिजनका निर्देशक सचन थापा नेपाल आइडल नयाँ र पुराना पुस्ता दुवैमा लोकप्रिय भएको बताउँदै अझ बढी स्तरीय बनाउन लागेको बताउँछन्। ‘एपीवान टेलिभिजनको स्थापना सँगसँगै नेपाल आइडलले पनि नेपाली टेलिभिजनमा स्थान पायो। संसारभर नै लोकप्रिय सांगीतिक रियालिटी सोको रूपमा चर्चा कमाएको आइडल अन्तर्राष्ट्रिय स्तरको फेन्चाइज रियालिटी सो हो,’ उनले भने। 

नेपाली सांगीतिक बजारको अधिकांश हिस्सा नेपाल आइडलकै उत्पादनले ओगटेको बताउँछन् निर्देशक सच्चन। निशान भट्टराई, प्रताप दास, रचना रिमाल, प्रवीण वेडुवाल, अस्मिता अधिकारी, सज्जा चौलागार्इं, रवि ओड, अमित बराल र विक्रम बराल नेपाल आइडलकै उत्पादन हुन्। जो अहिले पनि सांगीतिक दुनियाँमा तहल्का मच्चाइरहेका छन्। संगीतमा लाग्नेहरूको लागि र गायन क्षमता हुनेहरूको लागि नेपाल आइडल विशेष मञ्च हो। यसको प्लेटफर्ममा पुग्नासाथ छुट्टै खालको पहिचान बन्ने गरेका प्रशस्तै उदाहरण छन्। 

‘पर कतै दूरदराजमा बस्ने नेपाली रातारात स्टार भएको छ। सबैतिर वाहवाह कमाएको छ। ऊ जहाँ जान्छ नेपाल आइडलको लोगो बोकेर पुग्ने गर्छ,’ मिडिया नेटवर्कका अध्यक्ष थापा भन्छन्, ‘नेपाल आइडलको पहिचान बोकेर पुग्दा गर्व महसुस भएको छ। उसको परिचय अगाडि नेपाल आइडल झुन्डिने गर्छ।’ 

नेपाल आइडल गीत गाउनेको लागि मात्रै सीमित रहेन। गाउनेको परिवार र अभिभावकका लागि पनि उत्तिकै लोकप्रिय छ। दर्शक र श्रोताको लागि पनि भरोसाको केन्द्र बनेको छ। अहिले गीत गाउन जान्ने परिवारका सदस्यका लागि आमाबुवा ढुक्कले भन्दै हुनेछन् ठुलो भएपछि नेपाल आइडल छँदैछ।

सिजन ४ को उत्कृष्ट पाँचमा परेकी लक्ष्मी पौडेल नेपाल आइडलमा जानु जीवनकै सुन्दर र सही निर्णय भएको बताउँछिन्। भन्छिन्, ‘आइडलकै कारण सपनाले आकार लिँदैछन्।’ सिजन ३ का प्रवीण वेडुवाल नेपाल आइडलको मञ्चले आफूलाई संगीतमा भविष्य खोज्नको लागि बाटो देखाएको बताउँछन्। भन्छन्, ‘मेहनत गर्नेलाई सम्भावनाको ढोकाहरू चारैतिर खुल्ने रहेछन्।’ आइडलको मञ्चमा उत्कृष्ट प्रस्तुति दिनेहरू अहिले १२ महिना सांगीतिक कर्ममा व्यस्त छन्। उनीहरूले पैसा सँगै पहिचान पनि कमाइरहेका छन्। 

पोखराका विक्रम बरालले नेपाल आइडलको यात्रापछि फर्केर हेर्नु परेको छैन। भन्छन्, ‘पहिले निश्चित ठाउँ र समूहमा मात्रै सीमित थिएँ। अहिले देशविदेशले चिन्ने भएको छु। यही नै भावी जिन्दगीको लागि सम्पत्ति हो।’ सिजन ३ कि विजेता सज्जा चौलागाईंको अनुभवमा पनि नेपाल आइडल विशुद्ध सांगीतिक मञ्च हो। जहाँ संगीतसँगै जीवन सिकिन्छ। जीवन पढिन्छ। यो मञ्चले सहभागीबाट कहिल्यै माग्दैन। पद, पैसा र पहिचान दिन्छ। 
नेपाल आइडल सिजन ४ अहिले फाइनलको पूर्वसन्ध्यामा छ। शनिबार नेपालले नेपाल आइडल सिजन ४ को विजेता पाउनेछ। गत मंसिर २३ गतेदेखि प्रसारण सुरु भएको थियो। सिजन ५ को लागि पनि सम्झौता भइसकेको छ। एपीवान टेलिभिजनबाट हप्ताको दुई दिन प्रसारण हुने नेपाल आइडल दर्शकले सबैभन्दा मन पराएको टेलिभिजन सो हो। राजनीतिक विषयमा अल्झिरहेको नेपाली टेलिभिजनको साँघुरो घेरालाई भत्काउन आइडल सफल भयो। सिजन ४ सम्म आइपुग्दा आइडलले धेरै आरोह अवरोहको घुम्ती पार गरेको छ। 

आइडलको सिजन ४ मा नयाँ निर्णायक थपिए। संगीतकार शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान निर्णायकको भूमिकामा छन्। ग्रान्ड फिनालेका लागि झापाका विश्वास उप्रेती, भैरहवाका भूपेन्द्र थापामगर, मोरङ बेलवारीकी लक्ष्मी पौडेल, झापा बिर्तामोडका नाङगेल तामाङ, रामेछाप मन्थलीका रञ्जित नेपालीबीच कडा प्रतिस्प्रर्धा चलिरहेको छ। 

नेपाल आइडल सबैको आइडल
- सुरेश पौडेल, निर्देशक तथा प्रोजेक्ट हेड नेपाल आइडल

नेपाल आइडललाई सबैले मेरो भन्ने हो। नेपाली संगीतलाई माया गर्ने सबैको साझा चौतारी हो। केही उत्साह र राम्रो गरेर देखाउनुपर्ने चुनौतीसँगै नेपाल आइडलको निर्देशन गर्ने जिम्मेवारी उठाएको हुँ। हेर्दा र सुन्दा सामान्य लागे पनि अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज रियालिटी सो निर्देशन गर्नु निकै कठिन कार्य हो। यसभित्र जज र प्रतियोगीलाई मात्रै निर्देशन गरेर पुग्दैन। क्यामराम्यान, म्युजिक ब्रान्ड, सेट डिजाइन, मेकअपदेखि स्टेजसम्म, सञ्चालकदेखि सफाइ टोलीको व्यवस्थापन र चलायमान गराउनु आफैंमा कठिन कार्य हो।

हरेक सिजनको प्रत्येक कार्यक्रमको स्क्रिप्ट राइटिङदेखि भिडियो इडिटसम्मको जिम्मेवारी थाहै नपाई पूरा भएछ। सिजन ४ सकिँदै गर्दा छाती फुलाएर भन्न मन लाग्छ, ‘नेपाल आइडल नेपाली सांगीतिक रियालिटी सोहरूकै आइडल हो।’ यसले क्षमता हुने, लगनशील र संगीतको साधनासँगै जीवन र विन्रमता सिक्नेहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्लेटफम दिन्छ। संगीत साधकहरूको मन्दिर हो नेपाल आइडल। 

नेपाली टेलिभिजनहरू राजनीतिक टक सो चलाउनमै व्यस्त देखिन्थे। नेता र विश्लेषकका गफ सुनाउन मरिहत्ते गर्थे। दर्शकले टेलिभिजन हेर्न छाडेका थिए। विदेशी च्यानल र इन्टरनेटमा व्यस्त हुँदै थिए। भड्किएका नेपाली दर्शकलाई टेलिभिजनमा फर्काउन जरुरी थियो। यसका लागि हामीले विशेष केही काम गर्नुपर्ने थियो। दर्शकलाई टीभी स्क्रिन अगाडि अड्याएर राख्नको लागि नेपाल आइडलले ठूलो भूमिका खेल्यो। उत्कृष्ट सांगीतिक रियालिटी सोले हजारौ दर्शकको माया पायो। साथ पायो। जिम्मेवारी र विश्वास दिलायो। 

नेपाली संगीतमा पनि बजारमा बिक्ने गीतहरूको मात्रै सिर्जना भइरहेको अवस्थामा नेपाल आइडलको सुरुवातसँगै संगीतमा नयाँपन देखा पर्न थाल्यो। देशका कुनाकन्दरामा लुकेर रहेका प्रतिभाहरूको नयाँनयाँ शैली र स्वर आयो। यसले नेपाली संगीतमा विविधता थपियो। नेपाल आइडल अन्य रियालिटी सोको पनि अभिभावक हो। यसपछि नै अन्य सोहरू नेपाली टेलिभिजनमा देखा परेका हुन्। 

संगीत भनेको गाउनु मात्रै हैन। संगीत व्यक्तिको संस्कार पनि हो। धैर्य हो। विनम्रता हो। डकुमेन्ट्री बनाउनमै रमाइरहेका बेला  मनोरञ्जन प्रदान गर्ने सांगीतिक कार्यक्रमलाई सफल बनाउने जिम्मा पूरा गर्न सकेभन्दा शिर उचो हुन्छ मेरो। नेपाल आइडलमार्फत हामीले पुराना सर्जकलाई खोज्यौं। लुकेका प्रतिभालाई भेटाएर ल्यायौं। 

अग्रजहरूलाई सम्मान दियौं। कालजयी गीतहरूलाई पुन चर्चामा ल्यायौं। हरेक जातजाति भाषाभाषीका मौलिक स्वादहरू सुनायौं। नेपाल आइडलले भूगोल हेरेन। जात, भाषी, तथा धर्मावलम्बी हेरेन। उसको आर्थिक स्तर हेरेन, मात्रै उसको क्षमता हेर्यो। प्रतिभा बुझ्यो। अनि बल्ल नेपाल आइडल सबैको आइडल बनेको हो। घमण्ड गरेर भन्न मन लाग्छ यो कुरा। 

अहिले संगीत बजारमा युवा जमातको ८० प्रतिशत खोजिने गायकगायिका हाम्रै उत्पादनभन्दा गर्वले छाती फुल्छ। सिजन ४ मा केही क्षमतावान् प्रतियोगी पक्कै छन्। अरु रियालिटी सोका विजेता र उत्पादनहरू बजारमा खासै टिकेका देखिन्न। चलेको सुनिन्न। नेपालको लागि नेपाली संगीतका लागि नेपाल आइडल अपरिहार्य र जरुरी सोको रूपमा विकास भइरहेको छ। यो सबैका लागि खुसीको खबर हो। हामी रहँुला वा नरहुँला नेपाल आइडल रहनुपर्छ। दर्शक श्रोताका लागि पनि नेपाल आइडल बाँची राख्नुपर्छ। दर्शकको विश्वासलाई हामीले सिजन ४ सम्म कायम राख्न सक्यौं। बाँकीका दिनहरूमा पनि यो भरोषा, माया र विश्वास राखिराख्नको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्छु। 

- अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज रियालिटी सो नेपाली टेलिभिजनमा ल्याउनु अवसरसँगै चुनौतीपूर्ण थियो। आइडल नेपाली संगीतको ब्रान्ड हो भन्न पाउँदा गर्व महसुस हुन्छ। – क्याप्टेन रामेश्वर थापा, अध्यक्ष, अन्नपूर्ण मिडिया नेटवर्क

- एपीवान टेलिभिजनको स्थापना सँगसँगै नेपाल आइडलले पनि नेपाली टेलिभिजनमा स्थान पायो। नेपाली सांगीतिक बजारको अधिकांश हिस्सा यो आइडलकै उत्पादनले ओगटेको छ। –सचन थापा, निर्देशक, एपीवान टेलिभिजन


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.