पुस्तकमा सत्यमोहन
काठमाडौं : शताब्दी पुरुष डा. सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ शुक्रबार सार्वजनिक भएको छ। ऐतिहासिक तथा सांस्कृतिक परिसर पाटन दरबार संग्रहालयमा पुस्तक सार्वजनिक गरिएको हो।
बुकहिल पब्लिकेसनको प्रकाशनमा लेखक तथा पत्रकार गिरीश गिरीले जोशीको आत्मकथा लेखेका हुन्। पुस्तकलाई ३१ भागमा बाँडिएको छ। सुकर्म समूहले कार्यक्रममा शास्त्रीय संगीतको धुन प्रस्तुत गरेको थियो । नेपथ्य ब्यान्डका संस्थापक तथा गायक अमृत गुरुङले लोकगीतका केही लोकोक्तिसमेत प्रस्तुत गरेका थिए। उनले आत्मकथामा समेटिएका जोशीको जीवन भोगाइलाई समयसापेक्ष व्याख्या गरे। उनको कर्मलाई मुक्तकण्ठले प्रशंसा गरे।
कार्यक्रममा बोल्दै डा. सत्यमोहन जोशीले किताब लेखनको अनुभव सुनाए। उनले भने, ‘लेखक गिरीसँगको सहकार्यमा छोटो समयको बसाइमा सम्पूर्ण जीवन लेखिनु नौलो धारको रचना, कृति देखा परेको छ भन्ने लागेको छ। पुस्तकमा मैले जुरेली दर्शनलाई प्रस्ट्याएको छु।
जुरेली चरीको जीवनबाट मैले जिन्दगीको दर्शनलाई बुझें।’ उनी थप्छन्, ‘नेपाल लोकगीतको देश हो। लोकसंस्कृतिले एकता ल्याउँछ। यसको जगेर्ना गर्नुपर्छ। लोकसंस्कृतिले नेपाली हुँ भन्ने भावना जगाउँछ।
१०३ वर्षको नजिक पुगेका शताब्दी पुरुषको आत्मकथामा जागिरे जीवनको सिलसिलामा उनी देश विदेशको बसाइँका क्रममा गरेका कामहरू समेटिएका छन्। कार्यक्रममा भाषाशास्त्री ज्योति तुलाधर, लेखक गिरीश गिरीलगायतले पुस्तकको चर्चा गरेका थिए।