सिर्जनामा लकडाउनका सन्दर्भ

सिर्जनामा लकडाउनका सन्दर्भ

सिर्जनशील व्यक्तिहरू असहज अवस्थामै सक्रिय भइरहन्छन्। प्रकाश दिप्साली राईको ‘लकडाउनमा सर्जक र सिर्जना’ कठोर र त्रासद समयमा लेखिएको कृति हो। अधिकांश मानिस घरमा बन्दी बनी किंकर्तव्यविमूढ भए पनि उनले भने साहित्यिक अभियान प्रारम्भ गरे।

२०७६ चैत ११ गतेबाट सरकारले नेपालमा लकडाउन घोषणा गर्यो। यातायात, शिक्षालय, व्यवसाय र सम्पूर्ण सामूहिक गतिविधि बन्द भए। मानिस लामो एकान्तवासबाट छट्पटिए। मानसिक सन्तुलन नै खल्बलिने त्यस्तो कठिन घडीलाई उनले सिर्जनशील बनाए। कलासाहित्य नै हो, जसले अप्ठ्यारो परिस्थितिमा पनि मानिसलाई मानसिक शान्ति प्रदान गर्छ। नहुँदो हो त सम्भवतः मानव जीवन निरस र पशुतुल्य हुन्थ्यो। उनले दैनिक एक स्रष्टाको एउटा कविता सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत प्रस्तुत गर्न थाले। क्रमशः दैनिक दुई हुँदै तीनवटा कवितासम्म प्रस्तुत गरे। 

पुस्तकमा अधिकांशतः कविता नै संकलित छन्। केही कविताले जीविकोपार्जनका लागि मातृभूमि छाडेर दूर देशमा जानुपर्ने बाध्यतालाई प्रस्तुत गरेका छन्। तिनका प्रियजनले भोग्ने पीडा पनि कविताका कथ्य बनेका छन्। काङमाङ नरेश राईको ‘जेट पिलेनमै गयो होला’ यस्तै भाव बोकेको कविता हो। स्वदेशमा रोजगारको अवसर नपाएर बिदेसिन बाध्य नेपाली युवाका आफन्तको पीडा कवितामा जीवन्त रूपमा प्रस्तुत गरिएको छ। केही कविताले कमजोर र पहुँचविहीन नागरिकलाई राज्यले संरक्षण दिन नसकेको भावलाई सुन्दर काव्यिक अभिव्यक्ति दिएका छन्। 

कविताले शक्ति–संरचनाको पिँधमा रहेका निर्धा नागरिक दिनहुँ शोषित र दमित हुने गरेको यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेका छन्। कविताका भावले मर्ममै प्रहार गर्छ र मानिसलाई सोच्न बाध्य बनाउँछ। साँच्चै नै हाम्रो देशको अवस्था यस्तै छ। 

आफ्ना निमुखा नागरिकलाई आत्महत्याका लागि राज्य आफैंले बाध्य बनाउँदै छ। पुस्तकमा सैनिक जीवनका कठोरता, बाध्यता र जटिलतालाई जीवन्त रूपमा प्रस्तुत गर्ने कविताहरू पनि समेटिएका छन्।
‘हराएको यलम्बर खोजिरहेछु’ कवितामा राज्यको विभेदकारी नीतिविरुद्ध पनि काव्यिक अभिव्यक्तिले स्थान पाएका छन्। नचाहँदा नचाहँदै पनि आफ्नो परिवार र मातृभूमि छाडेर बिदेसिन बाध्य विपन्न नेपाली नागरिकको दारुण अवस्थालाई जीवन्त रूपमा प्रस्तुत गर्ने काव्यिक अभिव्यक्ति पनि संकलित छन्। ‘नफर्किने लोग्नेको यादमा’ शीर्षकको कवितामा वैधव्य जीवन बिताइरहेकी नारीको मनोदशा र अन्तव्र्यथालाई कोमल काव्यिक भाषामा प्रस्तुत गरिएको छ। ‘पिंगलादेवी’ अतीतका प्रेमिल क्षणहरूको सम्झना पोखिएको कविता हो। साँच्चै नै, युवा वयमा भोगिएका प्रेमिल क्षणहरू वर्षौंपछि पनि स्मृतिमा ताजै हुन्छन्। ती क्षणहरू कहिल्यै विस्मृत हुँदैनन्। ‘पिंगलादेवी’ को अंश :
यादहरू आलै छन्
नीलो आकाश हेरी टोलाएका 
ती ठुला–ठुला आँखा
भुल्नै सक्दिनँ नि हौ...।

‘सिक्का र नोट’ मा विभेदकारी चिन्तनको विरोध गरिएको छ। जनजातीय आवाज बोकेका कविताहरूले पनि स्थान पाएका छन्। आदिवासी जनजाति समुदायमाथि राज्यले गरेको शोषण र दमनविरुद्ध यस्ता कविताहरूले काव्यिक अभिव्यक्ति दिएका छन्। ‘तँ नाथे बेल्टारे’ र ‘लिम्बुनी गाउँ’ कविताले यस्तै भाव बोकेका छन्। यी कविताहरूले विभेदविरुद्ध विद्रोह गर्नुपर्ने भाव बोकेका छन्। ‘विजयपुर र मौनता’ विद्रोह चेत बोकेको सुन्दर प्रतीकात्मक सिर्जना हो। यसमा ‘विजयपुर’ दमित समुदायको प्रतीकको रूपमा प्रयुक्त भएको छ। शालीन रूपमा विद्रोही भावलाई अभिव्यक्त गर्न कविता सफल भएको छ। 

कवितांशले सम्भावित विद्रोहलाई संकेत गरेको छ। ‘सुनाखरीहरू’ पनि विद्रोह चेत बोकेको प्रतीकात्मक सिर्जना हो। परनिर्भर व्यक्तिलाई बुझाउन प्रतीकको रूपमा ‘सुनाखरी’को प्रयोगले कवितालाई प्रभावी बनाएको छ। आफ्नो यथार्थलाई बिर्सिएर अर्काको काँधमा सुन्दर जीवन बाँच्नुभन्दा आफ्नै धरातलमा बाँच्न कविले आह्वान गरेका छन्। आफ्नो अस्तित्व जोगाउन धर्तीसँग साइनो गाँस्नुपर्ने कविताको भाव अर्थपूर्ण छ।

कृतिमा स्वार्थी, व्यक्तिवादी र अमानवीय शासकीय चरित्रलाई प्रस्तुत गर्ने कविता पनि संकलित छन्। ‘काठमाडौं–स्केच’मा ‘काठमाडौं’ मा शासकीय चरित्रलाई प्रतीकीकरण छ। ‘मनमाया’ सहिद–पत्नीको कष्टकर र परित्यक्त जीवनलाई चित्रण छ। देश र देशवासीको स्वतन्त्रता र प्रगतिका लागि प्राणोत्सर्ग गर्ने सहिदका पत्नीहरूको कहालीलाग्दो जीवनलाई यसमा कोमल भाषामा प्रस्तुत गरिएको छ। 

‘सहरहरूको सहर’ अमेरिकी सहरिया जीवनको जटिलता र व्यस्ततालाई प्रस्तुत गर्ने कविता हो। अमेरिकी रंगीन जीवनको सपनाले तानिएर त्यहाँ पुगेका विदेशी नागरिकको जीवनको अँध्यारो पक्षलाई प्रस्तुत गरिएको छ। हेरौं, कवितांश :

विश्वभरिको सहरहरूको यो ‘राजधानी सहर’ मा
विश्वभरिबाटै उज्यालो भविष्य खोज्न आएका 
यी परिचित अपरिचत मान्छेहरू सबै
ठुला रंगीन डिस्प्ले बिलबोर्डको मुनि
अँध्यारो वर्तमान बाँचिरहेका छन्...।

अधिकांश कविताले विभेदकारी शासकीय चरित्रको विरोध, विपन्न नागरिकको कष्टकर जीवन, नारीले भोग्नुपर्ने अनन्त दुःख, प्रेमिल भाव, विद्रोह चेतजस्ता विविध भावहरूलाई अभिव्यक्ति दिएका छन्। पुस्तकमा ४९ स्रष्टाका कविता, १४ स्रष्टाका अन्तर्वार्तासहित कविता छन्। ६३ कविता, ३५ गजल, तीन गीत, दुई केस्रा र एक संस्मरण संकलित छन्। 

केही जनजातीय भाषाका रचना छन्। केही स्थापित स्रष्टा र उदीयमान प्रतिभाले स्थान पाएका छन्। देश–विदेशमा रहेका स्रष्टाका रचना संकलित छन्। स्वाभाविक छ– पुस्तकका सबै रचना अब्बल छैनन्। केही रचना कला र विचारको उचित संगम बनेका छन्, केही मध्यम स्तरका छन् भने केही रचनाले अझै अभ्यास र साधनाको खाँचो आवश्यक रहेको संकेत गरेका छन्। अन्तर्वार्ताहरूले नवोदित कवि–लेखकलाई लेखनको महत्व र गरिमाबारे बुझ्न मार्गनिर्देशन गर्ने विश्वास गर्न सकिन्छ।

कृति संघसंस्था र व्यक्तिहरूले आर्थिक र भौतिक सहयोगमा प्रकाशित छ। आवरण ओम डीसीआर, विधागत चित्र मुकुन्द प्रयास र मुहार स्केच कृष्ण मर्सानीले बनाएका छन्। भाषा सम्पादन नवराज विष्ट र अतिथि सम्पादक राज माङ्लाकले गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.