वाह रारा ! आहा रारा !
नीलो आकाश र हरियो पहाडको काखमा हावाको लहरसँग सुस्तरी बगिरहेको तालको सामीप्यमा आफूलाई पाउँदा साँच्चै गर्वानुभूति भयो। ‘आहा! कति सुन्दर प्रकृति! कस्तो राम्रो प्राकृतिक संयोजन! यो सृष्टि, यो सुन्दरता, यो भव्यता अनि यो दिव्यता! साँच्चै मनमोहक।
सफा मौसम, खुलेको आकाश। चारैतिर हरिया पहाड। क्षितिजमा मुस्कुराइरहेको हिमाल। अनि, सामीप्यमा रारा। आहा! जो कसैको मनबाट फुत्त निस्कन्छ, ‘आहा! रारा।’ रारा पुग्ने जो कोहीले दृश्यानुभूति
‘रारामा मौसम अनुसारको सुन्दरता लुकेको हुन्छ रे।’ यो सुनेपछि मेरा पनि राराप्रतिका दृष्यहरू परिवर्तित भए। यति भन्दै गर्दा त्यहाँ पुग्ने धेरैले यस दृश्यमा असहमति जनाउन पनि सक्नुहुन्छ किनकि हरेकको दृष्टि फरक हुन्छ। फरक हुन्छ बुझाइ र भोगाइ। समयसँगै पलपल परिवर्तन हुने सन्दर्भले पनि हरेक दृष्यमा फरकपन पाइन्छ नै।
जाडोको मौसम। वरिपरि हिउँले ढाकिएको रारा। अनि, वर्षात्को समयमा रंगीचंगी फूलहरूले सजिएको रारा। मौसम अनुसारको राराको अनुभूति ग्रहण गर्न त ती सबै पललाई मन र मुटुभरि कैद गर्न पनि सक्नुपर्छ।
मेरो चाहिँ न जाडो न गर्मी मौसमको यात्रा भयो राराको। गत कात्तिक ११ गते दिउँसो २ बजे पहिलोपटक मेरो जीवनले राराको सौन्दर्यमा डुबुल्की मार्ने मौका पाएथ्यो। संयोग जुरेको त्यो पल खै कसलाई धन्यवाद दिउँ ? सृष्टि र सिर्जनाले सिँगारेको त्यो अनुपम सौन्दर्यमा धेरैपटक डुबुल्की मारें। अझै धीत मरेको छैन। सम्भवत धीत मार्न त्यही धर्ना कस्नुपर्छ सायद।
धेरै अघिदेखिको रारा पुग्ने सपना बल्ल पूरा भएको थियो। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको संसदीय टोली। समितिले कर्णाली करिडोरअन्तर्गत पर्ने खुलालु–लैफु–सलिसल्ला सडक खण्डको कडा चट्टानी भीरमा पर्ने दुल्लीकुनादेखि लालीबगरसम्मको ७ किलोमिटर र बद्रीगाउँदेखि भुक्का खोलासम्मको १३.५ किलोमिटर सडकखण्डको वस्तुस्थिति अवलोकन गराउने सन्दर्भले रारा हामीसँग जोडिएको थियो।
हुम्लाको सिमिकोटबाट बाँदरखेला–सलिसल्ला सडकखण्डको स्थलगत अवलोकन गरेपछि त्यहाँबाट रारासँग साइनो जोडिने निश्चित भएथ्यो। हेलिकप्टर मुगुको ताल्चा विमानस्थल हुँदै अगाडि बढिरहेको थियो। सफा मौसम भएकाले मुगु वरिपरिको पहाडी भूभाग स्पष्ट नियालिरहेकी थिएँ। एक्कासि पहाडको काखमा सुस्ताइरहे झैं लाग्ने नीलो दह देख्दा खुसीले उद्वेलित भएँ।
‘वाउ! रारा...!’ शब्द फुत्त निस्किएछ। मेरो शब्द पोख्दाको भावनाले अरूलाई छोएछ क्यार। उहाँहरूको प्रतिक्रियाबाट मेरो फरक प्रस्तुति रहेको महसुस गर्न पुगें। सायद, मेरो उत्कट चाहना पोखिएछ। पाइलट दाइले माथिबाट रारा वरिपरि फन्को लगाइ दिनुभयो। सम्भवत यस्तो मौका विरलै यात्रीले पाउलान्।
‘स्काई भ्यु’ले नअघाएर हुनसक्छ, हेलिकप्टरबाट ओर्लिएपछि चारैतिर आँखा घुमाएँ। रारा एक दृष्य अनेक। जति फरक स्थान र कोणबाट हेर्यो रारा उति आफूलाई फरक बनाइदिन्छ।
हरेक कुनाबाट रारालाई नियालेपछि तालनजिकै रहेको सेनाको ब्यारेक अगाडि हेलिकप्टरले आफूलाई बिसायो। ‘स्काई भ्यु’ले नअघाएर हुनसक्छ, हेलिकप्टरबाट ओर्लिएपछि चारैतिर आँखा घुमाएँ। रारा एक दृष्य अनेक। जति फरक स्थान र कोणबाट हेर्यो रारा उति आफूलाई फरक बनाइदिन्छ।
नीलो आकाश र हरियो पहाडको काखमा हावाको लहरसँग सुस्तरी बगिरहेको तालको सामीप्यमा आफूलाई पाउँदा साँच्चै गर्वानुभूति भयो। ‘आहा! कति सुन्दर प्रकृति! कस्तो राम्रो प्राकृतिक संयोजन! यो सृष्टि, यो सुन्दरता, यो भव्यता अनि यो दिव्यता! साँच्चै मनमोहक। सम्झिएँ यसै राजा महेन्द्रले रारालाई अप्सरासँग दाँजेका थिएनन्।
वास्तवमै रारा वरिपरिको प्राकृतिक सुन्दरतालाई शब्दमा वर्णन गर्न सायदै सकिन्छ। यसको सामीप्यमा रहँदाको उत्साह र रोमाञ्चकताले दिने चञ्चलता आफ्नै आँखाले हेरेर मात्र अनुभूत गर्न सकिन्छ, व्यक्त गर्न सकिन्न। रारामै खाना खाने कार्यक्रम थियो। सुनेको थिएँ, विकसित देशको नदीमा चल्ने क्रूजको पाँचौं तलामा बसेर डिनर गर्नेहरूको कथा। लाग्यो, त्योभन्दा यो पल कम पक्कै छैन। सिस्नोको ग्रेभी अनि मार्सी चामलको भात। धेरै यस्तै परिकार। खाना निकै स्वादिलो थियो, सम्भवत राराको रसिलो दृष्य मुछिएको थियो खानामा। खाना खाइसकेपछि रारालाई अझ नजिकबाट नियाल्न थाल्यौं।
टोली ताल भएतिर लाग्यो। सँगै गएका सेनाका जवानहरू ‘यहाँ आइसकेपछि बोटिङ त गर्नैपर्छ’ भन्दै लाइफ ज्याकेट लगाउन थाले। एकजनाले मलाई पनि लाइफ ज्याकेट दिनुभयो। लाइफ ज्याकेट लगाउन त थालें तर तालको गहिराई सम्झिएर डर पनि लागिरहेको थियो। त्यतिबेला हावाको बेग उच्च थियो।
सांसद रंगमती शाहीको कुराले झनै झस्कायो, ‘१२ बजेपछि बोटिङ गर्नु हुन्न। हावा धेरै चलेको छ।’ बोटिङ नगरी कसैको मन थामिनेवाला थिएन। एकएक गर्दै सबैले लाइफ ज्याकेट लगायौं। अलिअलि गर्दै सबैजना बोट भएतिर लाग्यौं। बोटिङ नै नगरे पनि कम्तिमा डुंगामा बसिहालौन। मन सबैको बोल्यो, सबै बोटमा बस्यौं। डुंगाचालकहरू पनि प्याडल लिएर बोटिङ गराउन तयार भए।
यतिखेरसम्म डुंगा बाँधेको धागोको लठ्ठा खोलेको थिएन। लठ्ठा नखोलेको अवस्थामा पनि हावाको उच्च बेगमा छचल्किएको तालको पानीमा हामी लच्किरहेका थियौं। फोटो खिच्ने ‘हुटिङ’ गर्ने रमाइलो क्रम चलिरहेको थियो। यतिकैमा एकजनाले बोटको डोरी फुकाइदिनुभयो।
बोट त तालमा आफैं सलल बग्न थाल्यो। किनार नजिक रहेका हामी हावाको एक झोक्कामै निकै पर पुग्यौं। ‘होइन होइन पर नलानुस्।’ माननीय (सांसद) ज्यूले फेरि सजग गराउनु भयो। हामीसँग समय पनि कम थियो। चालक भाइहरू हामीलाई किनारा लगाउन निकै प्रयास गरिरहनु भएको थियो। हावाको झोक्काले भने आफ्नो जिद्दी छोडेन। फेरि पर पुर्याइहाल्यो।
थोरै डर, केही रोमाञ्चकता। रारामा डुंगाको यात्रा खुब रमाइलो भइरहेको थियो। कुनै बेला किनारमा पुग्नै नसकिने पो हो कि ? शंकाले मन पटक पटक बिथोलिरह्यो। वस्तुस्थितिको बिचारै नगरी बोटिङ गरिरहेका थियौं। हावाको बहावमा छचल्किएको तालको पानीमा ‘बोटिङ प्याडल’को निकै लामो प्रयासपछि किनार आइपुग्यौं।
हत्तपत्त डुंगाबाट ओर्लिएर पहिला हिँडेको टोलीलाई नियालें। उनीहरू मस्तसँग बोटिङमा रमाइरहेका थिए। सोचें, रमाइलो गर्न त मुटु पनि दह्रै हुनुपर्ने रहेछ। टेलिभिजनबाट बज्ने विज्ञापनको वाक्यांश सम्झिएँ, ‘डरके आगे जित हे।’ तालको किनारामा घुम्ने अनि फोटो खिच्ने राम्रै लहर चलिरहेको थियो। सबै आ–आफ्नै सुरमा मस्त अनि व्यस्त थियौं।
ताल किनारमा फोटो खिच्ने क्रम चल्दै गर्दा रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाका मेजर झलक सरसँग भेट भयो। उहाँसँग जिज्ञासा राखें, दिउँसो १२ बजेपछि बोटिङ गर्नु साँच्चै खतरा नै हुन्छ र सर ? ‘डराइहाल्नु त पर्दैन तर जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न कठिन हुन्छ। केही घटना भइहाल्यो भने रेस्क्यु गर्न पनि समय लाग्छ।’ उहाँको भनाइले मुटुको धड्कन ह्वात्तै बढ्यो। बीपी नापेको भए सायद १५० बाई १३० पुगेको हुनसक्थ्यो। प्याडलले चलाउनुपर्ने भएर यस्तो भएको हो। मोटरबोट भएको भए जुनसुकै समयमा बोटिङको मज्जा लिन सकिन्थ्यो। उहाँको पछिल्ला वाक्यले त्यो व्यवस्था गर्नुपर्नेमा सरोकारवाला निकायको ध्यान जान सके आगन्तुकले रारामा सुनमा सुगन्ध भेट्न थिए भन्ने लाग्यो।
रारा ताल कर्णाली अञ्चलको मुगु जिल्ला अवस्थित रहेको पढेकै थिएँ। नेपालको सबैभन्दा ठूलो ताल हुनुको मजा लिन सकेकोमा गर्व थियो मनमा। समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेछ। राराबारे धेरै थाहा पाएँ पुगेपछि। अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्र मानिँदोरहेछ। सोही क्षेत्र र रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित रारा तालले साँच्चिकै सबैलाई सजिलै आकर्षित गर्न सक्ने रहेछ।
नेपालमा प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ धेरै होलान्। तर, आवश्यक पूर्वाधारको अभावमा जो कोही झट्टै रारा गइहाल्न हच्किन्छन्। मूल कारण, सहज सडक पूर्वाधारको अभाव। रारा पुगेर फर्किनेले त रारामा बसोबासका लागि राम्रो व्यवस्था नै छैन भन्ने गरेको गुनासो सुनिन्छ। मनमा लाग्यो, यस्तो गुनासो अब नरहोस्। निकुञ्जभित्र वातावरणमैत्री ‘इलेक्ट्रिक भने’ तथा रिक्साको व्यवस्था भए ताल वरिपरिको फन्को मार्न अझ सहज हुन्थ्यो। तर यहाँ घोडा मात्र छ।
रारालाई पर्यटकीय हब बनाउन सरकार र निजी क्षेत्र सबैले कम्मर कस्नुपर्ने निचोढमा पुगें। राराको किनारमा बसेर पानीको बहाव छचल्किएसँगै मन तरंगित भइरहेको थियो। पाइलट दाइले हेलिकप्टरको रोटर स्टार्ट गरे। झसंग भएँ, राजधानी उड्नुपर्ने संकेत पाएर। राराले अँगालोमा बेरिरहेझैं लागेको थियो। जबर्जस्ती अँगालो फुकाएर दौडिएँ हेलिकप्टरतर्फ। उक्लिएपछि भित्र छिर्नुअघि पुनः रारालाई हेरें, भनें, बाईबाई रारा!