मनको गमलामा कवितै कविता
कवि भनेको हरेक चिजलाई बालबालिका भएर हेर्नु हो। उनीहरूजस्तै निर्दोष भएर कुनै पनि कुरालाई अनुभव गर्नु हो। त्यस्तै निडर, गनगन, जिद्दी, मौलिक, अव्यवस्थित हुनु नै कविता बाँच्नु हो। होलीले भर्खरै हामीलाई रङ पोतेर गएको छ।
हरेक वर्ष २१ मार्चको दिन विश्व कविता दिवस मनाइन्छ। सन् १९९९ बाट यो प्रचलनको सुरुआत भएको हो। कविताको सम्मान गर्दै यसको महत्व र आवश्यकताबारे अक्षरकारले कविताका विविध कोणका साथमा भिन्नभिन्न कविका विचार प्रस्तुत गरेर कविता दिवसलाई यो आलेख समर्पित गर्ने कोसिस गर्नेछ।
कविता र भाषाको सम्बन्ध फोक्सो र प्राणवायुको जत्तिकै छ। फोक्सो चलायमान हुन हावाको आवश्यकता त पर्छ तर फोक्सो आफैं चल्न नमानेपछि हावाले मात्रै पनि चलाउन सक्दैन। त्यसैगरी कविता र भाषा एकाअर्काको परिपूरक भए पनि भाषा आफैंले कविता बनाउन सक्दैन। कविता बन्न भाषा र कवि हृदयको उपस्थिति जरुरी हुन्छ। त्यसो त संसारका महान् कविताहरू अभाषामा छन्। शब्द, वाक्य र वर्णविन्यासबिना नै कयौं अलिखित कविता हाम्रो सेरोफेरोमा उपस्थित छ।
मात्र त्यसलाई महसुस गर्न तेस्रो आँखा (अमूर्त आँखा वा चैतन्यको आँखा)लाई उघारेर हेर्न सक्नुपर्छ। हाम्रो घरभित्रै कति अलिखित कविता संग्रह छन्। घरबाहिर आँगनमा कति कविता तुलसीको मठमा विराजमान छन्। गमलामा रंगीबिरंगी फूलभित्र कयौं परागमय कविता सुभाषित छन्। घरको बार्दलीमा लगाएको गौथलीका गुँडमा कविताको अन्डा फक्रँदै हुन्छन्। पीपलका पातमा जब हावाले चुम्बन गर्छ, त्यहाँ कविता नृत्य गर्छ। घामले जब फेवातालमा मुख धुन आउँछ, कति मिठो कविताको पाण्डुलिपि छोडेर जान्छ।
सबैभन्दा धेरै कविता बालबालिकाको हृदयमा फुल्छ। प्रत्येक बाल उत्सुकताका प्रश्नमा कविता सिर्जित हुन्छ। त्यसैले कवि भनेको हरेक चिजलाई बालबालिका भएर हेर्नु हो। उनीहरूजस्तै निर्दोष भएर कुनै पनि कुरालाई अनुभव गर्नु हो। त्यस्तै निडर, गनगन, जिद्दी, मौलिक, अव्यवस्थित हुनु नै कविता बाँच्नु हो। होलीले भर्खरै हामीलाई रङ पोतेर गएको छ। होलीको रङलाई देखेर अबोध बालकले यसै मौसममा फुलेको लालीगुराँसलाई देखेर, ‘ओहो वनजंगलले पनि रातो अबिर लगाएर होली खेलेछ’ भन्छ भने त्यो नै गजबको कविता हो।
यो अक्षरकारको आलयमा पनि १८ महिनाको कविताको काव्यिक फूल फुलिरहेको मौसम भएकाले दृष्टान्त आफ्नै घरबाट दिउँ लाग्यो। एकदिन अचानक देख्छु, सन्ध्या आरतीकालमा डेढ वर्षकी बालिका अगरबत्ती सल्काएर त्यसबाट उडेको धुवाँको आकृतिलाई समात्न खोजिरहेकी छन्। गुजिल्टिएको धुवाँको फूललाई टिपेर कहाँ सजाउने मन थियो थाहा भएन तर अक्षरकारलाई के लाग्यो भने पक्कै पनि कविता खोज्नु भनेको ठ्याक्कै धुवाँको चित्रलाई जतनले क्यानभासमा सजाउनु हो।
सन्ध्या आरतीकालमा डेढ वर्षकी बालिका अगरबत्ती सल्काएर त्यसबाट उडेको धुवाँको आकृतिलाई समात्न खोजिरहेकी छन्। गुजिल्टिएको धुवाँको फूललाई टिपेर कहाँ सजाउने मन थियो थाहा भएन तर अक्षरकारलाई के लाग्यो भने पक्कै पनि कविता खोज्नु भनेको ठ्याक्कै धुवाँको चित्रलाई जतनले क्यानभासमा सजाउनु हो।
कविता के हो भनेर सोधिने प्रश्नमा कसैको नाम सोधे जस्तो फ्याट्ट उत्तर आउँदैन। कविता अपरिभाषित छ। व्यक्तिगत भोगाइ र अनुभवका आधारमा कसैले कवितालाई अपुरो व्याख्या चाहिँ गर्न सक्छ। यो अक्षरकारले कविता भित्रैबाट कविताको परिभाषा देखाउन खोजेको छ। क बाट कला, वि बाट विचार र ता बाट तार्किक वा तालमेल। यसर्थ, अक्षरचालकलाई लाग्यो, कला र विचारको तार्किक तालमेल नै कविता हो। कसैले कविताको परिभाषा सोध्दा फ्याट्ट जवाफ दिनलाई अक्षरचालकले एउटा कामचलाउ परिभाषाको निर्माण गरिहाल्यो। संसारमा जति पनि कवि होलान् उनीहरूले कवितालाई गर्ने परिभाषा कविपिच्छे फरक आउने पक्का छ। जनभाषामा भन्ने हो भने जे कुराले ट्वाक्क मनमुटुलाई स्पर्श गरिदिन्छ। त्यो धेरै हदसम्म कविता हुनपर्छ भन्ने यो अक्षरकारको मान्यता छ।
कविताको उपयोगिता हुन्छ नै भन्न सकिन्न। हाम्रो पूरै शरीर नै उपयोगितामा बाँचेको हुन्छ। एक समय थियो, जब मानिसको पुच्छर हुने गथ्र्यो तर अहिले त्यसको उपयोगिता नभएको कारणले पुच्छर विलुप्त भयो। त्यसैगरी, उपयोगिताको हिसाबमा कवितालाई उभ्याउनु गलत हुन सक्छ। त्यसैले अनुभूतिको कुनै उपयोगितावादी सिद्धान्त हुँदैन। अनुभूतिलाई मापन गर्न सकिँदैन। भौतिक कुराको मात्र उपयोगिता हुन्छ र कविता भौतिक
वस्तु होइन।
यहाँ गनगन र कविताको एकोहोरो वक्तव्य पक्कै छैन। नेपाल र भारतीय केही कविलाई कविताका विविध आयामबारे प्रश्न गरेको छु। ती कविका धारणा र कविताको विश्लेषण पनि यहाँ प्रस्तुत पक्कै हुन्छ।
000
संकटमा जीवन सम्झाउँछ
–श्यामल अधिकारी
लामो समयदेखि कविताको चिन्तन र कवितामा कलम चलाउने वरिष्ठ कवि श्यामल कवितालाई कसरी व्याख्या गर्छन् ? भन्छन्, ‘कवितालाई परिभाषित गर्ने काम यो विधा अस्तित्वमा आएदेखि नै भइआएको छ। सर्वसम्मत केही छैन। तसर्थ कविता के हो भन्नुभन्दा के होइन ? भन्नेबाट यसलाई बुझियो भने सजिलो होला। कविता कुनै भावुक व्यक्तिले जोडजाड गरेको शब्द गुच्छा होइन र भावा तिरेकले अत्तालिएर मस्तिष्कले दिने प्रतिक्रियाको लयात्मक रूप पनि होइन।
बरु यो भाषाको पनि उच्चतम र गम्भीरतम अभिव्यक्ति क्षमताको भाषा हो। नबुझिँदा रहस्यहरू पनि काव्यमा आउँदा बुझिन थाल्छन्। यसले हाम्रा ग्रन्थीहरूलाई तरंगित तुल्याउँछ। थोरै शब्दहरूमा व्यापक परिदृश्य दिनु उसको धर्म हो। पाठकलाई विषयवस्तुमा बाँधिराख्नु उसको स्वभाव हो। संक्षिप्तता र उसको दृश्यवान् आकार हो। सूक्तिमय हुनु र आन्तरिक लयमा आबद्ध हुनु उसको विधागत वैशिष्ट्य हो। धेरै वर्षअघि एक अन्तर्वार्तामा कहींकतै कसैलाई भनेको थिएँ, मेरा लागि राम्रो कविता निवीड अन्धकारमा पनि चिन्न सकिने प्रियजनको पदचाप हो। यसले मलाई संकटमा जीवन सम्झाउँछ। कष्टका बेला यसले मलाई सहने शक्ति दिन्छ। चरम निराशाको चिसो क्षणमा कविताले मलाई आशाका जीवनदायी ताप दिन्छ। कविता अरू जेसुकै भए पनि हत्याराको हतियार भने होइन। यो प्रकृति जस्तै हो, अनन्त रहस्यहरू र अपार सौन्दर्यले भरिपूर्ण। यसमा कुरूपता, अमानवीयता र क्रूरताका लागि कतै ठाउँ छैन।
संसार त धेरै कुराको अभावमा पनि चलिहाल्छ र चलिरहेछ पनि। कविताबिनाको संसार कल्पना गर्नु पर्यो भने कस्तो होला ? भन्छन् ‘कविताबिनाको संसारको कुनै कल्पना गरेको छैन। यो आदिकालदेखि छ। यो छ र त यस सुन्दर संसारमा अद्भुत काव्यक्षमताका कविहरू छन्। यो भएरै वेद, पुराण, उपनिषद्को रचना सम्भव भयो। यो भएरै इलियाड र ओडिसी लेखिए। कविता भएरै गीतगोविन्द र गीता सम्भव भए। कविता भएरै महाकवि कालीदास, चसर, सेक्सपियर, शेली, वर्डस्वर्थ, पुस्किन, दाँते, भानुभक्त, लेखनाथ, देवकोटा, रिमाल भए।
कविता भएरै त मुनामदन र आमाको सपना लेखिए, मैनबत्तीको शिखाले उज्यालो दियोे। आज लेखिइँदै गरेका तपाईंको पुस्ताका शक्तिशाली काव्यरचना कविता भएरै देखा परेका हुन्। म अझै राम्रो कविताको अभ्यासमा छु। किनभने कविता अझ बढी छोइने र अझ बढी प्रभावशाली बन्ने अपार सम्भावनाहरू छन्। तब म कसरी कविताबिनाको दुनियाँबारे चिन्ता गरुँ ?
कविताको भनेको जीवन सौन्दर्यलाई अनुभूत गर्ने सोपान हो। मानवताको आराधना गर्ने मन्त्र हो। करुणा र प्रेमको मदमा लीन हुन सघाउने रस हो। बाँच्नुको अर्थ बुझाउने एउटा कोमल प्रयत्न हो। कविताले जीवन र मृत्युमा भेद देख्दैन, दुवैको गीत गाउँछ– उत्सव मनाउँछ।
कवितामा वादको भूमिका हुन्छ
– विन्दु शर्मा
विश्व कविता दिवसको सिलसिलामा कविताको अन्तरकुन्तर कोट्याएँ। कवितामा वाद के हो ? विन्दु शर्मा भन्छिन्, ‘वाद भनेको विचारधारा हो, विश्व दृष्टिकोण हो। कविताको प्रारम्भदेखि नै वादले भूमिका खेलेको छ। वाद सचेत रूपमा मात्र रहने होइन, अचेतनबाटै पनि प्रकट हुन्छ। यसले कविको पक्षधरता देखाउँछ।’ उनलाई कविताबिनाको संसार यान्त्रिक र संवेदनाहीन लाग्छ। जहाँ जीवनका फूलहरू मुर्झाउलान् भन्ने लाग्छ।
कविताले जीवन र मृत्युमा भेद देख्दैन
– विप्लव प्रतीक
मानिसले गरेको सबैभन्दा सुन्दर आविष्कार कविता हो ? कविता किन सुन्दर हुनुपर्छ ? कवि विप्लव प्रतीक भन्छन्, ‘कविता किन ललित हुनुपर्छ भन्ने कुराको ठ्याक्राक्कै जवाफ मसँग छैन। कवि मन पो बरु सुन्दर हुनुपर्छ। त्यसपछि स्निग्ध मनबाट रचित वाणी हृदयस्पर्शी हुनुको विकल्प हुँदैन।’
‘प्रथमतः कवितालाई सर्वप्रिय बनाउने मोहबाट मुक्त हुन सक्नुपर्छ कविले। सर्वप्रिय कवि हुने लोभबाट पनि टाढा रहन सक्नुपर्छ कविले। आफूभित्र विद्यमान इष्र्या, अहंकार, क्रोध र मोहजस्ता विकारहरूलाई पखालेको हुनुपर्छ कविले। कविता लेख्नु भनेको यौटा साधना हो र कविता ध्यानको अर्को रूप हो।’ कवितालाई सर्वप्रिय बनाउन कविले निभाउन पर्ने भूमिकाको बारेमा आएको जवाफ हो यो।
थप्छन्, ‘पृथ्वी स्वयं कविता हो। पहिलो कविताको प्रेरणा पनि प्रकृति थियो। कविता हुनु अवश्यंभावी थियो। त्यसैले नभएको भए भन्ने कल्पना गरेर भन्न असमर्थ छु। अर्को दृष्टिकोणबाट भन्ने हो भने केही फरक पर्दैनथ्यो। संसारमा अझै पनि त्यस्तो विशाल समूह छँदैछन्, जसलाई कविताको उपस्थिति छ भन्ने जानकारी नै छैन। विपन्न वर्ग जसले हामीलाई अन्न दिन्छन्, श्रम बेच्छन् तिनीहरू मात्र होइन, तिनलाई र हामीलाई शासन गर्ने वर्ग, नोकरशाह र बडेबडे भ्रष्टहरू पनि त बिनाकविता बाँचिरहेकै छन् त ? तिनको संसार बिनाकवितै स्वर्ग छ।’
कविताको परिभाषा ? भन्छन्, ‘आफूले प्रेम गरेको कुरालाई कसरी परिभाषित गरुँ ? कविताको भनेको जीवन सौन्दर्यलाई अनुभूत गर्ने सोपान हो। मानवताको आराधना गर्ने मन्त्र हो। करुणा र प्रेमको मदमा लीन हुन सघाउने रस हो। बाँच्नुको अर्थ बुझाउने एउटा कोमल प्रयत्न हो। कविताले जीवन र मृत्युमा भेद देख्दैन, दुवैको गीत गाउँछ– उत्सव मनाउँछ।’
कवितासित हुन्छ पीडामा पनि प्रेम
– नेत्र एटम
समालोचक तथा कवि नेत्र एटमसँग पोकोपन्तरो फुकाउने क्रममै सोधिहालें, कविताको आवश्यकता किन पर्छ भनेर, उनले भने, ‘बाँच्ने सुन्दर कलाका निम्ति कविता आवश्यक पर्छ। यसले हाम्रा भावना, कल्पना र संवेदनालाई बाहिरी संसारसित जोड्न सिकाउँछ अनि कविताले मान्छे हुनुका अनेकौं आयामसित हामीलाई सुपरिचित तुल्याउँछ।’
कविताको शक्तिको बारेमा प्रश्न तेस्र्याउँदा उनी भन्छ्न्, ‘कवितासित पीडामा पनि प्रेम सिर्जना गर्ने शक्ति हुन्छ। किनारामा पारिएको बेला पनि मझधारमा पुग्ने तागत यसले दिन्छ। निराशाको क्षणमा पनि कलात्मक तरिकाले बाँच्न उत्प्रेरित गरिरहनु, कोलाहलमा पनि मौनता र एकान्तमा पनि मनको वाचालता प्रकट गर्ने सामथ्र्य कवितामै हुन्छ।’
कविताको पहुँच बढाउन कविता विविध प्रकृतिका रचिनुपर्छ, पाठकसित निकटता स्थापित गर्न सौन्दर्यका नवीन रूपको खोजी हरेक पल भइरहनुपर्छ र प्रस्तुतिका पृथक् पद्धति अवलम्बन गरिनुपर्छ भन्छन् उनी।
समाजप्रति जिम्मेवार छ कविता
– स्वप्निल स्मृति
समकालीन कवितामा उल्लेखनीय कविता सिर्जना गरेर छुट्टै पहिचान बनाएका कवि हुन्, स्वप्निल स्मृति। समाज र कविताको सम्बन्ध कस्तो हुन्छ ? भन्छन्, ‘समाजप्रति कविता जिम्मेवार हुन्छ ः कविताप्रति समाज उत्तरदायी हुन्छ तर त्यसको हद भने हुन्छ। किनभने कविता कला हो, विचारको वाहक पनि हो। कला र विचारको माध्यमिक खपत समाजले गर्छ, सर्जक समाजकै अंग हो।
कविताले समाज परिवर्तन गर्न सक्छ ? धेरैको उत्सुकता र शंकाको विषय हो यो। भन्छन्, ‘समाज परिवर्तनमा कविता निष्प्रभावी हुनुहुन्न। कविताले छाड्ने चैतन्यिक, हार्दिक, मानसिक प्रभावले समाजलाई परिवर्तनका लागि उत्प्रेरित, उद्वेलित नगर्ने भन्ने हुन्न। कविता मात्रले चाहिँ समाज परिवर्तन गर्न गाह्रै कुरा हो।’
कविता आफ्नै लागि लेख्ने हो र त्यो कविता अरूसँग सम्बन्धित चाहिँ सार्वजनिक भएपछि हुने हो। उनलाई लाग्छ, ‘असल मानिस, असल संसारको निरन्तर खोज र निर्माणको यत्न नै असल कविका गुण हुन्, त्यसैले असल कविबिना असल कविता हुन सक्दैन।
जीवन बाँच्नलाई पनि कविता
– चन्द्र गुरुङ
कविताको सौन्दर्यबारे कवि चन्द्र गुरुङ भन्छन्, ‘राम्रो कविता भावना र विचारको उत्कृष्ट अभिव्यक्ति हो। कविताले अँध्यारोमा प्रकाश र अप्ठ्यारोमा साथ दिने, हात बन्ने क्षमता राख्छ। कविताको पहाडमाथि उक्लिएर वरिपरिको समाज र परिवेशको सौन्दर्यपान गर्न सकिन्छ। कविता बजारमा बिक्री नभए पनि जीवनमा प्राप्तिको एउटा ठूलो सुखानुभूति हो।’
कविता जन्माउनु भनेको सकसपूर्ण यात्रा पनि हो। कविताको सकसलाई कसरी हेर्छन् ? भन्छन्, ‘कविताका लागि जीवनको तलाउमा बल्छी हालेर केही पल पर्खिन सक्ने घैर्यता चाहिन्छ। यस दौरानको हलचलबाट उत्पन्न हुने लहरलाई सही समयमा टिप्न सक्ने क्षमताको आवश्यकता पर्छ। वास्तवमा, कविता यी सम्पूर्ण अनुभूतिलाई विम्बको रूपमा व्यक्त गर्ने कला हो।’
कविता नभएको संसार ? कस्तो होला। ‘कविताबिनाको जीवन पिँजडामा थुनिएको चराको संसार जस्तो होला। त्यस्तो चराले कहिल्यै मिठो गीत सुनाउन सक्दैन। यसरी कविताबिना मानिसले स्वतन्त्र उड्ने रहरलाई दिलमा थुनेर संगीतहीन जीवनमात्र बाँच्ने थियो होला।’
मान्छेलाई मूर्त र अमूर्त दुवै कुराको आवश्यकता पर्छ। त्यसैले कविताको आवश्यकता मानिसलाई किन भनेर पनि सोधिहालें, ‘अमेरिकी कवि विलियम कार्लोस विलियम्सले लेखेका छन्– कविताहरूबाट समाचार पाउन गाह्रो छ तर त्यसमा पाइने चिजको अभावमा हरेक दिन मानिस दयनीय रूपमा मर्छन्। वास्तवमा, जीवन बाँच्नलाई पनि कविताको आवश्यकता छ। तर यो तथ्य धेरैलाई थाहा छैन। धेरै मानिसले कविताको सौन्दर्यको सानिध्यमा बाँच्न पाएकै छैनन्। खासमा, धेरैले यस्तो जीवन बाँच्ने कोसिस पनि गरेका छैनन्।’
कवितालाई आत्माको आवाज
– लवली गोश्वामी
भारतीय चर्चित युवा कविसँग पनि कविताका केही कुराकानी भए। भारतीय कविले कवितासँग कस्तो दोस्ती छ भन्ने कुरा हाम्रो लागि रोचक र जानकारीमूलक पनि हुन सक्छ। त्यसैले उनलाई पहिलो प्रश्न कविताको महt\को बारेमा सोधें। भनिन्, ‘जीवनको आधारभूत आवश्यकता पछिको आवश्यकता कविता नै हो।’
हाम्रा नेपाली कविलाई जस्तै कविताबिनाको संसार कस्तो हुन्थ्यो होला भनेर सोध्दा जवाफ आयो, ‘एमर्सनले भनेका छन्, भाषाको पहिलो शब्द नै कविता हो। यदि मनुष्य छ भने कविता पनि छ।’
उनी कवितालाई आत्माको आवाज मान्छिन्। एउटा राम्रो कविता हुन मितभाषी, शिल्प, सरल, कथ्यमा नयाँपन हुनु जरुरी छ भन्ने मान्यता राख्छिन्। कविता असल हुनलाई इमानदार र इतिहास र परम्पराको ज्ञानमा पनि सचेत हुन पर्ने उनको कथन छ।
कविताले समाजको क्रूरता मेटाउँछ
– सुशीला पुरी
भारतीय कवितामा स्थापित सुशीला पुरीका अनुसार, कविता वा अन्य कुनै कलाले प्रत्यक्ष रूपमा तत्कालीन समाजलाई खास केही दिन नसके पनि कविताले दीर्घकालीन प्रभाव र संवेदनशीलता प्रदान गर्छ। कलाले हामीलाई जीवनप्रति गहिरो आशक्ति र आश्वसी दिन्छ र विश्वास जगाउँछ।
जसरी जीवनका लागि हावा, पानी आवश्यकता हुन्छ, त्यसैगरी मानवताका लागि कविता आवश्यकता हुने उनको कथन छ। जब भाषा बनेकै थिएन, त्यतिबेला पनि कविताको अस्तित्व भएको बताउँछिन्। कविताले कसरी जीवन परिवर्तन गर्न सक्छ भनेर सोध्दा उनी भन्छिन्, रामायणलाई हेर्नोस् जसरी यस ग्रन्थले हाम्रो जीवनको दिशानिर्देश गरेको छ, के त्यो लुकेको छ र ? जीवनको हरेक क्षणको लागि गीता र रामायणमा सूक्ति छन्। विश्वको सबै भाषामा उल्लेखनीय कविताका उद्धरणहरू छन्। जसले समाजलाई एक कदम अगाडि हिँडाउन उदाहरण बनेका छन्। कविरको एकएक दोहा जीवनको अप्ठ्यारालाई मार्गनिर्देशन गर्छ। रहिम, मीर, गालिब, फैज, इकबाल आदिका कविताले समाजको क्रूरता मेटाएर भाइचारा र सद्भाव ल्याउन सहयोग गरेको छ।
000
हामी २१ मार्च अर्थात् कविता दिवसको नजिक छौं। कवितालाई उत्सवमय बनाउने तयारीमा छौं। कविताको दियो हरेक मान्छेको हृदयमा जलाउने प्रयत्नमा छौं। कवि सधैं मानवता, सत्य र सौन्दर्यको पक्षधर हुन जरुरी छ। कवि भनेको भूत, वर्तमान र भविष्यलाई एकैपटक देख्ने व्यक्ति पनि हो। कविले सत्य, सौन्दर्य र मानवता बोक्यो भने ऋषि तत्व बोकेको कविता सिर्जना गर्न सक्छ। ऋषि तत्व भनेको त्यो तत्व हो जसले दूरदर्शितालाई दर्शन गर्न सक्छ। एउटा महत्वपूर्ण कुरा यो पनि छ कि कविता अर्धसत्य मात्र हुन्छ यसलाई पूर्ण सत्य बनाउन एउटा कवि लागिरहनु पर्छ।
दुनियाँ डिजिटल बनिसक्यो। अब कुनै दिन यस्तो पनि आउन सक्छ कुनै एप्सले नै आफूले चाहेअनुसारको कविता कोरिदिन्छ। यो भयंकर त्रास र समस्याबाट बच्न कवि हृदयलाई मौलाउन दिन जरुरी छ। जबसम्म कविता यो दुनियाँमा छ तबसम्म यो संसार सौन्दर्य, सत्य र मानवताको गुणले भरिएको हुन्छ। हरेक मान्छेको मनको गमलामा कवितालाई थोरै मलजल गरौं र बचाऔं, फुलाऔं कवितालाई। जय कविता।