प्रधानमन्त्री देउवाले गरे देशकै दोस्रो ठूलो सबस्टेशनको उद्घाटन
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको शनिबार एक समारोहबीच उद्घाटन गरेका छन्। उनले रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०\१३२ केभी क्षमताको सबस्टेशन प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्।
तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सबस्टेशनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ।
त्यस्तै, नयाँ खिम्ती सबस्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००\२२०\१३२ केभी सबस्टेशनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ।
नयाँ खिम्ती सबस्टेशनबाट ४६ किमी लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघुस्थित १३२ के.भी. सबस्टेशन हुँदै काठमाडौँ उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् प्रवाह भइरहेको छ।
नयाँ खिम्ति सबस्टेशनमा आठवटा २२० केभी ग्यास इन्सुलेटेट स्विचगियर बे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्विचगियर बे छन् । साथै, सबस्टेशनमा २२०.१३२ के.भी., ३३.३३ एमभिए क्षमताको चारवटा पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहेको सबस्टेशनमा हाल करिब ५५ रोपनीमा २२०.१३२ केभी नयाँ खिम्ती सबस्टेशन निर्माण भएको छ ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले अनेकौँ कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको र यसबाट जलविद्युत् र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि प्राप्त भएको बताए। उनले यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट र दक्षता प्राप्त भएको उल्लेख गरे। दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत् उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई ठूलो मद्दत पुर्याइरहको छ ।
वार्षिक दुई अर्ब २८ करोड युनिट विद्युत् उत्पादन हुने आयोजनाले दोस्रो चरणमा २० मेगावाटको रोल्वालिङ खोला निर्माण गर्दैछ। रोल्वालिङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुक्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत् ऊर्जा थप हुनेछ।