अरू पार्टी गठबन्धनका लागि माओवादीसँग आउने स्थिति बन्दैछ : प्रचण्ड
पोखरा : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशैभर सकारात्मक जनमत बन्दै गएको बताए। उनले अरू पार्टी गठबन्धनका लागि माओवादीसँग आउनुपर्ने दाबी गरेका छन्। प्रेस सेन्टर गण्डकीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा दाहालले १ महिनापछि अरू पार्टी आफूहरूसँग आउने दाबी गरेका हुन्।
अध्यक्ष दाहालले आफ्नै बलमा चुनाव लड्ने कुरालाई प्राथमिकता दिँदै गठबन्धन पनि गर्ने बताएका छन्। उनले पार्टीको संस्थापन र मूल नेतृत्व गठबन्धन गरेर जाने कुरामा प्रष्ट रहेको उल्लेख गरे।
अध्यक्ष दाहालले ठूलो राजनीतिक दुर्घटनामा जाने हो कि भन्ने स्थिति देखापरेपछि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने उपाय निकालिएको सुनाए। 'अमेरिकाले पनि सिद्धान्तत स्वीकारेको छ,' उनले भने, 'त्यो भएन भने फेरि राष्ट्रिय स्वाधीनताका लागि संघर्ष गर्न सकिन्छ।'
देश निर्वाचनतिर गइसकेको उनले बताए। '६४ सालमा पनि हामीले चुनाव जित्छौं भनेर कसैले भन्या थिएन, तर जनताले देखाइए, अहिले पनि हामी पहिलो पार्टी बन्ने स्थिति छ,' उनले भने, 'माओवादी नै हो शान्ति, लोकतन्त्रको संवाहक भन्ने रियलाइजेसजन जताततै भएको छ।'