विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ सार्वजनिक
काठमाडौं : विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’विमोचन भएको छ। शनिबार त्रिभुवन विश्वविद्यालयमा वरिष्ठ साहित्यकारद्वय पूर्व प्राडा गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतिक्षा र महेश पौडेललगायतले संयुक्तरूपमा विमोचन गरेका हुन्।
कार्यक्रममा पूर्व प्राडा भट्टराईले विश्विद्यालयमा लामो समयपछि एक विलक्षण प्रतिभा भएको हस्तीको जन्म भएको बताए। उनले मुग्लान उपन्यास निकाल्दा आफू २१ वर्षको ठिटो भएको स्मरण गर्दै लेखकले यो उमेरमा यति सशक्त कृति निकालेकोमा हर्षले विभोर भएको बताए। करिब ४८ वर्षपछि क्याम्पसमा उदाएको लेखकमा प्रचुर कल्पनाशीलता भएको उनको भनाइ थियो।
समालोचक महेश पौडेलले उपन्यास एउटा तिलस्मी भएको ठहर गरे। समाजमा बद्नाम भइसकेपछि त्यसबाट कसरी छुटकारा पाउने भन्ने प्रश्न उपन्यासले गरेको उनले बताए।
समीक्षक साधना प्रतीक्षाले बौद्धिक चोरीमा आफ्नो पीडा व्यक्त गर्न नसकेका आम बौद्धिक वर्गको पीडालाई उपन्यासले उतारेको बताइन्।
लेखक सिटौलाले विश्वविध्यालयमा एक सेमेस्टारको अवलोकन र अनुभवपश्चात यो उपन्यास लेख्न सुरु गरेको बताए। आफू जापानिज राइटर हारुकी मुराकामीको लेखनबाट प्रभावित भएको उनको भनाइ छ।