बराल र गुरुङ सम्मानित
काठमाडौं : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान वरिष्ठ गीतकार डा. कृष्णहरि बराल र प्रतिभा पुरस्कार संगीतकार गणेश गुरुङलाई प्रदान गरेको छ। नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं मुन्धुमविद् बैरागी काइँलाले बराल र गुरुङलाई सम्मान गरेका हुन्।
डा. बराललाई ५० हजार रुपैयाँ र गुरुङलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। पूर्व कुलपति काइँलाले बेलायतमा रहेका स्रष्टाहरूद्वारा स्थापित नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले भाषा, साहित्य, कला र संस्कृतिलाई सम्झने काम गरेको भन्दै प्रशंसा गरे।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले गरिरहेका विविध गतिविधिहरूको प्रशंसा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान, बालसाहित्य र लोकवार्ता विभागले लेखाइरहेको नेपाली बालसाहित्यको इतिहास लेखनमा बेलायत डायास्पोराका बालसाहित्यसँग सम्बन्धित सूचनाहरू उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेका थिए।
साहित्यकार मदन राईले रकमभन्दा सम्मान ठूलो भए पनि सम्मान तथा पुरस्कारको रकम वृद्धि गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा डा. रजनी ढकालले सम्मानित डा. बराल र गुरुङको योगदानको चर्चा गरेकी थिइन्।
डा. बरालले साहित्य सिर्जनामा लागेका ठूला प्रतिभा ओझेलमै रहेको उल्लेख गर्दै उनीहरूको खोजी गरेर सम्मान गर्नुुपर्नेमा जोड दिए। यसैगरी गुरुङले पुरस्कार पाएसँगै जिम्मेवारी बढेको अनुभूति भएको बताए।
प्रतिभा प्रतिष्ठानका अध्यक्ष गणेश राईले प्रतिभा प्रतिष्ठानले युद्ध साहित्य तथा डायास्पोरिक साहित्यलाई पनि प्रवद्र्धन गरिरहेको बताए। प्रतिभा प्रतिष्ठानका पूर्व अध्यक्ष दयाकृष्ण राईले संस्थाले बेलायतमा ‘अभिव्यक्ति शृंखला’ नामक वार्षिक एकल कविता वाचनलगायतका साहित्यिक कार्यक्रमलाई निरन्तरता दिइरहेको जानकारी दिए। महासचिव देवेन्द्र खेरेसले संस्थाबाट हालसम्म १४ जना प्रतिभालाई सम्मान तथा १४ जनालाई प्रतिभालाई पुरस्कार प्रदान गरिसकेको बताए।