आफैंलाई चिनौं

आफैंलाई चिनौं

सन् १८६८ मार्च २८। रुसको भोल्गा नदी नजिकैको विपन्न बस्तीमा एउटा बालकको जन्म भयो। सुरुदेखि नै गरिबी र अभावमा पिल्सिएको त्यो बालकका पिता निक्कै क्रोधी स्वभावका थिए। छोरा हुर्केर टुकुरटुकुर हिँड्न सक्ने नहुँदै उसलाई अमानवीय पारामा पिट्नसमेत पछि पर्दैनथिए। त्यो बालक अलि ठूलो भएपछि पढ्न चाहन्थ्यो। बाबु भने उसलाई काममै लगाउन चाहन्थे। उनी छोराको पढाइमा खर्च गर्न चाहँदैनथिए। त्यो बालकले लामो समयसम्म बाबुको अत्याचार चुपचाप सह्यो। पढ्ने इच्छा भने दिनदिनै बढ्दै गइरहेको थियो। इच्छा व्यक्त गर्दा बाबुबाट पिटाइ खाने पक्का थियो।

बाध्य भएर उसले एउटा कबाडी पसलमा नोकरी सुरु गर्‍यो। कबाडी पसलमा सयौं पुस्तक आउँथे। ऊ फुर्सदका बेला तिनैमध्ये कुनै पुस्तक लिएर पढ्न थाल्थ्यो। यसो गर्दा बाबुको पैसा खर्च भएको थिएन, उल्टै कमाइ भएको थियो। जुन पायो त्यही किताब पढ्दा उसले केही बुझ्न सकेको थिएन। जसको मनमा दृढ अठोट हुन्छ ऊ कहिलै चुप लागेर बस्दैन। त्यो बालकले आफूले नबुझेको कुरा पसलमा आउने ग्राहकलाई सोध्न थाल्यो। बिस्तारै उसलाई अक्षर, शब्द र अर्थको ज्ञान भयो। सिक्दै जाँदा ऊ लेख्न पनि सक्ने भयो।

कठोर परिश्रम र अभ्यासले लेखपढ गर्न जान्ने भइसक्दा ऊ किशोर भइसकेको थियो। त्यो किशोरले मनका विचार लेखेर समाचारपत्रमा पठायो। सम्पादकले उसको त्यो लेखाइ औधी मन पराए। बधाईपत्र नै पठाए। त्यसपछि ऊ हौसियो र नयाँ जोसका साथ लेख्न थाल्यो। परिणाम के निस्कियो थाहा छ ? कबाडी पसलमा काम गर्ने बालक विश्वविख्यात उपन्यासकार बने। उनी हुन्, संसारकै सर्वश्रेष्ठ पुस्तकमध्येको‘आमा’ उपन्यासका लेखक म्याक्सिम गोर्की।

पहिले आफूले आफूलाई चिन्न सक्नुपर्छ। म को हुँ ? कतिसम्म गर्न सक्छु ? अनि मात्र आफू अगाडि बढ्न सकिन्छ। केही बन्न सकिन्छ।

माथिका हरफ श्रीष भण्डारीको अठोट (उज्ज्वल भविष्यको) पुस्तकमा उद्धृत गरिएका हुन्। पुनः यिनै हरफ छोरालाई पढेरै सुनाउनुपर्ने दिन आए। भयो के भने बाबुले पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्न प्रवेश परीक्षा दियो। सोही दिन एकदम राम्रो भयो भन्दै आएको छोरो नतिजा नजिकै आउँदै गर्दा डराउन थाल्यो। नर्मस भएजस्तो देखियो। केही कामै गर्न अघि नसर्ने, त्यसै टोलाएभैmें गर्न थाल्यो। स्कुलमा सधंै पहिलो, दोस्रो र केही पटक स्कुलसमेत टप गरेको छोराले नतिजा राम्रो ल्याउँछ भन्नेमा ढुक्क थिएँ। अनुहारमा देखिएको डरले चिन्तित भएँ। चिन्ताको विषय एक्कासि आत्मविश्वासमा कमी कसरी भयो ? उसले आफूले आफैंलाई चिन्न सकेन भन्ने महसुस भयो।

साँझ परिणाम आउनेवाला थियो, बाबुको छटपटी बढ्दै थियो। परिणाम आइसकेपछि कम्प्युटर खोलेपछि हातले किबोर्ड थिच्न सकिरहेको थिएन। नतिजा राम्रो आउनु नै थियो, आयो। छात्रवृत्तिमै बाबुको नाम निस्कियो। रिजल्ट हेरिसकेपछि बाबुको हात समातेर छेउमा बसालें। गोर्कीको यही बाल्यकाल सुनाएँ। गोर्कीको त्यो पत्र नै उनको सफलताको यात्राको पहिलो द्वार बन्यो। यसरी पढेर पनि के हुन्छ र ? मान्छेले मलाई हाँसोमा उडाउँछन् होला आ होस् भनेर छोडेको भए के म्याक्सिम गोर्की त्यही कबाडी पसलमै बिलाउने थिएनन् ? अगाडि बढ्न आँट, हिम्मत त छँदैछ, आफूप्रति त्योभन्दा बढी विश्वास हुनुपर्छ। आफूलाई तिमीले चिन्न सकेनौं ? यस्तो डरले त भविष्यमा आइपर्ने हरेक कुराबाट पछाडि पर्ने सम्भावना अधिक रहन्छ। आत्मविश्वासको शत्रु एउटा छ, त्यो हो डर। डरलाई जरैदेखि उखालेर फ्याँकिदिनुपर्छ।

स्कुल जीवनको एउटा साथीमा आत्मविश्वासको शून्य थियो। उसले सही कुरा भनिरहेको छ र अरू कसैले ए त्यो त गलत हो भनिदिँदा होइन सही हो भनेर उसले कहिलै भन्न सकेन। बरु अक्मकाउँदै बोल्थ्यो, ‘ए, अर्कै थियो। मैले त यो पो भनेछु। उसलाई आफूप्रति नै विश्वास नभएको प्रमाण हो यो। ऊ पढ्न चाहिँ पढ्छ। नत्र कसरी सही जवाफ दिन्थ्यो र ? तर पढेर मात्र के गर्नु आफैंप्रति विश्वास नभएकै कारण ऊ सधैं पछाडि नै परिरहेको हुन्थ्यो। त्यसैले पहिले आफूले आफूलाई चिन्न सक्नुपर्छ। म को हुँ ? कतिसम्म गर्न सक्छु ? अनि मात्र आफू अगाडि बढ्न सकिन्छ। केही बन्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.