मधेस प्रदेश : २१ हजार म्यादी प्रहरीको माग, दुई दिनमै १० हजार आवेदन
जनकपुरधाम : आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा २१ हजार भन्दा बढी म्यादी प्रहरी भर्ना गरिँदैछ। स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेकोमा मधेश प्रदेशमा २१ हजार ६ सय ९८ जनालाई माग गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिए।
स्थानीय तहको निर्वाचनका लागि मधेश प्रदेशको ३ वटा जिल्लामा ३ हजारभन्दा बढी म्यादी प्रहरीको भर्ना गरिँदैछ।
धनुषामा सबैभन्दा बढी ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिँदैछ। त्यस्तै सप्तरीमा ३ हजार १३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७३६, रौतहट २ हजार ५८९, बारा २ हजार ५२८, सिरहामा २ हजार ३३१ र पर्सामा १ हजार ८ सय १ जना म्यादी भर्ना गरिने प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
म्यादी प्रहरी भर्नाका लागि आह्वान गरेको विज्ञापनमा पहिलो र दोश्रो दिन मात्र आठ वटै जिल्लाबाट झण्डै १० हजार दरखास्त परेको छ। म्यादी प्रहरीको ४० दिनको जागिरका लागि चैत ११ गतेसम्म दरखास्त दिन समय निर्धारण गरिएको हो।