जितपुर सिमरा गोल्डकप : फ्रेन्ड्स र सुदूरपश्चिम भिड्ने
सिमरा : जितपुर सिमरा गोल्डकपको १२औं संस्करणको तयारी पूरा भएको छ। आयोजक नव जनजागृति युवा क्लबले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
चैत १० गतेदेखि सुरु हुने प्रतियोगितामा ‘ए’ डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टोलीको सहभागिता रहने छ। आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार प्रतियोगितामा साविक विजेता संकटा, एनआरटी, हिमालयन शेर्पा, फ्रेन्ड्स, एपीएफ, सुदूरपश्चिम–११, बीएफसी चितवन, विजय युथ हेटौंडा, बागमती युवा क्लब र आयोजक नव जनजागृति युवाले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगिताको उद्घाटन खेल फ्रेन्ड्स र सुदूरपश्चिम–११ बीच हुनेछ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। आयोजकका अनुसार यस वर्ष विजेताको पुरस्कार राशिमा तीन लाख र उपविजेताको पुरस्कारमा एक लाख ५० हजार रुपैयाँ बृद्धि गरेको छ। अघिल्लो संस्करणमा विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार पुरस्कार प्रदान गरिएको थियो।
चैत १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने अध्यक्ष लामाले जानकारी दिए। यसैगरी विधागततर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। आयोजकले यस वर्ष उदयीमान स्थानीय खेलाडीलाई १५ हजार पुरस्कार प्रदान गर्ने भएको छ। प्रतियोगितालाई जितपुरसिमरा उपमहानगरपालिकाले विशेष सहयोग गरेको छ। प्रतियोगिता सञ्चालनका लागि करिब ८३ लाख खर्च लाग्ने जनाइएको छ।