एनआरएनएमा बाँडीचुँडी, अब तीन अध्यक्ष

एनआरएनएमा बाँडीचुँडी, अब तीन अध्यक्ष

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विधानविपरीत सामूहिक नेतृत्वमा जाने सहमति भएको छ। संघ फुट्नबाट जोगाउने नाममा डा. बद्री केसी, कुल आचार्य र रबिना थापा तीन जना अध्यक्ष बन्ने भएका छन्। उनीहरू तीनै जना अध्यक्षका आकांक्षी थिए।

उपाध्यक्ष, महासचिव र सचिव पनि एकभन्दा बढी बनाउने सहमति भएको छ। तर, विधानले बहुअध्यक्षको व्यवस्था गरेको छैन। संघको १०औं महाधिवेशन चैत १० र ११ गते काठमाडौंमा हुँदै छ। उक्त महाधिवेशनले विधान संशोधन गरे मात्रै सहमति अनुमोदन हुनेछ। संघका अध्यक्ष कुमार पन्तले महाधिवेशनमा विधान पारित गराउने हिम्मत उम्मेदवारहरूले गर्नुपर्ने बताए। 

‘हामी विधानअनुसार नै चल्ने हो’, अध्यक्ष पन्तले भने, ‘महाधिवेशनलाई विधान बनाउने सर्वाधिकार भएकाले पारित भए तीन अध्यक्ष प्रणालीमा एनआरएनए जानेछ।’

संस्थाको एकता अक्षुण्ण राख्न तीन अध्यक्ष मोडेलमा जान तयार भएको आकांक्षीहरूले संयुक्त पत्रकार सम्मेलनमा बताएका छन्। सहमतिका आधारमा १०औं महाधिवेशन गर्नुको विकल्प नभएकाले सहमति गरिएको उनीहरूले बताए। विषम परिस्थितिका कारण सामूहिक नेतृत्वमा जान तयार भएको डा. केसीले बताए। सबैको अस्तित्व स्वीकार गरेर अघि बढ्ने र अदालतमा रहेका मुद्दा फिर्ता लिने सहमति भएको उनले सुनाए। 
अब पक्ष, विपक्ष नभनिकन विधान संशोधन गरी सामूहिक नेतृत्वमा जाने आचार्यले बताए। सहमति, सहकार्य नै एनआरएनएको हितमा रहेको थापाले बताइन्। 

संघविरुद्धको मुद्दा उच्च अदालत पाटनमा  विचाराधीन छ। अदालतले बुधबारसम्म निर्वाचन प्रक्रिया रोक्न आदेश जारी गरेको थियो। अध्यक्ष पन्तले परराष्ट्र मन्त्रालयको संयोजनमा मुद्दा फिर्ता लिइने बताए। 
आकांक्षी तीनबीच सामूहिक नेतृत्वमा जाने सहमति भए पनि महाधिवेशनले विधान संशोधन नगरे समस्या पर्ने सरोकारवाला बताउँछन्। ‘विधान पास गराउन हामी ग्यारेन्टी गर्न सक्दैनौं’, पन्तले भने। 

पूर्वअध्यक्ष घले अझै असन्तुष्ट

अध्यक्षका तीन आकांक्षीबीच सहमति भए पनि पूर्वअध्यक्ष शेष घले असन्तुष्ट नै देखिएका छन्। घलेले मंगलबार काठमाडौंमा महाधिवेशन सुरु गरेका छन्। संघमा व्यापक विकृति भएकाले छुट्टै महाधिवेशन गरिएको घलेले बताए। 

‘प्रत्येक दिन फरक छ। भोलि के हुन्छ कसैलाई थाहा हुँदैन’, घलेले भने, ‘तर, राम्रोका लागि कामना गर्नुपर्छ। सबै एकजुट भएर अघि बढौं।’

उनले अध्यक्षमा आचार्यलाई अघि सारेका थिए। आचार्यले अरू प्रत्याशीसँग सहमति गरे पनि घले टसमस भएका छैनन्। उनलाई उपाध्यक्ष सोनाम लामाले साथ दिइरहेका छन्। घलेलाई मनाउन पदाधिकारी क्रियाशील छन्। 

घलेको समूहका प्रवक्ता कृष्ण सन्जेलले महाधिवेशनमा ३ सयभन्दा बढी प्रतिनिधि सामेल भएको दाबी गरे। अर्थमन्त्री जनार्दन शर्मा प्रमुख अतिथि बनेका थिए। घले र आचार्य दुवै जनाले बोलाएका कारण आफू कार्यक्रममा गएको अर्थमन्त्री शर्माले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.