भवन भत्किएपछि चौरमा पठनपाठन
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयका विद्यार्थी चौरमा बसेर पढ्न बाध्य छन् ।म्याग्दीको सबैभन्दा ठूलो दलित वस्ती लुलाङमा रहेको विद्यालयको भवन भत्किएको र जीर्ण बनेका कारण खुल्ला चौरमा पठनपाठन गराइएको हो । विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले दुई कोठे भवन भत्किएको र चार कोठे अर्का भवन जिर्ण बनेकाले पठनपाठनमा समस्या भएको बताए ।
‘गत असोजमा कक्षा ६ र ७ को भवनको पर्खाल भत्किएको थियो,' उनले भने ‘कार्यालय र दुईवटा कक्षा कोठा भएको अर्को भवनको पर्खाल पनि बांगिएकाले जोखिम बढेपछि खुल्ला चौरमा पठनपाठन गराउनु परेको हो ।' भिरालो पाखो सम्माएर फरक फरक ठाउँमा बनाइएको विद्यालयको भवन र खेलमैदान संरक्षणका लागि निर्माण भएको ग्यावियन पर्खाल पनि भत्किएको छ । भत्कने अवस्थाको जीर्ण भवनमा जोखिम, चौरमा धूलो र गर्मीले सताउने गरेको कक्षा ७ की विद्यार्थी प्रतिक्षा रसाईलीले बताइन् ।
‘चर्किएर बांगिएको भवनको पर्खाल कुन बेला भत्किन्छ भन्ने डर छ,'उनले भनिन्,'भवनको जोखिमयुक्त अवस्थाले शैक्षिक वातावरणमा असर पुगेको छ ।' वर्षात हुँदा पठनपाठन बन्द गर्नुपर्ने अवस्था छ । विद्यार्थीका झोला, पुस्तक, कापी भिज्ने गर्छ।' कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा २३५ जना विद्यार्थी छन् । यो आधारभूत तहमा धवलागिरी गाउँपालिकामा सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय हो ।
गत वर्ष तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा दुई कोठे ट्रस्ट र खानेपानी तथा सरसफाईसहितको छात्रामैत्री शौचालय निर्माण भएको थियो । यसबाहेक अन्य चारमध्ये दुई भवन जीर्ण छन् । नयाँ भवन निर्माणका लागि गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाईलगायत निकायमा प्रस्ताव गरिएको प्रअ ठाकुरले वताए ।
सो विद्यालयको ६–८ तह निजी स्रोतबाट सञ्चालन गरिएको छ । प्रवासबाट आउने लाहुरेलाई स्वागत, विवाह, किरिया, छेवार, गुन्यु चोली देखाउने जस्ता संस्कारगत कार्यमा नाचगानका साथै चन्दाबाट निजी स्रोतका शिक्षकको तलब भत्ता जुटाउने गरिएको छ ।
लुलाङका वडा अध्यक्ष गमप्रसाद विकले विद्यालय भवन निर्माणका लागि पहल गर्ने बताए । 'नयाँ भवन निर्माणको आवश्यकता छ,' उनले भने, 'गाउँपालिकामार्फत भवनको समस्या समाधानका लागि पहल गरेको छु ।'