बढ्यो पुनर्कर्जाको ब्याजदर

बढ्यो पुनर्कर्जाको ब्याजदर

काठमाडौं : आर्थिक क्रियाकलाप विस्तारका लागि सहुलियत ब्याजमा उपलब्ध पुनर्कर्जाको ब्याजदर अधिकतम ७ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले कोरोनाका कारण दिँदै आएको सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्था परिवर्तन गरेको हो। यसअघि यस्तो ब्याजदर ५ प्रतिशतसम्म थियो। राष्ट्र बैंकले मंगलबार पुनर्कर्जा कार्यविधि २०७७ लाई चौथो संशोधन गर्दै यस्तो कर्जाको ब्याजदर बढाएको हो। 

निक्षेपको ब्याजदर दोहोरो अंकले बढेपछि कर्जाको ब्याजदरमा समेत दबाब परेको थियो। तर पुनर्कर्जाको ब्याजदर भने कम भएको बैंकले गुनासो गर्दै आएका थिए। राष्ट्र बैंकले विभिन्न क्षेत्रगत आधारमा ३ प्रकारका पुनर्कर्जा फरक–फरक ब्याजदरमा प्रदान गर्दै आएको छ। 

बैंकहरूले बजारमा जतिसुकै ब्याजदर लागू भए पनि लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा ७ प्रतिशत मात्रै ब्याजदर लिनु पर्नेछ। यस्तो पुनर्कर्जाको रकम राष्ट्र बैंकले बैंकहरूलाई ४ प्रतिशत ब्याजमा उपलब्ध गराउँछ। यसबीचको मार्जिन अर्थात् ३ प्रतिशत ब्याजदरबराबरको रकम बैंकले लिन पाउने छन्। 

बैंकले समय–समयमा तोकेका सबै पुनर्कर्जालाई साधारण पुनर्कर्जा मान्ने गरेको छ। यस प्रकृतिमा पर्नेलाई ग्राहकबाट बैंक तथा वित्तीय संस्थाले ७ प्रतिशत मात्रै ब्याजदर लिएर पुनर्कर्जा दिनुपर्नेछ। यसपछि केन्द्रीय बैंकले ५ प्रतिशत मात्रै ब्याजदर लिएर पुनर्कर्जा वितरण गर्ने गर्छ। यसबाट भने बैंकहरूलाई २ प्रतिशतबराबरको ब्याज रकम मात्रै फाइदा हुन्छ। 

यसैगरी, विशेष पुनर्कर्जाअन्तर्गत बैंकले ग्राहकलाई ५ प्रतिशत ब्याजदरमा उपलब्ध गर्नुपर्नेछ। यसपछि केन्द्रीय बैंकले ३ प्रतिशतमा कर्जा दिने गर्छ। यसबाट बैंकले २ प्रतिशत बराबरको ब्याज रकम फाइदा लिन पाउँछन्।

पुनर्कर्जा कार्यविधिले उद्यमी स्वयं कारोबार तथा व्यवसायमा संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रु. १५ लाखसम्मको कर्जालाई ‘लघु, घरेलु तथा साना उद्यम कर्जा’ मानेको छ। कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिएको छ। 

यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम र व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जालाई राखिएको छ। लघु उद्यम र विशेषमा नपरेका र बैंकले समयसमयमा तोकेका सबै पुनर्कर्जालाई साधारण पुनर्कर्जा भनेर कार्यविधिले तोकेको छ। एकमुष्ट प्रदान गर्ने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको मात्र हुने र यस्तो कर्जा नवीकरण 
हुने छैन।

सीमित अवधिका लागि ग्राहक तथा ऋणीबाट असुलउपर गर्नुपर्ने ब्याजदरसमेत तोकी विद्यमान ऋणीलाई यस्तो कर्जा प्रदान गरिन्छ। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई एकमुष्टरूपमा सस्तो ब्याजदरमा राष्ट्र बैंकले प्रदान गरेको कर्जालाई पुनर्कर्जाका रूपमा बुझिन्छ। 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा रु ५ करोड हुनेछ। यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी नहुने प्रावधान छ। 

बैंकले ग्राहकअनुसार मूल्यांकन गरी उपलव्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा रु.२० करोडसम्म छ। तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरूलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाका हकमा जनही ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न सकिने कार्यविधिमा उल्लेख छ। यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन।

कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीका लागि, लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरूलाई मध्यम तथा न्यून प्रभावित क्षेत्रका ऋणीका लागि ६ महिनाको हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.