आगो ओकल्ने ‘चिसो एष्ट्रे’
काठमाडौं : अँ, साँच्चै कवि भुपि शेरचनले चिसो एष्ट्रे कविता किन लेखे होलान् ? सायद उनलाई पनि यो सहरप्रति विरक्ती हुँदो हो। या चारभन्ज्याङभित्र रहेको यो काठमाडौंले उनको सपना खोसी पो दियो कि ? अथवा मुटुभरि आगो ओकल्दै सहर पसेका उनी सबथोक गुमाएर फर्किए कि ?
उनले कवितामा भनेका छन्...
यहाँ जो आउँछन्,
यहाँ जो बस्छन्,
हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विस्वासहरु र सपनाहरु सोहोरेर जान्छन्
यसतो छ यो चारभन्ज्याङको खाल्डो
एउटा चिसो एस्ट्रे जस्तो छ।
चुरोटको तातो धुँवा घुटुक्क निलेर बाँकी रहेको ठुटो थन्क्याउने काममा प्रयोगमा आउँछ एष्ट्रे। कवि भुपि शेरचनले सहरलाई चिसो एष्ट्रे देख्छन्। यहाँ स्वार्थी मानिस छन्। सबै प्राप्त गर्न मात्रै खोज्छन्। लिन खोज्छन्, लुट्न खोज्छन्।
भुपिकै कविताजस्तै छ पहाडी कुनाको गाउँबाट एउटा झोला बोकेर सपनाको सहर पसेको मदनको कथा पनि। गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको फिल्म चिसो एष्ट्रेको दृष्यसँगै मदन अर्थात दिव्यदेवको कथा अघि बढ्छ। मदनसँगै नवीन लम्साल ‘ज्याकी’, निकुन श्रेष्ठ ‘रोनी’, शुशिल राज पाण्डे ‘बिक्कि,, रोबिन तामाङ ‘बबि दाइ’, सुष्टि श्रेष्ठ ‘शालिनता’ को कथालाई बोकेका चिसो एष्ट्रे निकै राम्रो फिल्म हो। दिन्स पाल्पालीको स्क्रिप्ट शक्तिशाली छ। पाल्पालीले आफ्नै शब्दलाई फिल्मका पात्रमाथि प्रभावकारी तरिकाले उतारेका छन्। फिल्मलाई महेसबाबु तिमल्सिना र प्रविन स्याङवोले निर्माण गरेका हुन्।
फिल्म उनी पाल्पाली निर्देशक मात्रै नभएर शक्तिशाली कवि पनि हुन् भन्ने आभास हुन्छ। दर्शकले फिल्ममा भरपुर मनोरन्जनसंगै काठमाडौं खाल्डोभित्रको सुन्दरता नजिकबाट नियाल्छन्। मदन, ज्याकी र रोनीको दैनिकीमा आफ्नै जीन्दगीलाई प्रत्यक्ष अनुभुत गर्छन्। सहरमा आएर आधुनिक हुने मन कसलाई पो लाग्दैन र ? पैसा कमाउने, कार चढ्ने मन कसको नहोला? कहिल्यै परिवर्तन नहुने गाउँको दुखले गर्दा सहर पलायन भएको मदनलाई पनि यस्तै रहर छ। ऊ आधुनिक बन्न, फेसनेबल कपडामा सजिन चाहन्छ। सगरमाथा जस्तै अग्लो छ उसको सपनाको संसार पनि।
क्लवमा गीत गाउने रोनीलाई उत्कृष्ट गीत निकालेर चर्चा कमाउने रहर छ। ऊ चाहन्छ उसको गीतले जताततै तहल्का कमाओस्। भुपी गल्लीमा हल्लाखल्ला गर्ने ज्याकी गल्लीमा एकछत्र राज गर्न चाहन्छ। सहरमा हरेकको बेग्लै सपना छ, रहर छ।
भीडले सहरको सुन्दरता बिगारेकोमा चिन्तित देखिन्छे शालिनता। इन्टलेसन आर्टमा रुची राख्ने ऊ प्राकृतिक रुपमा सुन्दर ठाउँमा क्याफे चलाउँछे। सहरलाई सेता पुतलीको सुन्दरतामा भर्न चाहन्छे। जब मानिसलाई पिरले थिच्छ, दु:खले सताउँछ। भविस्यको चिन्ताले दु:खी बनाउँछ। उसले पुतलीको सुन्दरता र स्वतन्त्रता हेरेर सन्तृष्टी प्राप्त गर्छ भन्ने ठान्छे ऊ। भन्छे, ‘हामीले यो भ्यालीलाई एष्ट्रे बनाइदियौं।’
गाउँबाट आएको सोझो ट्याक्सी चालक मदनलाई भेटाएकी उसले मदनमा हरेक दिन देखापर्ने फरक फरक परिवर्तनले छक्क पर्छे। मदनको व्यवहारमा शंका लागेपछि ऊ सोध्छे, 'तिमीले ड्रक्स गर्छो हो ? यदि तिमीले मलाई फेरि भेट्न आयौ भने मदन, म आशा गर्छु त्यही पुरानो मदन भेट होस्।'
मदन जीवन चलाउन ट्याक्सी चलाउँछ। सहरको रंगीन तालमा मिसिन चाहन्छ। शालीनतासँग अव्यक्त प्रेममा परेको छ। अङ्गेजी किताब पढ्छ। संगीत सुन्छ। मुड चलेको बेलामा कविता कोर्छ। फिल्ममा गाउँबाट सहर पसेको ठिटोले आफ्ना सपना पूरा गर्ने ध्याउन्नमा चुकाउनुपर्ने मुल्यलाई चित्रण गरिएको छ। फिल्मका दृष्यमा धेरैपटक दर्शकले आफ्नै जिन्दगी भेट्छन्। सपना देखेर सहर पसेका तमाम युवाहरुको यर्थाथ हो चिसो एष्ट्रे।
कविताको पङ्क्तिसँगै सहरको भीडमा हिंडिरहेको मदन पटक-पटक अफ्ठ्यारोसँग लड्छ, जुध्छ र ठोक्कीन्छ। सहरको भीडमा आत्मिय बनेका ज्याकी, मदन र रोनीको मित्रता अन्तिमसम्म टिक्न सक्दैन। शालीनतासँगको प्रेम र आत्मिक अनुभुतिमा कटिबद्ध मदन, ज्याकी र रोनीको व्यवहारले रन्थनिन्छ। अन्तत तिनै जनाबीच झगडा पर्छ। ज्याकी र मदनको द्वन्द्वसँगै फिल्म सकिन्छ।
चिसो एष्ट्रेमा विषयवस्तु विशेष छैन। कलाकारको अभिनय, निर्देशक पाल्पालीको निर्देशन र स्क्रिप्टले यसलाई विशेष बनाएको छ। फिल्मलाई पोयट्रिक शैलीमा ढालेर मिठास भर्नु निर्देशकीय कुशलता हो। फिल्मको प्रत्येक संवादले दर्शक तान्छ। प्रत्येक शब्द र संवादमा फिल्म लेखकको मेहनत झल्किन्छ। दिव्यदेवको बेजोड स्वरमा पृष्ठभुमिमा घन्किने कविताको भाव र मनोवाद फिल्मको सशक्त पक्ष हो।
क्यामराम्यानले यो फिल्ममा निकै कुशलता देखाएका छन्। स-साना लाग्ने गल्ली र चौताराहरुलाई सुन्दर तरिकाले कैद गरेका छन्। हामीले हरेक दिन हिडने, कुद्ने र विरुप लाग्ने काठमाण्डौका बाटो घाटो र गल्लीहरु फिममा निकै सुन्दर देखिन्छ। कीर्तिपुरको बाघभैरव डाँडो होस् या बौद्ध स्तुपा परिसर निकै सुन्दर देखिन्छ।
चिसो एष्ट्रेका दृष्यमा समावेश रंगको समायोजन विशेष छ। पुराना स्मरणलाई श्यामसेत रंगमा उतारिएको छ भने आउने नयाँ सपनालाई रंगीन दृष्यमा सजाइएको छ। पृष्ठभुमिमा बजिरहने आवाजमा मिठास छ।
फिल्मको अर्को विशेषता भनेको कलाकारको दमदार अभिनय हो। सबै कलाकार आफ्नो भुमिकामा परिपक्क देखिन्छ। पैसा जित्नको लागि क्यासिनो छिरेका मदन, ज्याकी र रोनी पेशवर जस्तै लाग्छन्। भुमिकामा घुल्न सक्नु र दुरुस्तै अभिनय गर्न सक्नु कलाकारको विशेष खुवि हो। भुपि गल्लिको डन बनेको ज्याकीको अभिनय तारिफयोग्य छ। सामान्य गाउँले ठिटो देखिने दिव्यदेवले मदनको भुमिकामा न्याय गरेको छ। शालीनताको अभिनय र संवादमा भने केही अपुर्णता झल्किन्छ। कही कतै केही छुटेजस्तो लाग्छ।
फिल्मको कथा पूर्ण हुँदाहुँदै पनि केही छुटेजस्तो देखिन्छ। फिल्मभर नै प्रयोगमा आइरहने भुपि गल्लीको पहिचान प्रस्ट छैन। गल्लीहरु नै अस्पष्ट छन्। सहरमा संघर्ष गरिरहेका युवाहरुले पैसा कहाँबाट कमाउँछन् प्रस्ट छैन। शालीनताले सहरभरि उडाउन चाहने सेता पुतली र चिसो एष्ट्रेबीचको सम्वन्ध अस्पष्ट छ। पटक-पटक द्वन्द्व भैरहेने ज्याकी र विक्कीबीचको झगडाको मुख्य कारण नै बुझ्न सकिंदैन। उनीहरु एकअर्कालाई देख्नासाथ किन झगडा गर्छन् ? कमजोरी भएर पनि कलाकारको जोडदार अभिनयले फिल्म राम्रो बनेको छ।