न्याउलीको कथामा समाज
समस्या नै समस्याले जेलिएकी न्याउलीको कथा। गरिबीको कथा। जीवनको गुजारा कसरी गर्ने र परिवार पाल्नेबाहेक अन्य कुनै सपना नभएकी एउटी अबला नारीको कथा। गाउँदेखि सहरसम्म, सहरदेखि पराई मुलुकसम्म पटकपटक उसले भोगेको पीडाको कथा। पटकपटक तन र मन लुटिएको कथा। चेतनाथ आचार्यको उपन्यास रुइबाभित्रको विषयवस्तु हो यो। यसले मूलतः धादिङको अत्यन्त दुर्गम गाउँ पाबाङकी तामाङ समुदायकी निर्दोष चेली ‘न्याउली’को कथावस्तु बोकेको छ।
लोग्ने र बाबुको मृत्यु अनि परिवार र सन्तानसँग भएको मनै रुवाउने बिछोडको कथा। अज्ञानता र परिबन्धले जेल परेको कथा। मुलुकबाट टाढा चीनमा व्यतित जेल जीवनको कथा। समग्रमा जीवन संघर्षको कथा। वास्तवमा गरिबी, अभाव र दुःखमा पिल्सिएका सोझा र सरल मानिसहरू कसरी माफियाको चंगुलमा पर्छन् ? उनीहरू कसरी पटकपटक लुटिन्छन् र घरबार गुम्छ भन्ने जस्ता घटनाले कुदिएको कथा। समाजमा बहुसंख्यक नेपाली नागरिकले भोगिरहेको सबैभन्दा ठूलो समस्या भन्नु नै गरिबी, अभाव र बेरोजगारी हो। यिनै कारणले पनि ज्युनका लागि ठूलो दुःख र संघर्ष गर्नुपर्ने अवस्था उनीहरूको छ।
थोरै पैसाको लोभमा धर्म परिवर्तन गरेका उदाहरण पनि पर्याप्त छन् समाजमा। स्वार्थी समाजमा उपन्यासभित्र अनगिन्ती सेतेजस्ता पात्र पनि छन्।
अझ भनौं, सानोतिनो आर्थिक लोभका कारणबाट ठूलाठूला दुर्दशाहरू निम्तिएका उदाहरण पनि प्रशस्त भेटिन्छन्।अर्कोतर्फ विदेश गएपछि पैसै–पैसा फल्छ भन्ने सोच पनि नमिठो गरी जकडिएको छ हाम्रो समाजमा। वास्तवमा अभावमुक्त जीवन जिउने लालसा, परिवार पाल्ने चटारो अनि सन्तानलाई उचित शिक्षा दिने अभिलाषा धेरैको हुन्छ। यिनै एकमुष्ट समस्याका कारण श्रम गर्ने हातहरू बिदेसिएका छन्। सोही उद्देश्यपूर्तिका लागि मानिस ऋणमा मात्र डुबेका छैनन्, अपराध र सामाजिक बिखण्डनमा समेत नमिठो गरी फसेका छन्। यो उपन्यासकी मुख्य पात्र न्याउलीको कथामा जस्तै समस्यामा जेलिएको छ।
थोरै पैसाको लोभमा धर्म परिवर्तन गरेका उदाहरण पनि पर्याप्त छन् समाजमा। समाज अत्यन्त स्वार्थी छ र त्यही स्वार्थी समाजमा यो उपन्यासभित्र चित्रित अनगिन्ती सेतेजस्ता पात्रहरू पनि छन्। देखासिखी अनि हैसियतभन्दा माथि गएर आफूलाई प्रस्तुत गर्ने परिपाटी अर्को एउटा सामाजिक विकृति हो। त्यस्तै कयौं राक्षसी स्वभावका पनि यहीँ छन्। स्थानीय निकायहरूसमेत सोझा र निमुखाहरूका लागि सहयोगी बन्दैनन्। सानोतिनो कामका लागि समेत घुस दिनुपर्ने अवस्था छ। उनीहरू समाजका टाठाबाठाबाटै लुटिन्छन्। सपनाहरू पनि तिनै सेते (दलाली) जस्ता पात्रले देखाउँछन्, न्याउलीको पोइ दोर्जेलाई जस्तै। दोर्जे त्यही अभागी पात्र हो, जो विदेश त गयो तर न उसले परिवारबाट गरिबी मुक्त गर्ने सपनामै सफलता पायो, न त मृत्युपछि बाकसमै भए पनि मुलुक फर्किएर आफ्नै माटोमा समाहित हुन पायो।
वास्तवमा दोर्जे एउटा प्रतिनिधि पात्र मात्र हो, समाजमा त्यस्ता कैयौं दोर्जेहरू होलान् जसको विदेशमा गुमनाम मृत्यु भएको छ। जसको कुनै लेखाजोखा छैन। यो त भयो उपन्यासभित्र प्रस्तुत सामाजिक पक्षको पाटो। अर्को कोणबाट भन्दा रुइबा बिल्कुल आत्मपरक छ। कथा संस्मरणात्मक शैलीमा वाचन गरिएको छ। कथाको उठान पनि निकै आकर्षक छ। लेखन सरल छ। जोसुकै पाठकले सजिलै बुझ्न सक्छ।
मूल पात्र र परिवेश तामाङ समुदाय वरिपरि घुमे पनि यो एक नेपाली समाज, संस्कृति र परम्पराको प्रतिनिधि कथा हो। विशेषगरी यो उपन्यासमा पर्वतीय संस्कृति, संस्कार, स्थानीय लवज र परिवेशका कुरा धेरै छन्। रुढिवादी परम्पराको चर्चा छ। हिमाली भेगमा प्रचलित सिन्डे र सोक्पाका कथाहरू पनि छन्। पढ्दा रसिलो लाग्छ।
कथा मिठा शब्दहरूले बुनिएको छ। प्रतीक र अलंकारहरू छन्। मिठा बिम्ब र प्रतिबिम्बहरूको संयोजनले कथालाई रसिलो बनाएको छ। वाक्यहरू खादिँला छन्। कलात्मक प्रस्तुतिले पाठकको मन जित्छ। अझ भनौं, जीवन र जगत्सँग गासिएका बिम्बहरूले पाठकको ध्यान पनि कथासँगै बगाउँछ। फूल र प्रकृतिसँग मात्र नभएर, माटो, पानी, वनस्पति हरेकसँग जीवनको व्याख्या गरिएको छ।
प्रकृतिलाई जीवनका मर्महरूसँग गाँसिएका छन्। कतै युवतीको मनोविज्ञान छ त कतै यौन मनोविज्ञानका कुरा छन्। कतै वैज्ञानिकका कुरा छन् त कतै समाज र संस्कृतिका। सिलसिलाहरू आकर्षक तरिकाले जोडिएका छन्। प्रत्येक अध्याय ओझपूर्ण छन्। जीवन, समाज र परिवेशको फरकफरक रूपमा व्याख्या गरिएको छ। जसले केही नै केही सन्देश दिएकै छ।
जे भए पनि कथाले कमी, कमजोरीलाई राम्रैसँग छोपेको छ। सानो सपना देख्ने पात्रको अपुरो कथा हो यो। जसले पलपल मार्मिक बनाउँछ। हृदयलाई पगाल्छ र बारम्बार आँसु झारिदिन्छ।
उपन्यासले दुई फरक मुलुकबीच भाषा र भूगोल नमिले पनि न्याउलीको सहृदयी भावनाले सम्बन्धको सेतुलाई झन् फरक बनाएको चित्रण गरेको छ। चिनियाँ नागरिकले देखाएको भूमिका पनि यहाँ मनन्योग्य छ। जेलको व्यवहार, वातावरण र पात्रहरू निकै प्रशंसनीय छन्। मानवीय संवेदनाका लागि पनि नेपाली चेली न्याउली उदाहरणीय बनेकी छ। उपन्यासमा ऊ आदर्श, परिव र विवेकशील नारी झैं प्रतीत हुन्छे। यसो हुनुमा उसको दुःखदायी भोगाइ, अनुभव, निस्वार्थपन, सहयोगी भावना, असल व्यवहार र सोच नै प्रमुख कारण हुन्। यसले कठिन समयमा पनि मानिसलाई नहार्न प्रेरित गर्छ। नेपालीहरू इमान्दार, अनुशासित र सहयोगी छन् भन्ने चिनियाँहरूको बुझाइलाई न्याउलीले पनि प्रमाणित गरेकी छ।
उपन्यासले चिनियाँ संस्कृतिलाई पनि जोडिदिएको छ। चिनियाँ चाड र पर्वलाई पनि नेपाली परम्परासँग भावनात्मक रूपमा गाँसिदिएको छ। वास्तवमा चिनियाँ संस्कृति, परम्परा र व्यवहारलाई लेखकले मिठो र रसिलो तरिकाले केलाएका छन्। न्याउलीसँगै पाठकले पनि चिनियाँ पर्व मनाउँछन्, संस्कृति र परम्परा बुझ्ने मौका पाउँछन्।
उपन्यासमा खड्किने कमजोरी पनि छन्। ठाउँठाउँमा अतिरञ्जित मान्यताहरू आउँछन्। ज्यादा काल्पनिकताका कुरा पनि छन्। कतैकतै उपन्यासको कथावस्तुमा फिल्मी शैली पनि हाबी भएझैं लाग्छ। रुढिवादी मान्यताहरू कतै सत्य नै हुन् कि जस्तो लाग्छ। समाजलाई अलि बढी नै नकारात्मक रूपमा चित्रण गरिएको हो कि ? जस्तो पनि भान हुन्छ। पात्रहरू नराम्रा ज्यादा छन्। केही पात्रबाहेक सहरी जनजीवनका सबैजसो पात्र खराब नै देखिन्छन्।
आक्कलझुक्कल पाएको खुसीबाहेक उपन्यासकी मुख्य पात्र न्याउलीले स्वर्णिम दिन कहिल्यै महसुस गरेको भेटिन्न। शब्दहरूको संयोजन कतैकतै खड्किएको छ। भाषा संरचना पनि कतै कतै चिप्लिएको छ। कुनैकुनै ठाउँमा कथाको प्रसंगले पनि फड्को मारेको छ। कतिपय शब्द बुझ्न सकिँदैनन्।
जे भए पनि कथाले कमी, कमजोरीलाई राम्रैसँग छोपेको छ। सानो सपना देख्ने पात्रको अपुरो कथा हो यो। जसले पलपल मार्मिक बनाउँछ। हृदयलाई पगाल्छ र बारम्बार आँसु झारिदिन्छ।