पर्यटन दूत बनेर देश विकास गरौं : राष्ट्रपति

पर्यटन दूत बनेर देश विकास गरौं : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई ‘पर्यटन दूत’ बनेर मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आह्वान गरेकी छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गैरआवासीय नेपालीलाई पर्यटन दूत बनेर विश्वमा नेपाललाई चिनाउन आग्रह गरिन्। ‘जति विदेशी पर्यटक ल्याउन सकियो, त्यति आर्थिक विकास सम्भव हुन्छ’, उनले भनिन्, ‘सांस्कृतिक दूतका रूपमा काम गर्न सके पर्यटनबाटै आर्थिक लाभ लिन सकिन्छ।’ 

प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रूपमा नेपालले प्रशस्तै संभावना बोकेकाले पर्यटनकै माध्यमबाट मुुलुकको आर्थिक विकास गर्न सकिने राष्ट्रपतिको भनाइ थियो। उनले विदेशमा बस्ने नेपालीले नेपालको पर्यटनबारे चर्चा गर्न सके मात्रै पनि पर्यटक भित्र्याउन सकिने बताइन्। विदेशका नेपालीले कमाएको ज्ञान, सीप र पुँजीको प्रयोग गर्दै आर्थिक विकास गरिने राष्ट्रपतिको भनाइ थियो। भनिन्, ‘विश्वको जुनसुकै कुनामा बसे पनि नेपालको समृद्धिका लागि कुनै कुराले छेक्दैन।’ मातृभूमिको अपेक्षाअनुरूप विदेशमा बस्ने नेपालीहरूलाई सहकार्यका लागि आह्वान पनि गरिन्। विदेशमा बसेर पनि नेपालको आर्थिक विकासमा ध्यान दिन सकेकोमा एनआरएनएको उच्च मूल्यांकन गरिने उनले बताइन्। एनआरएनएको माग सम्बोधन गर्न नागरिकतासम्बन्धी कानुन पनि छिटो बन्ने उनको विश्वास थियो। 

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताए। नेपालको उत्पादन तथा रोजगारी सिर्जनामा गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने उनको तर्क थियो। ‘नेपालका लागि नेपाली’ अभियान सार्थक बनाउन उनले गैरआवासीय नेपालीलाई आग्रह गर्दै सरकारको सधैं साथ र समर्थन रहने बताए। एनआरएनएहरूको सम्पत्ति र व्यवसायको सुरक्षाका लागि सरकार गम्भीर रहेकाले नागरिकतासम्बन्धी कानुन पनि छिट्टै बन्ने गृहमन्त्री खाँणको प्रतिबद्धता थियो। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडपछि अर्थतन्त्र विस्तारै उठ्न थालेको भन्दै अर्थतन्त्र चलायमान बनाउन गैरआवासीयहरूको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए। विदेशमा छरिएर रहेका ज्ञान र पुँजी स्वदेश ल्याउन सके आर्थिक विकास हुने भनाइ थियो। एनआरएनहरूसँगको सहकार्यमार्फत आर्थिक रूपान्तरण गर्न सकिने उनको भनाइ थियो। 

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संकल्प लिएमा छोटो समयमा नै देश समृद्ध बनाउन सकिने बताए । नेपाल बनाउने सौभाग्य मिलेको उनको भनाइ छ । भने, ‘आयात होइन, निर्यात गर्न सकिने अवस्थामा नेपाललाई पुर्‍याउनुपर्छ ।’ नेपालमा मात्र होइन, विदेशमा समेत लगानी गर्न सक्ने हैसियत नेपालले बनाउन सक्ने उनको भनाइ थियो । संघका पूर्वअध्यक्ष जीवा लामिछानेले एनआरएनए ठूलो साझा चौतारी बन्न पुगेको बताए । संसारमा रहेका सम्पूर्ण नेपालीलाई जोड्दै नसोचेको प्रगति भएको उनले बताए । व्यक्तिगत मात्र नभई सामूहिक लगानीका साथै परोपकारीदेखि नाफा कमाउने क्षेत्रमा एनआरएनको लगानी भएको उनले बताए । 

देशप्रति माया उस्तै रहेको भन्दै लामिछानेले नेपालको समृद्धिको पथमा सधैं क्रियाशील हुने बताए । ‘मातृभूमिको समुन्नतिमा गहन भूमिका हुनैपर्छ’, उनले भने, ‘प्रतिबद्धता जाहेर गरिएका विषयमा हामी हर्षित हुनुपर्छ ।’ पूर्वअध्यक्षहरूलाई बढी अधिकार दिइएकाले एनआरएनएमा विवाद आएको भन्दै उनीहरूको अधिकार सीमित गर्नुपर्ने उनले बताए । ‘संस्थाको गरिमा पुनःस्थापित गर्न सक्नुहोस् । केही समझदारी गरेर चोइटिएर गएका साथीहरूलाई भावनात्मक रूपमा जोडेर ल्याउनु हुनेमा आशावादी छु’, उनले भने ।

पूर्वसंरक्षक रामप्रसाद थापाले अहिलेसम्म नागरिकता ऐन नआएकाले असजिलो परेको बताए । ‘विदेशमा बस्ने नेपाली अन्योलमा परेका छौं’, उनले भने, ‘विदेशबाट आउने नेपालीलाई भिसाको झन्झट परेको छ । भिसा नचाहिने व्यवस्था गर्न आवश्यक छ ।’ पूर्वअध्यक्ष भवन भट्टले एनआरएनएमा विश्वासको कमी सिर्जना भइरहेको बताए । 

बहुपदमा नेतृत्व

गैरआवासीय नेपाली संघ (एनआरएनए)को शनिबारदेखि सुरु भएको १० औं महाधिवेशनले बहुपद सिर्जना गरेको छ । एनआरएनएमा अब तीन अध्यक्ष हुने छन् । सहमति भएसँगै ६ महिना लामो विवाद अन्त्य गर्दै तीन अध्यक्ष हुने गरी विधान पारित भएको हो । 

गैरआवासीय नेपाली संघ ऐनको धारा २७ निश्क्रिय पारी बहुपदको सिर्जना गरिएको र यो कार्यकालपश्चात् स्वतः खारेज हुने अध्यक्ष कुमार पन्तले बताए । २०२१–२०२३ अक्टुबरका लागि सिर्जना गरिएका सबै पदहरू उक्त कार्यकाल समाप्त भएपछि भविष्यमा नजिर नरहने गरी स्वतः खारेज हुने अध्यक्ष पन्तले बताए । अब संघमा उपाध्यक्ष ८, महिला उपाध्यक्ष २, युवा उपाध्यक्ष २, महासचिव २, सचिव ८ जना हुने छन् । त्यस्तै महिला सचिव २, कोषाध्यक्ष २, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष २, प्रवक्ता २, महिला संयोजक २ र युवा संयोजक २ जना रहनेगरी अध्यक्षका प्रत्यासीहरूले सहमति गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.