द्वन्द्वकालमा विस्थापित बिच्छ्याँ प्रहरी चौकी २२ पछि पुनर्स्थापना
बाजुरा : हिमाली गाउँपालिका १ नेटामा प्रहरी चौकी पुनर्स्थापना गरिएको छ । तत्कालिन माओवादी द्वन्दवको समयमा विस्थापित बिच्छयाँ प्रहरी चौकी २२ वर्षपछि आइतबार पुनर्स्थापना गरिएको हो । २२ वर्षअघि बिच्छयाँबाट हिमाली गाउँपालिका ५ कवाडीमा सरेपछि साविकको बिच्छयाँ गाविस प्रहरी चौकीबिहीन भएको थियो ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले उद्घाटन गरेसँगै बिच्छ्याँ प्रहरी चौकीबाट सेवा सुचारु गरिएको जिल्ला प्रहरी कर्यालयका प्रमुख प्रहरी नयब उपरीक्षक चतर्भुज ओझाले बताए । गाउँमा प्रहरी चौकी पुर्नस्थापना भएपछि खुशी व्यक्त गर्दै स्थानीय दानसिंह रोकाय भने,' २२ वर्षपछि खोला फर्कन्छ भन्थे, हो रहेछ,चौकी पनि आयो । '
बिच्छ्याँ जनताको शान्ति र सुरक्षाका लागि राज्यको उपस्थिति देखिएको महशुस भएको बताए । गाउँमा प्रहरी चौकी आएपछि त्यस क्षेत्रमा हुने विभिन्न अपराधिक गतिविधि, चोरी शिकारीका घटनाहरु नियन्त्रण हुनेमा विश्वस्त रहेको स्थानीय चिरञ्जिबि रोकायाले बताए ।
साबिको बिच्छ्याँ गाविस कर्णाली प्रदेशको हुम्ला जिल्लाहुँदै चाइनासँग नजिक पर्छ । बिच्छाया सम्पदाका हिसाबले अथाह सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्रमा सुरक्षा नहुँदा जडीबुट्टी चौरी पैठारी हुने गरेको थियो । बिच्छाया प्रहरी चौकी स्थापनापछि सो क्षेत्रका सम्पदा र स्थानीय नागरिकको सुरक्षा हुने हिमाली गाउँपालिकाका कार्यकारी राजबहादुर भण्डारीले बताए ।
बिच्छ्याँ प्रहरी चौकीमा असइ प्रेम चौधरीको नेतृत्वमा ७ जना प्रहरीले सुरक्षा दिने प्रहरी प्रमुख चतुर्भुज ओझाले बताए ।