स्थानीय तह निर्वाचन : साना हतियारले सुरक्षा चुनौती
राजविराज : स्थानीय तहको चुनाव नजिकिएसँगै साना हतियारहरुको बिगबिगी देखिन थालेको छ। भारतसँगको खुला सीमानाका कारण नेपाल भित्रिने साना हतियारहरुले सुरक्षा चुनौति खडा हुने आंकलन गरिएकै बेला सोमबार सप्तरीबाट पेस्तोल बरामद भएको छ।
सप्तरीको राजगढ गाउँपालिका-६ बरदाहीस्थित आँपको बगैचाको बाटो हुँदै भारतबाट नेपालतर्फ ल्याइएको कटुवा पेस्तोल खेतमा फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल ६ नम्बर गण हेड क्वाटर सप्तरीका सूचना अधिकारी सशस्त्र डीएसपी श्याममणि ढकालका अनुसार सशस्त्र असई गंगाराम मण्डलको कमाण्डमा रहेको ५ जनाको टोलीलाई देखेपछि उनिहरुले पेस्तोल भएको झोला फालेर भागेका हुन्।
दुई दिन अघिमात्र जिल्ला प्रशासन कार्यालय सप्तरीले निर्वाचनपश्चात फिर्ता पाउने गरी चैत मसान्तभित्र अनुमति लिइएका हतियार बुझाउन सूचना जारी गरेको थियो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष भयरहित र विश्वनीय बनाउन हतियार मागिएको सिडिओ जनार्दन गौतमले बताए।
चुनावका निम्ति मुख्य सुरक्षा चुनौती साना हतियारको विगविगीका कारण उत्पन्न हुनसक्ने प्रहरी अधिकारीहरुले बताएका छन्। चुनाव अवधिका लागि मागिएका अनुमतिप्राप्त हतियार नबुझाउँदा र खुला सीमाका कारण भित्रिन सक्ने साना हतियारले सुरक्षा चुनौती उत्पन्न हुने सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले बताए।
साना हतियारलाई अवैध घोषणा गरेको सरकारले चुनावका बेला सुरक्षाको ग्यारेण्टी गर्न विशेष चेकजाँच अभियान चलाएको छ। सशस्त्र प्रहरीका अनुसार चुनावको पूर्वसन्ध्यामा पुराना हतियार एक ठाउँबाट अर्को ठाउँमा ओसारिने र नयाँ हतियार भारतबाट भित्रिने गरेको छ। सीमापारीबाट सस्तोमा हतियार किन्ने र अवैधरुपमा यता भित्र्याउने गिरोहहरु चुनामा सक्रिय हुने गरेका छन्।
चुनावको सुरक्षालाई ध्यान दिदैँ लाइसेन्स प्राप्त हतियार बुझाउन दिइएको चैत मसान्तको समयसीमाभित्र सम्बन्धित व्यक्तिहरुले नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउने सिडिओ गौतमले विश्वास लिएका छन्। उनको भनाइ छ- ‘सूचनालाई बेवास्ता गरी तोकिएको अवधिमा हतियार नबुझाउनेलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याइने छ।’
चुनावका दौरान कतिपय दलहरू र दल आबद्ध व्यक्तिहरु बल प्रयोगमा उत्रने गरेका छन्। चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकै भोलिपल्ट २०७० असोज १८ गते गोली प्रहारबाट घाइते बाराका नेकपा (एमाले)का उम्मेदवार महमुद आलमको असोज २४ गते ज्यान गएको थियो।
सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता जनाएर सूचना जारी गरेपनि चुनावका बेला साना हतियारको बिगबिगी बढन सक्ने र त्यस्ले चुनावि सुरक्षामा चुनौती थपिने जानकारहरु बताउँछन्।