विश्वविद्यालय यात्राका आरोह–अवरोह
२०४८ सालमा स्थापित काठमाडौं विश्वविद्यालयले ३०औं वार्षिकोत्सव मनायो। धुलिखेलस्थित आफ्नै खेलकुद मैदानमा रंगीचंगी पाल हालेर तीसौं वार्षिकोत्सव मनाइएको थियो। आमन्त्रित प्रमुख अतिथि लगायत अन्य सम्मानित व्यक्तित्वको सहभागिताले त्यहाँको माहोल निकै रोचक र रमाइलो बनेको थियो। त्यसमा पनि विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको सम्बोधन ज्यादै उत्कृष्ट र मार्मिक लाग्यो। उहाँको सम्बोधनले उहाँको शालीन व्यक्तित्वसमेत झल्काएको थियो।
समारोहमा पंक्तिकार मेडिकल फ्याकल्टीका डिन डा. राजेन्द्र कोजु र संस्थापक रजिस्टार डा. सिताराम अधिकारीसँगै थियो। अधिकारीले सोही समयमा मलाई औंल्याएर विश्वविद्यालय स्थापनाको प्रारम्भमा आफूहरूलाई सहयोग गर्ने उहाँ पनि हो भनेर कार्यक्रममा बोल्नुभयो। उहाँले भन्नुभयो, ‘स्थापना गराउन र प्रारम्भिक सञ्चालनको कोष संकलनमा समेत दाहालजीको सहयोग रह्यो।’ यसो भन्दै गर्दा गौरवान्वित महसुस हुनु स्वाभाविक पनि हो। प्रत्यक्ष होस् वा परोक्ष, साथ सहयोग गर्नेको मूल्यांकन हुँदोरहेछ भन्ने उदाहरण पाएँ।
२०४८ सालमा विश्वविद्यालय स्थापनाका समयमा स्थापनाका लागि सहयोग गरेपछि काठमाडौं विश्वविद्यालयसँग लगभग सम्बन्ध टुटेसरहको अवस्था थियो। उक्त सम्बन्ध ३० वर्षपछि पुनः जोडिन पुग्यो। कार्यक्रममा रहँदै गर्दा विश्वविद्यालयका उतारचढावको आफैंमा गहन विश्लेषण गरें। स्थापनाकालका आरोहअवरोहबीच गरेका काम सम्झना बनेर दिमागभरि लडिबुडी गरिरहे। २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि लामो समयसम्म नेपालमा एउटा मात्र विश्वविद्यालय सञ्चालनमा रहँदै आएको थियो। त्यसको धेरै वर्षपछि अर्थात् २०४३ सालमा संस्कृत विश्वविद्यालयको स्थापना भयो। हिन्दू राज्यमा संस्कृत विश्वविद्यालयको आवश्यक छ भनेर हिन्दूहरूको बलजोडले उक्त विश्वविद्यालय स्थापना गरियो। तर, यो विश्वविद्यालय संस्कृत पठनपाठनमा मात्र सीमित हुने भएकाले यसले समग्र शिक्षालाई समेट्न सकेन।
उता त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको चाप धान्न सक्ने स्थिति पनि थिएन। एउटै विश्वविद्यालयले शैक्षिक प्रशासन सञ्चालन गर्न सम्भव थिएन। विश्वविद्यालय विश्वविद्यालयको रूपमा सञ्चालन हुन नसक्दै गएको अवस्था थियो। यी सबै कुरालाई मध्यनजर राख्दै अमेरिकाको उच्च शिक्षा अध्ययन र पिएचडीसम्म गर्नुभएका शिक्षा शास्त्रका ज्ञाता डा. त्रैलोक्यनाथ उप्रेतीले अर्को विश्वविद्यालयको महसुस गर्नुभयो। उहाँसँग शिक्षा प्रशासन र शिक्षा विज्ञ दुवैको लामो अनुभव छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवं फ्रान्सका लागि नेपाली राजदूत उहाँ युनेस्कोमा समेत काम गर्दै आउनु भएको थियो। २०४७ सालको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको उपाध्यक्ष पनि हुनुभएको थियो उहाँ। त्यसैले पनि राजनीतिक परिवर्तनसँगै शिक्षा परिवर्तनको आवश्यकताको परिपूर्ति गर्न त्यसको खाका तयार गर्ने जिम्मा पाउनु भएको थियो। उहाँले विश्वविद्यालयलाई स्थापना गर्न सक्ने व्यक्तिलाई अगाडि राखेर काम गराउनुपर्छ भनेर विचार प्रस्तुत गर्नु भयो। उहाँले त्यो कुरा सायद पहिलो पटक मलाई नै बताउनु भएको थियो।
यस विषयलाई हामीले त्यस बखत काठमाडौंका दिग्गज विद्धान् पूर्वउपकुलपति तथा प्राध्यापकहरूका बीचमा राख्यौं। यो विषयमा बहस र छलफल गर्दै जाँदा त्यस बखत शिक्षा आयोगमा पनि सदस्य रहेका प्राध्यापक डा. सुरेशराज शर्मालाई चयन गरियो। सबै पक्षलाई मिलाउन सक्ने र गर्न सक्ने एक मात्र त्यस्तो व्यक्तित्व हुन सक्छ भनेर शर्मालाई जिम्मेवारी दिने सन्दर्भ चलेको थियो। जो संस्थापक उपकुलपति भएर काठमाडौं विश्वविद्यालय स्थापना गर्न सञ्चालन गर्न र निश्चित उचाइमा पुर्याएर विदा हुन सफल हुनुभयो।
वार्षिकोत्सव समारोहमा भावुक हुँदै गर्दा यी सबै कुरा मेरो दिमागमा सम्झना स्वरूप खेलिरहेका थिए। विश्वविद्यालयको ऐन जुन किसिमबाट संसद्बाट ल्याइयो। त्यसपछि विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि जमिनको खोजी कार्य सुरु भयो। त्यसलाई चाहिने पैसाका लागि दाताको खोजी गर्न अग्रसर हुँदै गर्दा रणबहादुर शाहले एक वर्षका लागि लाजिम्पाटमा आफ्नै घरमा विश्वविद्यालयको कार्यालय राखेर सञ्चालन गर्न सहयोग गर्नुभयो। त्यसपछि मोहनगोपाल खेतान, भुवनेश्वरी सत्याल लगायतका दाताहरू अग्रसर भएर सहयोग गर्न सुरु गर्नुभयो।
विश्वविद्यालय स्थापना गर्न जति गाह्रो छ, त्यो भन्दा पनि गाह्रो सञ्चालन गर्न छ। गुणस्तरीय शिक्षा प्रदान गर्दै देश र समाजको आवश्यकतालाई परिपूर्ति गर्नु झनै कठिन छ।
त्यस्तै स्वदेशी विदेशी अन्य दाता पनि अग्रसर हुनुभयो। त्यसै बखत मैले पनि फ्याकल्टी अफ एजुकेसन सञ्चालन गर्न तथा गुणस्तरीय शिक्षा उत्पादन गर्ने सिलसिलामा पहिलो किस्तामा नै ८० लाख रुपैयाँ उठाउन सहयोग गरेको थिएँ। दाताहरू खोज्ने क्रममा पनि सक्दो सहयोग गरेको थिएँ। त्यसमा अग्रसर भएँ र समन्वय पनि गरेको थिएँ।
त्यसबखत लिटिल एन्जेलका प्राध्यापक उमेश श्रेष्ठ, ग्यालेक्सी स्कुलका प्रिन्सिपल गीता राणा, भानुभक्त स्कुलका प्रिन्सिपल राजकुमार ठकुरी, जेम्स स्कुल, दार्जे स्कुल, भीएस निकेतन लगायतका प्रिन्सिपलहरूले विद्यालयको तर्फबाट उपलब्ध गराउने रकमको अंकसहित प्रतिवद्धता जनाउनुभयो। पहिलो किस्ता स्वरूप दिने क्रममा ८० लाख रुपैयाँ उठ्यो। त्यो रकम उठेको देख्दा विश्वविद्यालय पदाधिकारी र हामी निकै उत्साहित र खुसी भएका थियौं। सोही अवसरमा त्रिभुवन विश्वविद्यालयको सिन्धुपाल्चोकस्थित भवनमा प्रारम्भिक चरणमा केही काम भए। जहाँका निजी तथा आवासीय विद्यालयका शिक्षकलाई पठनपाठन शैली र गुणस्तरीय शिक्षा प्रदानका लागि तालिमसम्मका कुराहरू भए।
यसरी रणबहादुर शाहको घरमा कार्यालय रहँदा मैले पनि निस्वार्थ रूपमा विश्वविद्यालय सञ्चालन गर्न मद्धत पुर्याएको थिएँ। त्यसअघि डा. त्रैलोक्यनाथ उप्रेतीलाई शिक्षा आयोग बनाउन र त्यसले गर्ने काम कारबाहीमा मद्धत पुर्याउन नीति तथा आवासीय उपसमूहको संयोजक भएर शिक्षा आयोगलाई सहयोग गर्नमा पनि कुनै न कुनै रूपमा सहयोग गरेकै थिएँ। त्यसपछि शिक्षा आयोगको प्रतिवेदनलाई तत्कालीन अल्पकालीन र दिर्घकालीन रूपमा कार्यान्वयन गर्न तीन चरणका कार्यक्रमको मस्यौदा निर्माण गर्नेजस्ता कामको जिम्मेवारी पनि निर्वाह गरेको थिएँ।
डा. उप्रेतीको चाहनाअनुरूप जुन काम भयो। जसरी संस्थापक उपकूलपति भएर डा. सुरेशराज शर्माले साथ दिनुभयो। विश्वविद्यालयको ३०औं वार्षिकोत्सव मनाउँदै गर्दा पंक्तिकार समेत आमन्त्रित भएर सहभागी हुन पाउँदा ती सबै कुरा दिमागमा खेल्न पुगेका हुन्। २०४८ सालमा टुटेको सम्बन्ध उपकुलपति प्राध्यापक डा. भोला थापाको आमन्त्रणमा पुनः सुचारु हुन पुग्यो। उहाँले ३०औ वार्षिकोत्सवमा आउनुपर्छ भन्ने धारणा राखी सहभागी मलाई बोलाउँदा सम्मानित भएको महसुस गरे। म बोलाइनु एउटा घटनाक्रम हो, कम्तिमा यसरी गरेको देख्ने प्रवृत्ति सही हो। यस्ता साना कामले राष्ट्रिय योगदानमा हौसला मिल्छ। यस्तो सानो तर अनुकरणीय कामहरू हरेक संघसंस्थामा हुनुपर्छ।
विश्वविद्यालय स्थापना गर्न जति गाह्रो छ, त्यो भन्दा पनि गाह्रो सञ्चालन गर्न छ। सञ्चालन गर्नु त एउटा कुरा भयो। गुणस्तरीय शिक्षा प्रदान गर्दै देश र समाजको आवश्यकतालाई परिपूर्ति गर्नु त्योभन्दा पनि गाह्रो छ। आज उपकुलपतिको पदमा
प्रा डा. भोला थापा हुनुहुन्छ। समाज, विज्ञ, शिक्षाविद्हरू सबैले बाहिरबाट सायद महसुस गरेका छन्, थापाको कार्यकुशलता। उनको कार्ययोजना, काम गर्ने शैली र शिक्षाप्रतिको बुझाइ अनि लगाव र त्यसको कार्यान्वयन प्रसंशायोग्य छ।
अन्य विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा जस्ता शिक्षामा संलग्न, सरोकार र चासो राख्ने, शिक्षा विकासका लागि सधैं अग्रसर हुनु हुने प्राध्यापक डा. मनप्रसाद वाग्ले, प्राध्यापक विद्यानाथ कोइराला लगायतबाट आएका सबै प्रतिक्रिया थापाप्रति सकारात्मक सुनिएका छन्। भन्न सकिन्छ, डा. थापा कार्यकुशल र सक्षम व्यक्तित्व हो। तर, अझै उत्साहका साथ थापाले काठमाडौं विश्वविद्यालयलाई अगाडि लैजानुपर्छ। यस कार्यकालमा विश्वविद्यालयले अर्को एउटा नयाँ उचाइ हासिल गर्नुपर्छ।