सचिवले लगाए गैरकानुनी रूपमा जागिर
जनकपुरधाम : मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्कालीन प्रशासनतर्फका सचिव यम भुसालले श्रीमती र छोरालाई गैरकानुनी रूपमा जागिर खुवाएको खुलेको छ। श्रीमती टीका भुर्तेल र छोरा प्रदीप भुसाललाई मुख्यमन्त्री स्वच्छता’ कार्यक्रमअन्तर्गत जागिर खुवाएका छन्।
भुसालले छोरा प्रदीपलाई सहायक समन्वयकर्ता पाँचौं तहमा करारमा जागिर लगाएका थिए। करारमा नायब सुब्बा तहको जागिर खुवाउन उनी आफैंले टिप्पणी उठाएको पाइएको छ।
प्रदीपले २०७७ साउनदेखि २०७८ पुस मसान्तको तलब र महँगी भत्ता लिएको मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत दिनेश पण्डितले पुष्टि गरे। प्रदीपले मासिक ३० हजार २०० रुपैयाँ तलब र २ हजार महँगी भत्ता बुझ्ने गरेका छन्। ‘म मुख्यमन्त्री कार्यालयमा आएको ६ महिना भयो। यो वर्षको पनि साउन महिनादेखि तलब भत्ता उनले बुझ्नु भएको छ। सचिव भुसाल सर गत पुस २८ गते सरुवा भएर गएपछि उहाँको छोराले पुससम्म मात्र तलब भत्ता खानु भएको छ, त्यसपछि तलब भत्ता लिनुभएको छैन,’ लेखा अधिकृत पण्डितले भने।
त्यस्तै भुसालले श्रीमती टीका भुर्तेललाई पनि दैनिक ज्यालादारीमा सुपरभाइजर पदमा काम लगाउँदै आएका थिए। मासिक १८ हजार रुपैयाँका दरले टीकाले रकम बुझ्ने गरेकी थिइन्। उनले पनि २०७८ पुससम्मको तलब लिएकी छन्। स्रोतका अनुसार भुसालले मुख्यमन्त्री र त्यति बेलाका प्रमुख सचिवलाई विश्वासमा लिएर जागिर लगाएका हुन्। ‘हाकिम सा’बले आफ्नो श्रीमती र छोरालाई पनि कतै एड्जस्ट गर्नुपर्यो भनेर त्यतिबेलाका प्रमुख सचिव र मुख्यमन्त्रीलाई समेत विश्वासमा लिएर जागिरमा लगाउनु भएको थियो,’ कार्यालयका एक कर्मचारीले भने, ‘आफू सचिव भएका कारण छोरा र श्रीमतीलाई गैरकानुनी तरिकाले उहाँले नियुक्ति दिलाउनु भएको थियो।’ ती कर्मचारीका अनुसार उनकी श्रीमती र छोरा कुनै पनि काम नगरी मासिक तलब भत्ता बुझ्ने गरेका थिए।
‘भुसाल सरले पाउनु भएको मधेस भवनस्थित सरकारी निवासमा उहाँसँगै श्रीमती र छोरा पनि बस्नु हुन्थ्यो,’ ती कर्मचारीले भने, ‘उहाँहरूको नियुक्ति भए पनि काम भने गर्नु पर्दैनथ्यो। तलब बुझ्ने दिन मात्र कार्यालयमा आएर तलब भत्ता बुझ्नु हुन्थ्यो।’ करारमा नायब सुब्बा तहको जागिर खुवाउन उनी आफैंले टिप्पणी उठाएको पाइएको छ।