‘नोटको ब्रिकेटले प्रदूषण न्यूनीकरण’
काठमाडौं : झुत्रा नोटबाट ब्रिकेट उत्पादन भएसँगै वायु प्रदूषण एक तहले कम गर्ने वातावरणविद्ले बताएका छन्। नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) वातावरणीय दृष्टिले समेत उपयोगी रहेको वायु प्रदूषण तथा ऊर्जाविज्ञ भूपेन्द्र दासको भनाइ छ।
दासका अनुसार कागजबाटभन्दा बढी प्लास्टिक अर्थात् पोलिमरको झुत्रा नोट बाल्दा धेरै हानिकारक तत्त्व निक्लन्छ। ‘यसको विकल्पमा सबै खाले नोटको ब्रिकेट बनाउँदा केही हदसम्म प्रदूषण कम हुन्छ। नोटलाई प्रत्यक्ष जलाउनुभन्दा ब्रिकेटमा प्रयोग गर्दा प्रदूषणको तह कम हुन्छ,’ उनले भने, ‘यद्यपि यसबारे अहिलेसम्म कुनै अध्ययन चाहिँ भएको छैन।’
तर प्रत्यक्ष रूपमा कोइला, बनमारा र झुत्रा नोट बाल्नुभन्दा ब्रिकेटबाट प्रदूषण कम गर्न मद्दत गर्ने उनले बताए। ‘प्लास्टिक नभएको नोट पनि वन पैदावारबाट बनेको कागज हो। कागजलाई ब्रिकेटमा परिणत गर्दा स्वाभाविक रूपमा वातावरण प्रदूषण कम हुन्छ। खुला रूपमा जलाउनुभन्दा ब्रिकेट आर्थिक र वातावरणीय पक्षले उपयोगी हुन्छ,’ दासले अन्नपूर्ण पोस्ट्सित भने। प्रदूषण न्यूनीकरणका लागि राष्ट्र बैंकले झुत्रा नोटलाई ब्रिकेटमा परिणत गरेर राम्रो पहल गरेको उनले बताए। भने, ‘यसले जलवायु र स्वास्थ्यमा हानि कम गर्छ।’ यद्यपि कार्बन उत्सर्जनमा नेपालको भूमिका ०.२७ प्रतिशत छ। अन्य मुलुकका तुलनामा उद्योग कलकारखाना कम र जंगलको क्षेत्र फैलाएकाले नेपालले आर्थिक सहयोग पनि पाएको छ।
राष्ट्र बैंकले फागुन १३ देखि कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ। बजारमा चलनचल्तीका निम्ति अयोग्य ठहरिएका नोटबाट उत्पादन गरेको ब्रिकेट बिक्रीसमेत भइरहेको छ। नोटबाट अहिले आठ वटा मेसिनबाट १ हजार ४ सय १ हजार ६ सय किलोसम्म ब्रिकेट उत्पादन गरिरहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए। मेसिनको प्रयोगमार्फत ससाना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको हो।
झुत्रा नोटबाट ब्रिकेट बनाउनुअघि वातारणीय पक्षलाई लिएर कुनै अध्ययन भने नगरिएको नेपालले बताए। ‘जलाउँदा धुवाँ उड्ने हुँदा वायुमण्डलमा केही प्रदूषण त हुन्थ्यो। नोट जलाउने स्थानमा धुवाँको मुस्लो हुन्थ्यो,’ उनले भने, ‘तर अहिले ब्रिकेट उत्पादन भैरहेको छ।’
यसरी जलाउने नोटलाई पुनप्र्रयोगमा ल्याउन सकिने विकल्प अपनाएको राष्ट्र बैंकले जनाएको छ। ब्रिकेटलाई नेपालीमा डल्लो पनि भनिन्छ। जलाएर खरानी बनाइने नोटलाई एक प्रकारको मेसिनमा हालेर धुलो पारिन्छ। त्यस धुलोबाट ब्रिकेट अथवा डल्लो बनाइन्छ। त्यो डल्लो दाउराजस्तै इन्धनका रूपमा प्रयोग गरिन्छ।
आगो ताप्ने, खाना बनाउने, इँटाभट्टामा कोइलाको काममा ब्रिकेट प्रयोग हुन थालेको छ। तर राष्ट्र बैंकले उत्पादन गरेको ब्रिकेट भने इँटाटट्टालगायतका उद्योगमा धेरै प्रयोगमा आएको छ। यसले एकातिर पर्यावरण संरक्षणमा टेवा पुगेको र अर्कातिर बैंकलाई आम्दानी पनि भएकाले सराह्रनीय भएको विज्ञ बताउँछन्। बर्सेनि औसत ४० देखि ४५ अर्ब रुपैयाँबराबरका काम नलाग्ने नोट नष्ट गरिँदै आएको थियो। केन्द्रीय बैंकबाट जति मात्रामा चलनचल्तीमा नोट बढी जान्छ।