फर्पिङ जलविद्युत् केन्द्रलाई संग्रहालय बनाउन पहल

फर्पिङ जलविद्युत् केन्द्रलाई संग्रहालय बनाउन पहल

काठमाडौं : जलविद्युत् र पर्यटनलाई विकासको मेरुदण्डको रुपमा अघि लैजान निजी ऊर्जा उत्पादकहरूले पहल अघि बढाएका छन्। ८३ हजार मेगावाटसम्म जलविद्युत्को सम्भावना भएको नेपालमा त्यही जलविद्युत् आयोजनाहरूबाट पर्यटन प्रवद्र्धन गर्न सकिने अवधारणा निजी प्रवर्द्धकहरूको छ। निजी ऊर्जा उत्पादकहरूको संस्था इप्पानले आफ्नो १९औं र २०औं साधरणसभाको अवसरमा प्रधानमन्त्री समक्ष फर्पिङ जलविद्युत् केन्द्रलाई संग्रहालय बनाउन र त्यसको व्यवस्थापनको जिम्मा दिन माग गरेको इप्पान कार्य समिति सदस्य प्रकाश दुलालले बताए।  

नेपालको सबैभन्दा पुरानो र एसियाको दोस्रो पुरोनो फर्पिङ जलविद्युत आयोजनालाई संग्राहालयको रुपमा विकास गर्ने। अध्ययन– अनुसन्धान केन्द्र बनाउने गरी विकास गर्न सकिने धारणा इप्पानको छ। ऐतिहासिक धरोहरको रुपमा रहेको उक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व दिएर पर्यटन आकर्षण गर्न सकिने दुलाल बताउँछन्। 

फर्पिङ जलविद्युत् आयोजना स्थापना भएको १११ वर्षभन्दा बढी भइसकेको छ। १ सय वर्षभन्दा बढीका संरचनाहरू पुरातत्व अन्तर्गत पर्छन्। यसले ऐतिहासिक महत्व राख्छ। तर, फर्पिङ जलविद्युत् आयोजना पुरातत्वभित्र परेपनि यसको संरक्षण र प्रवद्र्धनमा पुरातत्व विभागले काम नगरेको महानिर्देशक दामोदर गौतम बताउँछन्। स्थानीय सरकारले यसमा चासो दिनुपर्ने उनको तर्क छ। 

‘अहिले हामीले जलविद्युत्लाई पर्यटनसँग जोडेर स्थानीयको रोजगारी वृद्धि, स्थानीय आय, आर्थिक क्षेत्रमा टेवा पुग्ने तथा पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ’ उनी बताउँछन्। जलविद्युतलाई ब्राण्डिङ गर्न सके यसले पर्यटक आकर्षित गर्न सक्ने प्रशस्त सम्भावना रहेको दुलालको भनाइ छ। 

विश्व नै हरित ऊर्जाको प्रवद्र्धन गर्नेतर्फ अग्रसर भइरहेको समयमा नेपालले पनि हरित ऊर्जालाई प्रवद्र्धन गर्ने भनेर भनिसकेको छ। जलविद्युत् नितान्त हरित ऊर्जा भएको र यसले वातावरण रक्षासँगै पर्यटन प्रवद्र्धनको काम पनि गर्ने विज्ञहरूको भनाइ छ। नेपालमा निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई पर्यटनसँग जोडेर आर्थिक विकास गर्नुपर्ने पनि विज्ञको भनाइ छ। 
तर, राज्यमा कसैले पनि जलविद्युत् र पर्यटनलाई जोड्नुपर्छ भनेर नहेरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी बताउँछन्। सरकारले यो सम्बन्धमा नीतिगत व्यवस्था नगरेपनि यसको प्रचुर सम्भावना भएको रेग्मीको भनाइ छ। 

‘आन्तरिक वा बाह्य पर्यटक नेपालको जुनसुकै क्षेत्रमा जाँदा यदि त्यहाँ जलविद्युत् आयोजना छ भने बिजुली कसरी उत्पादन हुन्छ ? त्यसको इनटेक कसरी बन्छ ? त्यसले वातावरणमा कत्तिको प्रभाव कति पार्छ ? भन्ने बुझाएर यसलाई एउटा प्रोडक्टको रुपमा अघि बढाउन सकिन्छ’, रेग्मी बताउँछन्। २ वर्षअगाडि नै बोर्डले यसलाई अघि बढाउने भनेको भएपनि कोभिडका कारण अघि बढ्न नसकेको उनले बताए।

नदी बेसिनको अधिकतम उपयोग गर्न जलविद्युत् विकास गर्ने र यसलाई पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्ने उनको धारणा रहेको छ। नेपाल आउने पर्यटकलाई काठमाडौंमा मात्र केन्द्रित नगरी भ्रमण अवधि लम्ब्याउनका लागि पनि यसले मद्दत गर्ने उनले बताए। सरकारी, गैरसरकारी तथा सरोकारवाला निकायसँग सहकार्य तथा परामर्श गरी पर्यटन र जलविद्युत् विकासको साझा अवधारणा पनि तयार गर्न सकिने उनले बताए। जलविद्युत् विकासबाट पनि हिमाल र पहाडका आकर्षक ठाउँमा पर्यटक पुर्‍याउन सकिने उनको भनाइ छ। यसका लागि स्पष्ट दृष्टिकोण र नीति आवश्यक पर्ने बताइएको छ।

भौगोलिक वातावरण, उपयुक्त हावापानी र भौगोलिक विविधता कारण प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल एक उत्कृष्ट पर्यटकीय गन्तव्य मुलुकका रूपमा चिनिन्छ। पानी, पर्यटन र जनशक्ति नेपालको आर्थिक भविष्यका आधार मानिन्छन्। यसको अत्याधिक उपयोगमार्फत् नेपालले आर्थिक उपार्जन गर्न सक्ने प्रचुर सम्भावना छ। प्रस्तावित जलविद्युत् आयोजना निर्माण र प्राकृतिक सौन्दर्य अवलोकन गर्न पर्यटक आउँदा मात्रै पनि यसबाट प्राप्त हुने रोयल्टीको लाभ लिन सकिन्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.