ऐतिहासिक आठराई मदनमेला सुरु
तेह्रथुम : पूर्वकै ऐतिहासिक “आठराई मदनमेला” आठराई संक्रान्ति बजारमा सुरु भएको छ। चैत्र २३ गतेसम्म संचालन हुने मेलाको विभिन्न सांस्कृतिक झाँकीहरुसहित सुरु भएको हो।
विस २०१५ सालदेखि संक्रान्ति बजारमा लाग्दै आएको मेलालाई स्थानीयहरुले विविधताको महोत्सवकोरुपमा मनाउने गर्दछन्। मेला उद्घाटन समारोहका प्रमुख अतिथि तथा आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले ऐतिहासिक “आठराई मदनमेला–२०७८” को उद्घाटन गरेका हुन्।
कोरोना भाइरसका कारण दुईवर्ष स्थगित भएको पूर्वकै पुरानो मेला यसवर्ष खेलकुद, साँस्कृतिक, साहित्यक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको साथ संचालन हुने बताइएको छ।
मेलाको प्रमुख आकर्षणकोरुपमा मदन मेमोरीयल पुरुष फुटबलमा १८ टिम, महिला फुटबल ८ टिमले सहभागिता जनाएका छन्। मेलामा ब्याडमिन्टन लगायतका खेलकुदका कार्यक्रमहरु रहेका छन्।
लिम्बू समुदायको लोप हुँदै गएको संस्कृति झल्काउने “धान नाच” प्रतियोगीता पनि मेलाको मुख्य अकर्षणमा रहने आयोजकले जनाएको छ। खेलकुदका कार्यक्रमहरु चैत्र १८ गते विहान ८ बजेदेखि संचालन हुने आठराई मदन मेला आयोजक समितिका अध्यक्ष काजी गुरुङले बताए।
मदन मेमोरियल पुरुष फुटबल खेलमा प्रथम हुने टिमले नगर १ लाख २५ हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद ७५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
महिला फुटबल खेलमा प्रथम हुने टिमले नगर ६५ हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद ४० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ।
ब्याडमिन्टन डबल पुरुष (ए)मा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद १५ हजार रुपैयाँ, ब्याडमिन्टन डबल पुरुष (बि)मा प्रथम हुने टिमले नगद २० हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद १३ हजार रुपैयाँ, ब्याडमिन्टन डबल पुरुष (सि)मा प्रथम हुने टिमले नगद १५ हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद १० हजार रुपैयाँ र ब्याडमिन्टन डबल (महिला)मा प्रथम हुने टिमले नगद १५ हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
लिम्बू जातीको पहिचान झल्काउने धान नाच प्रतियोगितामा प्रथम हुने समूहले १८ हजार रुपैयाँ, द्धितीय हुने समूहले १० हजार र तृतीय हुने समुहले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ।
त्यस्तै खुल्ला नृत्यमा प्रथमले १५ हजार, द्धितीयले १० हजार र तृतीयले ५ हजार पाउनेछन्। कविता तर्फ प्रथमले ५ हजार, द्धितीयले ३ हजार र तृतीयले २ हजार पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।
गैर लिम्बू पालाम, ख्याली तथा हाक्पारेमा प्रथमले १५ हजार रुपैयाँ, द्धितीयले १० हजार रुपैयाँ र तृतीयले ५ हजार रुपैयाँ पुरस्कार रहेको छ। नयाँ वर्ष तथा अक्षतृतीयाको अवसरमा लाग्दै आएको मेलामा स्थानीय उत्पादनहरुको प्रर्दशनी र व्यापार हुने गर्दछ।
पूर्वका विभिन्न जिल्लाबाट खेलकुदका कार्यक्रममा सहभागी हुने गर्दछन्। मेलामा आन्तरिक तथा बाह्य पर्यटकहरु आठराईमा फूल्ने विभिन्न प्रजातीका लालिगुराँस र संक्रान्तिबजारबाट देखिने विभिन्न हिमशृङखलाको दृश्यावोलकन गरी रमाउने गर्दछन्।
संक्रान्तिबजारमा विस २०१५ सालदेखि अक्षतृतीयाको अवसरमा लाग्दै आएको मदन मेला सशस्त्र हिंसाका बेला सञ्चलान हुन छाडेको थियो। संक्रान्तिबजारमा तत्कालिन रानी जगदम्बाले स्व. पति मदन शम्शेरको स्मृतिमा मदन ट्रष्ट खडा गरी मदन धारा, जगदम्बा दातब्य औषधालय, अतिथि भवन र रानी चौतारा निर्माण सँगै मदन मेला संचालन भएको बताइएको छ।
मदन ट्रष्टका संरक्षक दिक्षितको पहलमा पुनः नयाँ वर्षको अवसर पारेर २०६८ सालदेखि मेलालाई निरन्तरता दिइएको थियो। संक्रान्तिबजारमै रहेको अतिथि भवन माओवादीले सशस्त्र हिंसाका बेला ध्वस्त पारेका थिए। द्धन्द्ध कालदेखिनै बन्द भएको औषधालय अहिलेसम्म संचलानमा आउन सकेको छैन्। मदन मेला पुनस्थापित भएर मदन ट्रष्टको सहयोगमा स्थानीयको अगुवाईमा मेला संचलान हुदै आएको छ।