अर्घाखाँचीमा आफन्तबाटै बालिका असुरक्षित
सन्धिखर्क : अर्घाखाँचीको मालारानी गाउँपालिकामा आफ्नै विद्यार्थी १५ बर्षिय वालिकालाई जबरजस्ती करणी गर्ने शिक्षकलाइ पुर्पक्षकालागि थुनामा राख्न जिल्ला अदालत अर्घाखाँचीले आदेश दिएको छ।
मालारानी गाउँपालिकामा घर भएका २७ वर्षिय शिक्षकले आफैंले अध्यापन गराउने १५ वर्षकी बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको उजुरी परेपछि निज शिक्षकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।
पटकपटक हुने जबरजस्ती करणीले गर्भ रहेपछि १४ हप्ताको गर्भपतनसमेत गराएको बालिकाले बताएको तथा अनुसन्धानबाट देखिएपछि अदालतले मंगलबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक अम्बरबहादुर थापाले बताए।
गएको पुस १९ गते साझ ६ बजे घर नजिकैको जंगलमा नोट कपी दिने बहानामा बालिकालाई बोलाई जबरजस्ती करणी गरेको र ततपश्चात पटकपटक करणी गर्ने गरेको बालिकाले दिएको बयानमा उल्लेख भएको प्रहरी नायब उपरिक्षक थापाले बताए।
जिल्लाकै पाणिनि गाउँपालिकामा आफ्नै बाबुले १३ वर्षकी आफ्नै छोरीलाई जबरजस्ती करणी गरे। आफ्नै बाबुले काखमा राखि स्तन समाउने, सुमसुमाउने, स्तन चुस्ने, योनी चलाउने, योनी भित्र औला राख्ने जस्ता ब्योहरोका जाहेरी परेको प्रहरीको भनाई छ। जाहेरी पछि निज बाबुलाई पक्राउ गरी अनुसन्धान गरी जिल्ला अदालत अर्घाखाँचीमा मुद्धा चलान गरिएकोमा पुर्पक्षका लागि थुनामा छन्।
पछिल्लो समय अर्घाखाँचीमा आफन्तबाट नै बालिकाहरु असुरक्षित हुने गरेका छन्। आफ्नै शिक्षक र आफ्नै बाबुबाट उनीहरु बलात्कृत हुनु परेको छ। पढ्न पठाएका बालिकाहरु शिक्षक तथा गुरुहरुबाट नै असुरक्षित हुने गरेका छन्। कतै आफैले जन्म दिएका बाबुबाट छोरीहरु असुरक्षित छन्।
यसै आर्थिक वर्षमा सन्धिखर्क नगरपालिकामा नाताले दाजु पर्ने १३ वर्षिय बालकले ५ वर्षकी बालिकालाई जबरजस्ती करणी गरे। हाडनाता भित्र जबरजस्ती करणी गरेको र जबरजस्ती करणी गर्ने बालकसमेत नाबालक भएकाले जिल्ला अदालतमा मुद्धा दायर भएकोमा अदालतले संरक्षकको जिम्मा लगाइ तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ।
यस आर्थिक वर्षमा जबरजस्ती करणीका ३ र जबरजस्ती करणी उद्योगका २ र बाल यौन दुरुपयोगको १ गरी जम्मा ६ वटा मुदा जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक थापाको भनाई छ।
मुद्धा दर्ता संख्या कमी भएपनि जबरजस्ती करणीको प्रकृति अत्यन्तै भयानक छ। आफन्तबाटै असुरक्षित भएपछि बालिकाहरुको संरक्षण कसरी गर्ने भन्नेमा अभिभावकहरुसमेत चिन्तित बनेका छन्।
विद्यालयमा पढ्ने बालिका घरमा रहेका छोरी मात्र हैन्। सुस्त मनस्थितिका बालिकाहरुसमेत असुरक्षित रहेका छन्। मालारानी गाउँपालिकामा १७ वर्षकी सुस्त मनस्थितिकी बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने ३० वर्षिय पुरुषलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीमा मुद्धा दायर भएकोमा पूर्पक्षको लागि थुनामा राख्ने जिल्ला अदालत अर्घाखाँचीले फैसला गरेको छ।