विकासको आसमा ढोरपाटन
सन्धिखर्क : वरिपरि पहाडैपहाड। पहाडलाई रुखबिरुवाको हरियालीले घेरेको छ। बीचमा ठूलो समथर भूमि जसको दक्षिणी क्षेत्रबाट उत्तरगंगा उत्तर फर्किएर बगेकी छन्। बीचको समथर भूमिमा भन्दा अति माथि ढिकढाक र माथिल्लो क्षेत्रमा मानिस घर बनाएर बसेका छन्। झट्ट हेर्दा लाग्छ तराईको कुनै समथर भूमि हो। तर त्यस समथर भूमिमा घोडा, खच्चड, गाई र भैंसी चरिरहेका छन्। यो स्थान हो राज्यले बेवास्ता गरेको पर्यटकीयस्थल बागलुङको ढोरपाटन। तर यो समथर पर्यटकीय भूमिको उपयोग र प्रचारप्रसार हुन नसक्दा अहिले चरन क्षेत्र बनेको छ।
प्राकृतिक सौन्दर्य र शीतलताले भरिपूर्ण ढोरपाटनको विकासका लागि कसैले पहल गरेको छैन। न त प्रचारप्रसारमा नै कसैले पहल गरेको छ। लाग्छ ढोरपाटनमा पुगेपछि ढोरपाटनले भनिरहेको छ ‘मेरो विकासमा तिमी पनि लाग, मेरो प्रचारप्रसारमा सहयोग गर। मेरो रूप तिमीजस्ता लाखौंलाई देखाउन चाहन्छु। विरहमा भएकाको विरह मेटाउन चाहन्छु।’
हिमाली सिकार आरक्षण ढोरपाटनमा धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको उत्तरगंगाको पानी मुहानमा अवस्थित ढोरवराह थान अर्थात् उत्तरगंगा देवीको मन्दिर छ। त्यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको अवसर पारेर ठूलो मेला लाग्ने स्थानीय सुजन घर्तीमगरले बताए। बागलुङ, रुकुम, म्याग्दी, रोल्पा गुल्मी, अर्घाखाँची, प्युठानलगायतका अन्य जिल्लाबाट हजारौंको संख्यामा भक्तजनहरू आउने उनको भनाइ छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोपाटन सिकार आरक्षण १,३२५ वर्ग किलोमिटरमा फैलिएको छ। यसमा लुम्बिनी प्रदेशको रुकुममा ६० प्रतिशत, गण्डकी प्रदेशको बाग्लुङमा २६ प्रतिशत र म्याग्दीमा १४ प्रतिशत भूभाग पर्ने आरक्षणका सूचना अधिकारी सूर्य खड्काको भनाइ छ। यहाँ अनुमतिपत्र लिएर तोकिएको जनाबर तोकिएकै समयभित्र सिकार गर्न पाइने व्यवस्था छ। यो नियमले कुनै जनावर सखाप हुने वा धेरै भएर बासस्थानकै हानि हुने अवस्था हँुदैन। यो आरक्षण करिब दुई हजारदेखि ७ हजार २ दुई सय ४६ मिटरको उचाइमा छ ।
यस सिकार आरक्षणमा ३२ प्रजातिका स्तनधारी जनावरहरू पाइन्छन्। यस आरक्षणमा पाइने प्रमुख जनावरहरूमा झारल, नाहुर, घोरल कस्तुरी, मृग, हिउँ चितुवा, रेडपान्डा, हिमाली भालु हुन्। दुर्लभ एवं संरक्षित पन्छीका सूचीमा परेका डाँफे, मुनालजस्ता पन्छीहरू पनि पाइने आरक्षण कार्यालयले जनाएको छ। आरक्षणमा बहुमूल्य जातका जनावरहरू पाइने भएकाले अवैध चोरी सिकारी बढ्ने आरक्षणका कर्मचारीहरू बताउँछन्। यसले गर्दा त्यहाँ रहेका कतिपय लोपोन्मुख जनावरहरूको अस्तित्व नै मेटिने अवस्था छ।
- लुम्बिनी भ्रमणमा आउने पर्यटक पनि ढोरपाटन पुग्ने
- ढोरपाटनको प्रचारप्रसारमा कुनै निकायबाट कतैबाट पहल नभएको गुनासो
पर्यटकका लागि आवश्यक पूर्वाधार जस्तै यातयात, सञ्चार, होटल, लज, सूचना केन्द्रजस्ता सुविधाको व्यवस्था नभएसम्म पर्यटन विकासले पूर्णता पाउने स्थिति छैन। ढोरपाटन सिकार आरक्षण प्राकृतिक दृश्यावलोकनसहितको पैदल यात्रा, सांस्कृतिक रहनसहनको जानकारी लिन र वन्यजन्तुको साहसिक सिकार गर्नका लागि योग्य पर्यटकीय स्थल रहेको छ। यहाँ हवाई सेवा सञ्चालनका लागि एउटा हवाई मैदान पनि छ। यहाँको उत्तरी क्षेत्रमा हजारौं तिब्बती शरणार्थीहरू बसिरहेका छन्। तिब्बतबाट भागेर आएका तिब्बतियनहरूले आश्रय लिएको यहाँको विकासका लागि कसैले पहल गरेको छैन। न त प्रचारप्रसारमा नै कसैले केही गरेको छ।
लुम्बिनीबाट चिसो खान ढोरपाटन
लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू पनि ढोरपाटन घुम्न आउँछन्। त्यहाँ जानको लागि विभिन्न बाटाहरू प्रयोग गर्न सकिन्छ। जसका लागि गुल्मीको तम्घास, इन्द्रेगौंडा, बामी, खरबांग हुँदै एउटा बाटो छ। अर्को बागलुङ सदरमुकाम हुँदै मध्यपहाडी लोकमार्गको सडक प्रयोग गरेर गलकोट, खरबांग, बुर्तिबाङ हुँदै पुग्न सकिन्छ। अहिले ढोरपाटनमा जान सजिलो र छोटो बाटो खुलेको छ।
रूपन्देहीको सालझन्डी हुँदै सन्धिखर्क, मदाने, बुर्तिबांग हुँदै ढोरपाटन पुग्न सकिन्छ। मुलुकको एकमात्र हिमाली सिकार आरक्षण ढोरपाटनसम्म सालझन्डी–ढोरपाटन सडक पुगेपछि गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरू प्राकृतिक सौन्दर्य चुम्दै ऐतिहासिक तथा धार्मिकस्थल घुम्दै ढोरपाटन सिकार आरक्षणसम्म पुग्न पाउने भएका हुन्।
२०६५ सालमा निर्माणकार्य सुरु भएको सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। यो सडकको जम्मा लम्बाइ १ सय ८५ किलोमिटर रहेको सालझन्डी–सन्धिखर्क– ढोरपाटन सडक योजनाका वीरेन्द्रप्रसाद गौतमले बताए। रूपन्देहीमा ५, पाल्पामा २० अर्घाखाँचीमा ७० गुल्मीमा ४० र बागलुङमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ। बागलुङको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पुर्याइएको यो सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको हो।
रूपन्देहीको सालझन्डी, पाल्पाको खुर्साने, अर्घाखाँचीको मैदान, पाली, वांगला, सन्धिखर्क, अर्घा, बागी, हंसपुर, प्युठानको सौतामारे, गुल्मीको पुरकोटदह, सिर्सेनी, मदानेको लेक, बागलुंगको बुर्तिबाङ ,बोबांग हँुदै ढोरपाटन पुग्ने सालझन्डी सन्धिखर्क ढोरपाटन सडक खण्डको ट्र्याक खुलेपछि तराईको गर्मीबाट आएका पर्यटकलाई हिमालको चिसोमा रमाउने अवसर
मिलेको हो।
नेपाल सरकारकोे लागतमा सालझन्डीदेखि ढोरपाटनसम्म १ सय ८० किलोमिटर कच्ची सडक निर्माण गरी ढोरपाटनसम्म मोटर पुगेपछि सडकबाट लाभान्वित रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, बागलुङ, रुकुम, रोल्पा र म्याग्दी जिल्लाका हजारौं स्थानीय बासिन्दामा खुसीयाली छाएको छ।