गौशालामा नापी तथा मालपोत कार्यालयको स्थापना

गौशालामा नापी तथा मालपोत कार्यालयको स्थापना

महोत्तरी : दाजुभाइबीचको अंश छुट्याउनका लागि १५ दिनसम्म सदरमुकाम जलेश्वर धाएका गौशालाका नागेन्द्र साहले गौशालामै नापी तथा मालपोत कार्यालय स्थापना हुने खबरले हर्षित भएका छन्। जग्गासम्बन्धी हरेक कामकाज अब स्थानीयस्तरमै हुने भएपछि पैसा र समय दुवैको बचत हुने प्रतिक्रिया दिँदै साहले भने, ‘अंशबण्डाजस्तो समान्य कामको लागि दुई सातासम्म जलेश्वर धाउनुपर्‍यो। ५०औं पटक कार्यालयका कर्मचारीसँग फोनमार्फत् कुराकानी गर्नुपर्‍यो। अनि अन्त्यमा ओटी अर्थात् कमिशन दिएपछि मात्र काम सम्भव भएको थियो।’

 सदरमुकाममा हुने यस्ता अनेकौं बेथितिलाई चिर्नका लागि गौशालामा स्थापना भएको नापी तथा मालपोत कार्यालयले जनमैत्री तवरले कार्यसम्पादन गरिने साहले जनाएका छन्।

जिल्लाको पश्चिमी भेगमा नापी तथा मालपोत कार्यालय स्थापना हुनु भनेको नमुना एवं उदाहरणीय काम रहेको सोनमाका मन्जित महराले बताए। उनले भने, ‘आफ्नै गाँउठाँउबाट यस्ता महत्वपूर्ण कार्यहरु हुनु सर्वसधारणको लागि खुसीको कुरा छ। अब कार्यालयलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सबैको सकारात्मक भूमिका आवश्यक छ। समय समयमा अनुगमन र निती निर्देशनको कार्यान्वयन गर्नुपर्ने आवश्यक छ।’

स्थानियस्तरबाटै जग्गा सम्बन्धि हरेक कामकाज गराउन पाउने भएपछि जिल्लाका पश्चिमभेगका स्थानियहरु हर्षित भएका छन् । पहिले पहिले जग्गासम्बन्धि सानो सानो कामकाजको लागि सदरमुकाम जानुपर्ने अवस्थाको अन्त्य भएको गौशाला नगरपालिका १ का अम्वर वहादुर गोलेले बताए । उनले भने, ‘जलेश्वर जाने भनेपछि दिक्क लाग्दथ्यो । यहाँबाट ३० किलोमिटर दुरीको यात्रा गरेर जाँदा समेत कहिल्यै समयमा भने सेवा पाउदैन्थयो । पहिलो दिन त लामो लाईनमा वसेर पालो कुर्दैमा दिन वित्थ्यो । राति वास वस्नुपर्ने, पुनः अर्को दिन त्यहाँ वसेर काम गराउनुपर्ने । जसले गर्दा पैसा र समयको मात्र वर्वाद हुन्थयो ।’

गौशालास्थित नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहेका मनु साहका अनुसार कम समयमा गौशालावासीको लागि यो ठुलो उपलब्धि रहेको छ । उनले भने, ‘अब यहाँ चाँडै नै नापी र मालपोत कार्यालय स्थापना हुन्छ भन्ने कुरा गर्दा सवैले मजाकमै उडाउने गर्दथ्यो । आज सरोकारवाला निकायले पहलकदमी गर्दा यो सफल भएको हो । धन्यवाद द सवैलाई । अब यस कार्यालयलाई अन्य कार्यालयभन्दा सुव्यवस्थित, जनमैत्री अनि छिटोछरितो रुपमा कार्यसम्पादन गराउनका लागि सरोकारवाला निकायको भुमिकाको आवश्यक्ता रहेको छ ।’

यस्तो थियो स्थापनाको प्रक्रिया

वि.सं. २०७६ सालमा तत्कालिन भुमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्याल गौशाला आउने क्रममा ज्ञापनपत्र बुझाएपछि यसको स्थापना सम्बन्धि प्रक्रिया विधिवत रुपमा शुभाराम्भ भएको हो । मन्त्री अर्याल निगौल गाई गौशालाको जग्गा व्यवस्थापनको निम्ति आउने क्रममा गौशाला नगरपालिकाको कार्यालयले ज्ञापनपत्र बुझाएको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ । कार्यालय अनुसार सो समयमा प्रक्रिया अगाडि बढाएर वारम्वार विभिन्न माध्यमले ध्यानाकर्षण गराउँदा यस विषयले खासै उपलब्धि हासिल हुन सकेन् । त्यसपछि गतबर्षको चैत्रमा गौशाला महोत्सवमा प्रमुख अतिथीको रुपमा गौशाला आउनुभएकी तत्कालीन उद्योग राज्यमन्त्री विना विकलाई समेत यसबारेमा ध्यानाकर्षण गराएको गौशाला उद्योग वाणिज्य संघले जनाएको छ । तत्कालिन समयमा नेकपाको नगर कमिटी र गौशाला उद्योग वाणिज्य संघको तर्फबाट संयुक्त रुपमा सो ज्ञापनपत्र बुझाईएको नेकपा एमालेका नगरअध्यक्ष अजय कुशवाहाले बताए । सवैको पहलमा यो गौशालावासीको लागि ऐतिहासिक उपलब्धि हासिल भएको नेता कुशवाहाले प्रतिक्रिया दिए । वर्तमान संघीय सरकारका भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठको विशेष पहलमा यो उपलब्धिमुलक सफलता हासिल भएको गौशाला नगरपालिकाका नगरप्रवक्ता भोजवहादुर दर्लामीले बताए । नगरप्रवक्ता दर्लामीले भने, ‘मन्त्री पदमा अर्यालको निर्देशनअनुसार तयार गरिएको फाईल उपर खासै काम भएन् । मन्त्रालयको एउटा कुनामा फाईल थन्किएर राखिएको थियो । पछि शशि श्रेष्ठले मन्त्रालय सम्हालेपछि उनकै पहलमा यो प्रक्रियाले सफलता हासिल गरिएको हो । गौशाला नगरपालिकाले मन्त्रालयमा बुझाएको फाईललाई अर्थमन्त्रालयले सहमति प्रदान गरिसकेपछि मन्त्रिपरिषदको निर्णयअनुसार यहाँ कार्यालय स्थापना हुने वाटो खुल्ला भएको हो ।’ गत विहीबार बसेको मन्त्रिपरिषदको वैठकले गौशाला लगायत देशका अन्य ४ स्थानमा नापी र मालपोत स्थापना गर्ने निर्णय गरिएको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए । मेयर महतोले भने, ‘यस कार्यमा सहयोग गरिने माननीय मन्त्री शशि श्रेष्ठ लगायत सरोकारवाला हरेक निकायलाई धेरै नै धन्यवाद छ । आज उनीहरुकै सकारात्मक भुमिकाले यो सम्भव भएको हो । आफुले चुनावी घोषणापत्रमै समावेश गरिएको यो उपलब्धि गौशालावासीको ऐतिहासिक बनेको छ । यो मेरो कार्यकालकै सवैभन्दा ठूलो उपलब्धि रहेको छ । गौशाला नगरपालिकाले सो कार्यालय संचालनको लागि आवश्यकमात्रामा हरेक किसिमको सहयोग गर्नका लागि तयार छ ।’ 

यस्तो हुनेछ कार्यालय संरचना

गौशालामा नापी कार्यालय र मालपोत कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय भएलगतै यहाँ कार्यालय व्यवस्थानको लागि जुटेका छन् । गौशाला नगरपालिकाको कार्यालयले सो कार्यालय संचालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार संरचनाको निर्माण गर्ने भएको छ । गौशाला नगरपालिका स्रोतका अनुसार वजार परिसरमा रहेको वीरेन्द्र धर्मशालाबाट यो कार्यालयले सेवा प्रदान गर्नेछ । नगरभित्रमा सवैभन्दा उपयुक्त, फराकिलो, चौतर्फी रुपमा सुविधासम्पन्न रहेको सो भवनलाई कार्यालय संचालनको लागि सुम्पिनेछ । वजारको विचभागमा रहेको सो स्थानबाट सेवा दिदा सेवाग्राहीहरु प्रत्यक्ष रुपमा निर्धक्क भई सेवा लिन सकिने नगरपालिकाले विश्वास गरेका छन् । चारैतिरबाट ठुलठुला भवनहरु, नजिकमै रहेको प्रहरी कार्यालयले गर्दा कार्यालय संचालनका लागि कुनै किसिमको अवरोध हुनेछैन । हाल त्यहाँ रहेको वडा कार्यालय लगायतका अन्य कार्यालयहरुलाई अन्यत्र सार्ने तयारीमा जुटेका छन् । भवनको व्यवस्थापनका निम्ति गौशाला नगरपालिकाले जिम्मेवारी पाएकोले सहमति अनुसार यी दुई कार्यालयको लागि भौतिक पूर्वाधारको तयारीमा कुनै कमी हुन नदिने गौशाला नगरपालिकाका नगरप्रवक्ता भोजवहादुर दर्लामीले जानकारी दिए । यता कर्मचारीको जिम्मेबारी मन्त्रालयको मातहतमा रहेको बताउदै दर्लामीले भने, ‘हाल कार्यालय सहयोगदेखि लिएर कार्यालयप्रमुखसम्म गरि ७ ÷ ७ जना कर्मचारी सेवा प्रवाह गरिने छ । सुरक्षा व्यवस्थाको लागि आवश्यकमात्रामा त्यहाँ सुरक्षाकर्मी समेत परिचालन हुनेछ । जसको व्यवस्थापन सम्बन्धित कार्यालयले गरिनेछ ।’

लामो प्रयासपछि गौशालामा स्थापना भएको नापी तथा मालपोत कार्यालयबाट गौशाला र औरही  नगरपालिका तथा सम्सी र सोनमा गाँउपालिकाका सर्वसधारण प्रत्यक्ष रुपमा सेवा लिन सकिनेछ । सवै पालिकाको मुख्यभागमा यस कार्यालय स्थापनाले चौतर्फी रुपमा सुलभ र सरल सेवा प्रदान गरिने भएको छ । मुख्यतः अनलाईनको माध्यमबाट सेवा प्रवाह गरिनेभएपछि आमसर्वसधारणहरु खोजेअनुसारको सेवा सुविधा पाउनेमा स्थानियहरु विश्वस्त रहेका छन् । सम्भवतः २०७९ सालको पहिलो हप्तादेखि सेवा सुचारु हुने यस कार्यालयमा तीव्र रुपको प्रविधीतर्फको संरचना जडान गर्नुपर्नेमा स्थानियहरुले माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.