निर्वाचनसम्बन्धी तपाईंको कुनै जिज्ञासा छ?
काठमाडौं : स्थानीय तह निर्वाचनसम्बन्धी तपाईंको कुनै जिज्ञासा लागे ११०२ मा फोन गर्न सकिने व्यवस्था गरिएको छ। जुन निःशुल्क छ। डायल लगत्तै ‘नमस्कार ! निर्वाचन आयोगमा यहाँलाई स्वागत छ,’ भनेको सुन्न सकिन्छ। त्यसपछि निर्देशनअनुसार १ डायल गर्दा मतदाता नामावली, २ डायल गर्दा निर्वाचन आचारसंहिता, ३ डायल गर्दा मतदाता शिक्षा र ० नम्बर डायल गर्दा निर्वाचनसम्बन्धी अन्य जानकारी पाइन्छ।
चैत १५ बाट कल सेन्टर सञ्जालमा दैनिक ३ सय बढीले निर्वाचनसम्बन्धी जिज्ञासा राख्ने गरेका छन्। ‘म जुम्लाबाट बोल्दै छु। भर्खरै विदेशबाट घर आएको छु। मतदाता नामावलीमा मेरो नाम छैन। के म मतदान गर्न पाउँछु ?,’ सेवाग्राहीले कल सेन्टरमा फोन गरे।
कल सेन्टरको त्यो कल रिसिभ गर्दै प्रमुख आयुक्त दिनेश थपलियाले भने, ‘मतदाता नामावलीमा नाम नभएको व्यक्तिले मतदानमा भाग लिन पाउँदैन। अब चुनाव सकेपछि आयोगले मतदाता नामावलीमा नाम लेखाउन सूचना जारी गर्छ। त्यसमा नाम लेखाउनु होला। यसपालिको निर्वाचनमा तपाई भाग लिन नपाए पनि स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सहयोग गरिदिनु होला।’
वैशाख ३० मा हुने स्थानीय तहको चुनाव मात्र ४० दिन बाँकी छ। दलहरू गाउँ–गाउँमा चुनावी प्रचारमा जुटिसकेका छन्। योसँगै निर्वाचनसम्बन्धी जिज्ञासा पनि बढ्दै गएको बताउँछन्, आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्याल। उनले भने, ‘सर्वसाधारणको जिज्ञासा सम्बोधनका लागि कल सेन्टरको स्थापना गरिएको छ।’
पहिले निर्वाचनसम्बन्धी सोधिखोजी बढ्दो क्रममा छ। सेवाग्राहीले कल सेन्टरमा फोन गरेर आफूलाई लागेको जिज्ञासा राख्ने गरेको बताउँछन्, कल सेन्टरका मधुसुदन पुडासैनी। ‘निर्वाचन आचारसंहिता कहिले लागू हुन्छ ? मेरो नाम मतदाता नामावलीमा छ कि छैन ?, उमेदवार योग्यता केके छ ? जस्ता प्रश्न धेरै नै आउँछ,’ ‘आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘कल सेन्टरका एजेन्टले सेवाग्राहीले मागेको सूचना र जानकारी नम्र भएर जानकारी दिन्छन्।’ सेन्टरमा १० जना कर्मचारी खटिएका छन्। उनीहरू बिहान ८ बजेदेखि राति ८ बजेसम्म कल रिसिभ गरेर सेवाग्राहीको जिज्ञासा मेटाउँछन्। नेपाल टेलिकमका सिनियर इन्जिनियर नरकाजी गुरुङका अनुसार एकपटकमा १५ वटा कल रिसिभ गर्न सकिन्छ।
७ जिल्लामा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी
निर्वाचन आयोगले चुनावका लागि हिमाली तथा पहाडी ७ जिल्लामा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने तयारी गरेको छ।
सडकमार्गको पहुँचमा नरहेको मतदान केन्द्रमा वैशाख १६ गतेपछि सामग्री पठाइने आयोेगका प्रवक्ता शर्माले बताए। हिमाली तथा पहाडी जिल्लामा १५ प्रतिशत बढी मतपत्र पठाइनेछ भने सुगम जिल्लामा १० प्रतिशत मतपत्र पठाइनेछ।
त्यसैगरी आयोगले देशभरिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ। ७५३ स्थानमा मतगणना गरिनेछ। सम्भावित घटनालाई मध्यनजर गर्दै आयोगले सीसी क्यामरा जडान गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले बताए। सीसी क्यामराको जडान स्थानीय तहले गर्नेछ।