एम्नेस्टी इन्टरनेसनल नेपालको साधारण सभा धुलिखेलमा सम्पन्न
काभ्रे : एम्नेस्टी इन्टरनेसनल नेपाल(एम्नेस्टी नेपाल)ले आफ्नो तीसौँ वार्षिक साधारण सभा धुलिखेलमा चैत्र १८ र १९ गते सम्पन्न गरेको छ। साधरण सभाले वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र संस्थाका केही नीतिहरूमाथि छलफल गरेर अगामी दुई वर्षको नेसनल बोर्ड र पुनरावेदन समितिको नयाँ नेतृत्व चयन गरेको छ।
धुलिखेलमा दुई दिनसम्म चलेको साधारण सभाले एम्नेस्टी इन्टरनेसनल नेपालले विपिन बुढाथोकीको नेतृत्वमा ११ कार्य समिति सदस्य रहेको नेपालको नेसनल बोर्ड र जीवनप्रसाद फूँयालको नेतृत्वमा तीन सदस्यीय पुनरावेदन समितिको गठन भएको आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। एम्नेस्टी नेपालको संस्थागत सुधारका प्रक्रियालाई निरन्तरता दिनुका साथै नयाँ रणनीतिक लक्ष्य निर्धारण गरी स्पष्ट, सबल र प्रभावकारी मानवअधिकार दिशातर्फ संस्थालाई अघि बढाउने निर्वाचित अध्यक्ष विपिन बुढाथोकीले पत्रकार सम्मेलनमा बताए।
एम्नेस्टी नेपालको नव निर्वाचित नेसनल बोर्डमा अध्यक्ष विपिन बुढाथोकी, कोषाध्यक्ष रोशन बजगाईँ र सदस्यहरु सचिता कुँइकेल, विमला वाग्ले, मन्जु विश्वकर्मा, केशव पोखरेल, निखिल पोख्रेल, होमबहादुर अधिकारी, देवेन्द्र सेजुवाल, गरिमा पाण्डे तथा बरूण कुँइकेल रहेका छन्। पुनरावेदन समितिमा संयोजक जीवनप्रसाद फूँयाल र सदस्यहरू लक्ष्मी रेग्मी तथा लोकेन्द्र सिंह रहेका पत्रकार सम्मेलनमा जानकारी दिए।
धुलिखेलमा भएको साधारण सभामा देशभरीका एम्नेस्टी नेपालमा आबद्ध समूह, युथ नेटवर्क, समर्थक सदस्यहरूको तर्फबाट २५४ मताधिकार प्राप्त प्रतिनिधिहरू, बोर्ड तथा पुनरावेदन समितिका पदाधिकारीहरू, कर्मचारी, स्वयंसेवक, पर्यवेक्षक र एम्नेस्टी इन्टरनेसनलको अन्तर्राष्ट्रिय सचिवालयका प्रतिनिधिहरूलगायत ३०० भन्दा बढी सहभागीहरू उपस्थिति रहेको थियो।