लालीगुराँसले रंगियो घोडेपानी (तस्बिर)

लालीगुराँसले रंगियो घोडेपानी (तस्बिर)

घोडेपानी : लालीगुराँसले ढकमक्क बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र पर्यटकको पर्खाइमा छ । चारैतिर घना गुराँसको जंगलको बीचमा रहेको घोडेपानीका घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै हिमाल देखिन्छ । शान्त, एकान्त वातावरणमा अवस्थित यो ठाउँ वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनेको घोडेपानी टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा बताउँछन् । 

'घोडेपानी लालीगुराँसले ढकमक्क भइसकेको छ, 'उनले भने, 'हामी पर्यटकलाई स्वागत गर्न आतुर छौं ।' जाडो हटेको र वनजंगलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–बैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमाली लगायत जातका गुराँस पाइन्छ । 

पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाईन्छ । नेपालमा ३२ प्रताजीका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातीका लालीगुराँस पाईने अध्ययन प्रतिवेदनहरुमा उल्लेख छ । 

लालीगुराँस नेपालको राष्ट्रिय फुल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाईने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो दावी गरिएको छ । गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।
  
बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौ लगायत क्षेत्रबाट बिद्यार्थी, कर्मचारी र व्यापारीहरु समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन् । घोडेपानी पर्यटक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमराज गौलीका अनुसार दैनिक ६०/७० जना विदेशी र १०० जना नेपाली पर्यटकहरु भ्रमणमा आएका छन् । 

‘घोडेपानी–पुनहिल घुम्न आउने विदेशी पर्यटकको तथ्याङ्क हामीले राख्ने गरेका छौं,'उनले भने, 'कोरोना महामारी फैलिएपछि २०७६ चैत देखि रोकिएको पर्यटकको उपस्थिति गत फागुन देखि हुन थालेको छ ।' काठमाडौंबाट ८ जनाको समूहमा घोडेपानी घुम्न आएकी अक्षता भट्टराईले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रंगिएको जंगलमा पदैलयात्रा गर्दा रमाइलो महशुस भएको बताइन् । गुराँस, पहाड, हिमाल, सुर्योदयको दृष्यबाट मोहित भएको चितवनकी पुनम खरेलले अनुभव सुनाइन् । 

फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फुल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताइन् । 'स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएका छौं, 'उनले भनिन्, 'घोडेपानीमा रहेका २७ वटा होटललाई सुविधा र पुर्वाधारको आधारमा दुई समूहमा वर्गीकरण गरेका छौ । ११ वटा होटललाई (क) र १६ वटालाई (ख) समूहमा वर्गिकरण गरेर फरक फरक दररेट बनाइएको हो ।'

एकरात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित ९५० देखि एक हजार ६०० रुपैयाँको प्याकेज बनाएका छन् । यसअघि सबै होटलहरुले प्रतिव्यक्ति एकरात बास बसेको, बेलुकाको खाना र बिहानको खाजाको एक हजार पाँच सय रुपैयाँ शुल्क लिने गरेका थिए । 

घोडेपानीका होटलमा दैनिक एक हजार बढीका लागि बासको व्यवस्था छ। फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शुल्कको नयाँ दररेट २०७८ चैत १ गतेदेखि लागू हुने उपसमितिका अध्यक्ष पुनले बताइन् ।  

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा  छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सुर्योदय, हिमाल र लालीगुराँसको जंगल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.