चार दिनमा पनि बनेन जहाजको पाङ्ग्रा
काठमाडौं : थाइल्यान्डको बैंककमा ४ दिनदेखि अलपत्र परेका यात्रुलाई नेपाल वायु सेवा निगमकोे अर्को जहाज वाइडबडिले काठमाडौं ल्याएको छ। गत शुक्रबार निगमको टिकट काटेका १४१ यात्रुलाई सोमबार वाइडबडिले काठमाडौं एयरपोर्टमा ओरालेको निगमका सहायक प्रवक्ता ज्ञानबहादुर अर्यालले जानकारी दिए।
आजको वाइडबडि ए३३०को नियमित उडानबाट बैंककमा अड्किएका यात्रुहरूलाई नेपाल ल्याइएको हो। निगमले हप्तामा २ पटक बैंककको उडान भर्दै आएको छ। यात्रु कम भएको बेलामा न्यारोबडि र बढी भएको बेलामा वाइडबडिले उडान भर्ने गरेको अर्यालले बताए।
नियमित उडानका क्रममा न्यारोबडि एन–एकेडब्लु जहाज शुक्रबार बैंकक पुगेको हो। बैंककबाट काठमाडौं उडान भर्ने क्रममा रनवेमा जहाजको पछाडिका २ वटा नै पाङ्ग्रा पंचर भएको निगमका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। ‘सबै नर्मल रहेको जहाज बैंककका एयरपोर्टमा टेक अफका क्रममा पाङग्रा पड्किएको थियो। पाङ्ग्रा नै नभएपछि कसरी उड्ने ?,’ अधिकारी बताउँछन्।
पाङ्ग्रा पंचरपछि जहाज बैंकक एयरपोर्टमा नै ग्राउन्डेड भएको छ। बैंकक एयरपोर्टको भन्सार बिन्दुमा भएको ढिलाइका कारण उक्त जहाज मर्मतमा समय लागेको अधिकारीले बताए। जहाजको ब्रेक फ्यान फेल भएर
पाङ्ग्रा पंचर भएको हुनसक्ने बताइएपनि निगमले सो सम्बन्धमा जानकारी नभएको बताएको छ। उक्त जहाज क्याप्टेन प्रशान्त राई र को–पाइलट ग्रीष्म श्रेष्ठले उडाएर लागेका थिए। बैंकक एयरपोर्टमा जहाजका आवश्यक स्पेयर्स पार्ट नभएका कारण बाहिरबाट लैजाँदा समय लागेको निगम अध्यक्ष अधिकारीको भनाइ छ। ‘शुक्रबार साँझ जहाजको पाङ्ग्रा पंचर भएको हो। शनिबार नै काठमाडौंबाट जहाज बैंकक पुर्याएपनि त्यहाँ भन्सार बन्द भएका कारण शनिबार र आइतबार नै जहाज बन्न सकेन,’ अधिकारी बताउँछन्।
जतिसक्दो चाँडो जहाज बनाएर नेपाल फर्काउने प्रयास भइरहेको उनको भनाइ छ। ४ दिनदेखि अलपत्र यात्रुलाई जहाज बनाएर सोही जहाजबाट नै नेपाल फर्काउने निगमको प्रयास भने असफल भएको छ। शुक्रबार १४१ यात्रुले नेपाल फर्कन टिकट काटेका थिए। उडान रद्द पछि निगमले नै अर्को विकल्प नहुँदा यात्रुहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ। १४१ मध्ये करिब १ सय यात्रुलाई ३ दिनसम्म निगमकै खर्चमा होटलमा राखिएको सहायक प्रवक्ता अर्यालले जानकारी दिए। ‘आफन्त, साथीभाइ हुने उनीहरूकोमा नै बसेको र कोही नहुनेलाई होटलमा राखिएको हो,’ आचार्यको भनाई छ। बैंकक जाने जहाज नहुनु र पाङग्रा फेर्ने नै प्रमुख प्राथमिकता हुनुले यात्रु फर्काउन समय लागेको अध्यक्ष अधिकारी बताउँछन्।
फिट टु फ्लाइट (उडानका लागि योग्य) भएको जहाजमा कसरी समस्या आयो भन्नेमा निगमसँग नै उत्तर छैन। यसका लागि आन्तरिक छानबिन समिति बनाएर प्रक्रिया अघि बढाइने निगम अध्यक्ष अधिकारी बताउँछन्। ‘किन पाङ्ग्रा पंचर भयो र किन ढिला पाङग्रा बैंकक पुग्यो भन्ने सम्बन्धमा हामी छानबिन गर्छौ,’ अधिकारी बताउँछन्। पाङग्रा पड्किएको जहाजका पाइलट प्रशान्त राइसँगको छोटो कुराकानीमा जहाजको पाङग्रा फर्ने काम भइरहेको जानकारी दिए। पाइलट राइ बैंककमा नै छन्।