नुवाकोट प्रशासनले गर्यो बजार अनुगमन
नुवाकोट : जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न स्थानको बजार अनुगमन गरेको छ। वर्षको एक/दुई पटक औपचारिकता निभाउन मात्र बजार अनुगमन गर्ने गरेकोमा यसलाई निरन्तरता दिन सर्वसाधारणले माग गरेका छन्।
पछिल्लो पटक नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका क्षेत्रभित्र रहेका विविध पसल तथा व्यवसायको अनुगमन गरिएको छ। विदुर नगरपालिका ८ र वेलकोटगढीका दुई गरी १० वटा विविध व्यवसायमा अनुमगम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार विदुर–५ पिपलटारको जालपादेवी आयल स्टोर्स, सुर्यमति फ्युल सेन्टर, सुसन सप्लायर्स, श्रेष्ठ किराना पसल, पुजा कस्मेटिक एण्ड सप्लायर्स र न्यौपाने तोरी मिलमा अनुगमन गरिएको हो। यसका साथै विदुर–४ को भैरवी आयल स्टोर्स, होमटाउन सप्लायर्स तथा वेलकोटगढी–७ मा रहेको नवीन किराना पसल र त्रिशूली आयल स्टोर्समा मापदण्ड तथा गुणस्तरका सम्बन्धमा बजार अनुगमन गरिएको सहायक प्रजिअ अर्यालले बताए।
अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मुल्यसूची, नापतौल, खाद्यवस्तु उत्पादनको मिति, म्याद समाप्त मिति, खरिद बिल र बिक्रि विलको निरीक्षण गरिएको अनुगमनमा सहभागीहरुले बताए। निरीक्षणको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन, सुधार गर्न सुझाव दिँदै र केहि व्यवसायीलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअको भनाई छ।