नवलपुरमा पनि पल शाहलाई थुनामा पठाउन आदेश
नवलपुर : तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको नवलपुर जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। उनलाई पुनः तनहुँको दमौली कारागारमै फिर्ता पठाउने आदेश दिइएको हो।
शाहमाथि एक किशोरी गायिकालाई बलात्कार गरेको अभियोग लागेको छ। एक वर्षअघि सुटिङका क्रममा तनहुँ र पूर्वी नवलपरासीको गैंडाकोटमा पुग्दा शाहले छुट्टाछुट्टै स्थानमा बलात्कार गरेको भन्दै किशोरीले दुवै जिल्लाको प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
उजुरीका आधारमा तनहुँ कारागारमा थुनछेक बहसहुँदा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। कारागारबाटै शाहलाई थुनछेकका लागि नवलपुर पुर्याएको हो। अदालतमा बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए।
मंगलबार शाहको बयान सकिएपछि बुधबार थुनछेक बहस भएको हो। आदेश बुधबार राति अबेर आएको हो। 'प्रमाणका आधारमा शाहलाई दमौली कारागारमै फिर्ता पठाउने आदेशमा भएको छ,' अधिकारीले भने। किशोरीको तर्फबाट ३ जना सरकारी वकिल र २ जना कानुन व्यवसायीसहित ५ ले बहस गरेका थिए। शाहका तर्फबाट ९ जना कानुन व्यवसायीले बहस गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए।
किशोरीको तर्फबाट बहस गर्ने सरकारी वकिलसहितका कानुन व्यवसायीले अभियोगमा दोषी देखिएकाले शाहलाई १२ देखि १४ वर्षसम्मको कैद सजायसहित ४ लाख जरिवाना र उचित क्षतिपुर्तिको माग गरेका थिए।
त्यस्तै अभियुक्त शाहको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले रिहा हुनुपर्ने माग गरेका थिए। शाहको तर्फबाट बहस गर्नेमध्येका अधिवक्ता गणेश अधिकारीले अभियोग प्रमाणित हुने प्रमाण नरहेकाले झुठा मुद्दामा फसाउन खोजिएकोले उनलाई रिहा गर्न माग गरेको बताए।
आफूमाथि बलात्कार भएको भन्दै किशोरीले एक महिनाअघि नवलपुर अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गरेकी थिइन्।