छुवाछूत गर्नेलाई कैद, पीडितलाई क्षतिपूर्ति
राजविराज : जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। पीडितहरूलाई ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत अदालतले गरेको छ। पीडित लीलाधर दास तत्माले आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन्। ४२ वर्षीय तत्माले भने, ‘न्याय पाउने आस मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ।’
तत्माकी पत्नी ३५ वर्षीया दुखनीदेवी दासले अदालतले अभियुक्तहरूलाई दोषी ठहर गरेकोमा सन्तोष जनाइन्। अदालतले आफ्नो पक्षमा फैसला गरे पनि दलितलाई समाजमा फर्किएर सामान्य रूपमा जीवन जिउन गाह्रो रहेको उनले बताइन्। ‘दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै हामीले न्याय पाउँदैनौं। समाजले बराबरी स्वीकार गर्नुपर्छ’, उनले भनिन्, ‘अमानवीय व्यवहार हुने सबै खाले विभेदको चलन हटाउनु पर्छ।’
बोदे बर्साइन–८ काचनका लीलाधर र दुखनीदेवी असारी पूजा गर्न २०७४ असार १३ गते साँझ मन्दिर गएका बेला कुटपिटमा परेका थिए। उक्त घटनामा जिल्ला अदालतले सोमबार काचनकै ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशीन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई जातीय छुवाछुतको कसुरमा दोषी ठहर गरेको हो। उनीहरूले ‘तल्लो जात’को भन्दै कुटपिट गरी पूजाको सामान फालिदिएका थिए।
न्याय पाउन निरन्तर संघर्ष
पीडितले घटना भएकै दिन इलाका प्रहरी बोदे बर्साइनमा उजुरी दिएका थिए। तर, इलाका प्रहरीले कारबाही प्रक्रिया अघि बढाएन। त्यसपछि अधिकारकर्मीको सहयोगमा २०७४ असार १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिए।
लीलाधर दास तत्मा, पीडित
अधिकारकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै डेलिगेसन गएपछि जिल्ला प्रहरीले ०७४ असार १४ गते जातीय छुवाछूत र कुटपिट अंगभंगमा उजुरी दर्ता गर्यो। तर, आरोपितलाई पक्राउ गर्न तत्परता देखाएन। जिल्ला अदालतले २०७४ भदौ २८ गते म्यादी पुर्जी जारी गर्यो। पछिल्लो पटक जिल्ला अदालतले ०७६ असार २५ गते शारीरिक परीक्षणको आदेश गर्यो।
न्याय पाउने आस मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ।
– लीलाधर दास तत्मा, पीडित
घरपरिवारको आर्थिक अवस्था कमजोर थियो। तापनि लीलाधरले हार खाएनन् र कानुनी लडाइँ लड्दै गए। अदालतमा लामो समय मुद्दा लम्बिँदा तत्माले धेरै व्यवधानको सामना गरे। एकातिर गाउँमा दबाब झेल्नुपर्यो। अर्कातर्फ गाउँमै घुमफिर गरिरहेका आरोपितहरूबारे सूचना दिए पनि प्रहरीले पक्राउ गर्न ध्यान दिएन। अदालतको पेसी, तारेख, परीक्षण, बयान, साक्षी बकपत्र आदिले आजित बनेका थिए लीलाधर।
अभियुक्तहरू अदालतमा पछि हाजिर भए। जनही १ लाख २५ हजार धरौटी राखेर छुटेपछि लीलाधर अत्तालिएका थिए। उच्च अदालत जनकपुर राजविराज इजलासले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि उनी निराश बने। तापनि हिम्मत हारेनन्। उक्त दिनको स्मरण गर्दै तत्माले भने, ‘असारी पूजा गर्न दम्पती नै मन्दिर पुगेका थियौं। मन्दिरमा पस्न दिएनन्। बाहिरबाटै पूजा गर्छु भन्दा पनि मानेनन्।’ पूजा गर्न पाउनुपर्ने माग गर्दा कुटपिटबाट लीलाधरको कुमको हड्डी भाँचियो। दुखनीको शरीरभरि चोटपटक लाग्यो। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र विराटनगरमा उपचार गराए। विराटनगरमा कुमको शल्यक्रिया भयो।
दलित समुदाय ‘मान्छे हुन नपाउनुको दर्द’ले अझै घाइते रहेको विष्णुपुर गाउँपालिका–१ का जितु रामले बताए। ‘संसारमा मानवताभन्दा ठूलो र महत्वपूर्ण कुरा अरू छैन। तर अझै हामी आहत र छौं’, रामले भने, ‘गणतन्त्र आएको १४ वर्षमा पनि सार्वजनिक धारा, पँधेरा, इनार र मन्दिर छोएको बहानामा मान्छे अपमानित बन्नुपर्ने विडम्बना छ।’