एड्स नियन्त्रण कहिले ?

एड्स नियन्त्रण कहिले ?

एचआईभी एड्स सन् १९७० को अन्त्यतिर अफ्रिकामा भित्रभित्रै फैलिएको भनिए पनि यो पहिलो पटक अमेरिकाका समलिंगीहरूमा सन् १९८१ मा देखिएको  हो। विश्वमा सन् २०१० मा एचआईभीका २१ लाख नयाँ संक्रमित थिए। यसको तुलनामा सन् २०२० मा ३१ प्रतिशतले संख्या घटेर नयाँ संक्रमित १५ लाख पुगे। 

अझै ९ हजार ४ सय १७ एचआईभी संक्रमित सरकारको पहुँचमा नआएका अनुमानित तथ्यांक छ। नेपालमा केन्द्रीकृत महामारीका रूपमा एचआईभी छ। जोखिम समूहमा एचआईभी संक्रमणदर पाँच प्रतिशतभन्दा बढी तथा सामान्य जनसंख्यामा एक प्रतिशतभन्दा कम हुनु नै केन्द्रीकृत महामारी हो। सन् २०२० को अन्तसम्म ३० हजार ३ सय व्यक्तिमा एचआईभी संक्रमण रहेको र ७ सय ५४ जनामा नयाँ संक्रमण भएको अनुमान छ। सन् २०२० मा मात्रै ६ सय ३६ जनाको एड्सकै कारण मृत्यृ भएको छ। सन् २०२१ को जुलाईसम्ममा नेपालमा २० हजार ८ सय ८३ संक्रमितले एआरभी उपचार लिइरहेका छन्। जुन कुल संक्रमितमा ६९ प्रतिशत हो। उपचारबाहिर रहेका ३१ प्रतिशत अर्थात् ९ हजार ४ सय १७ जना कहाँ र कुन अवस्थामा छन् ?

एचआईभी पोजिटिभ

एड्स रोगको भाइरसबाट शरीरमा संक्रमण भएको अवस्था नै एचआईभी पोजिटिभ हो। यस्तो अवस्थामा रहेको मानिस बिरामी भइहाल्दैन। सामान्य मानिस झैं क्रियाशील जीवन बिताउन सक्छ र उसको स्वास्थ्य स्थिति र जीवनस्तर राम्रो हुन्छ। उसमा मनोबल पनि उच्च हुन्छ भने १०–१५ वर्षसम्म यस्तै अवस्था भइरहन सक्छ। तर उसले  भाइरस सार्न सक्छ।

एड्स रोग

यो एचआइभीका कारण एचआइभी पोजिटिम भएको मानिसको शरीरको अन्य रोगसँग लड्ने क्षमता ह्रास भएको अवस्था हो। यस्तो अवस्थामा पुगेपछि मानिस कुनै पनि रोगका भाइरसहरूको आक्रमणबाट जोगिन सक्दैन। एक्वायर्ड इम्युनो डेफिसेन्सी सिन्ड्रोम (एड्स) ह्युमन इम्युनो डेफिसेन्सी भाइरस (एचआईभी) को संक्रमणद्वारा हुन्छ। यो भाइरस शरीरमा प्रवेश गरेपछि यसले शरीरका श्वेत कोषिकाको ‘टी लिम्फोसाइट सीडी–४’ कोषमा आक्रमण गर्छ र तीनको संख्यामा कमी आउँछ। शरीरमा साधारण संक्रमणसँग पनि लड्न नसक्ने गरी प्रतिरोधात्मक शक्तिको ह्रास भएर जान्छ। जुनसुकै रोगले पनि सजिलैसँग आक्रमण गर्दछ। मानव शरीरको विभिन्न अंगहरूमा असर पारी धेरै लक्षणहरू देखाउने भएकाले यस रोगलाई सिन्ड्रोम भनिन्छ।

एड्सको भाइरस रोगीको योनीरस, वीर्य, आमाको दूध र रगतमा प्रशस्तै मात्रामा हुने हुनाले यी पदार्थ कुनै माध्यमद्वारा रोगीबाट निरोगीको शरीरमा प्रवेश भएमा एचआईभी पनि सँगसँगै प्रवेश गरी एचआइभी एड्स हुन्छ।

जोखिम समूह

एचआइभी संक्रमण कुनै एक पक्ष, वर्ग, जाति वा समूहमा मात्र सीमित नभई सम्पूर्ण मानव जाति नै संक्रमणको जोखिममा छ। पेसाभन्दा पनि उसको व्यवहारले जोखिमताको स्तर निर्धारण गर्छ। एचआईभी संक्रमणको बढी जोखिममा यौनकर्मी महिला, यौनकर्मीका ग्राहकहरू, यातायात मजदुर, प्रवासी, सुईबाट लागूपदार्थ लिनेहरू, लागूपदार्थका दुव्र्यसनी तथा सुई साटासाट गर्नेहरू, रोजगारीको लागि बाहिर लामो समयसम्म काम गर्न जानेहरू, असुरक्षित यौनसम्पर्क राख्ने व्यक्तिहरू पर्छन्।  हवाईजहाजको गतिमा फैलिएको एचआईभी एड्सलाई पैदलयात्रीले भेट्न नसके झैं भएको छ नेपालमा यसका रोकथाम र नियन्त्रणका कार्यक्रमहरू।

प्रमुख लक्षणहरू

  • ज्वरो आई राति पसिना आउने र यो एक महिनाभन्दा लामो समयसम्म रहनु।
  • तीन महिनाभित्र १० प्रतिशतभन्दा बढी तौल घट्नु
  • एक महिनाभन्दा बढी समयसम्म पखाला लाग्नु

सहायक लक्षणहरू

  • एक महिनाभन्दा बढी खोकी लागिरहनु
  • जनै खटिरा बारम्बार आउनु
  • मुख तथा घाँटीको भित्री भागमा ढुसी पर्नु (केन्डिडायसिस)
  • शरीरभरि लिम्फ ग्रन्थी बढ्ने र गाँठागुठी देखिने
  • दीर्घकालीन हर्पस सिम्पेल्कस संक्रमण
  • शरीरभरि छाला चिलाउने, छालाको सुजन हुने।

यसका अतिरिक्त मुखमा र छालामा दाग, मुसा, ढुंसी देखिने गर्छ। मानसिक लक्षणहरू जस्तै झनक्क रिसाउने, चिन्तित हुने, स्मरण शक्ति घट्दै जाने, हातखुट्टा झमझमाउने र दिक्क लाग्ने अन्य लक्षण हुन्। क्षयरोग (टीबी), झाडापाखाला, निमोनिया, जनै खटिराजस्ता संक्रमण तथा क्यान्सरजस्ता रोगहरूले सताउने र औषधि उपचार गर्दा पनि लक्षणमा खासै परिवर्तन नआई तिनैका कारण मृत्यु हुने गर्छ।

रोकथाम

सरकारले सन् २०३० सम्ममा एचआईभी एड्स महामारीलाई अन्त्य गर्ने अर्थात् नयाँ संक्रमण शून्यमा झार्ने, शून्य मृत्यृ र शून्य भेदभावको लक्ष्य लिएको छ। त्यस्तै सन् २०३० सम्म ९५—९५—९५ को लक्ष्य पनि राखेको छ। जसमा ९५ प्रतिशत संक्रमितले आफ्नो अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशत एआरभी औषधि उपचारको पहुँचमा हुने र औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून हुने लक्ष्य राखिएको छ। सन् २०२६ सम्ममा आमाबाट शिशुमा हुने संक्रमण उन्मूलन गर्ने लक्ष्य छ। एआरभीको पहँुचमा ६९ प्रतिशत छन्। वार्षिक रूपमा विनियोजित ५६ करोड बजेट औषधि खरिदमा नै अपुग भएको गुनासो छ।

 शरीरमा रोगको भाइरस प्रवेश गरेपछि वा एड्स लागिसकेपछि विभिन्न किसिमका समस्या तथा रोग लागिरहने हुँदा रोकथाम नै सबैभन्दा उत्तम उपाय हो। यसका लागि आफ्ना श्रीमान् श्रीमती वा प्रेमिपे्रमिकामा वफादार रहने, समलिंगी पुरुष तथा महिलासँग यौन सम्बन्ध नराख्ने, सुरक्षित यौन व्यवहार गर्ने, शंकास्पद व्यक्तिहरूले रक्त परीक्षण गर्ने गर्नुपर्छ। एचआईभी एड्स लागिसकेको छ भने बफादार बन्ने, विशेषज्ञसँग छलफलपछि मात्र गर्भवती बन्नुपर्र्छ। आफूलाई एचआईभी भएमा सोको जानकारी अन्य साथीभाइलाई समेत दिनुपर्छ। एचआईभी भएको व्यक्तिले कहिल्यै पनि रगत वा वीर्य दान गर्नु हुँदैन। रगत लिँदा वा दिँदा सधैंजसो रगत परीक्षण गर्नुपर्छ। बिदेसिएका पुरुष तथा महिला फर्कने बेलामा रगत परीक्षण गर्नुपर्छ। सरकारी तथा निजी अस्पतालमा एचआईभीको परीक्षण निःशुल्क गरिनुपर्छ। संक्रमितले अरुलाई बचाउनेमा 
सचेत हुनुपर्छ।

अन्त्यमा, सरकार पक्ष, राजनैतिक प्रतिबद्धता, निजी क्षेत्र, नागरिक समाजलगायतका सबैको प्रतिबद्धता र संलग्नताले भावी नेपालको भविष्य सुनिश्चित गर्न सक्छ। एचआईभी एड्स संक्रमणको रोकथाम, व्यवहार परिवर्तन तथा रोग प्रतिकार गर्ने वचतबद्धता मात्र होइन कर्म क्षेत्रमा पनि उत्रने प्रतिबद्धता  जरुरी हुन्छ। एचआईभी एड्सको भयानकतालाई विचार गरी बहुविभागीय समस्याको रूपमा हेरी राजनैतिक अपेक्षाभन्दा माथि उठी सार्वजनिक चासोको रूपमा यसलाई हेर्नुपर्छ र निराकरणमा सबै एकजुट हुनुपर्छ।

- डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.