डाक्टरको शंकास्पद मृत्यु : हत्यारा सार्वजनिक गर्न माग
राजविराज : राजविराज आएको एक हुल मानिसको नारा गुञ्जन थालेपछि बजारमा सन्नाटा छायो। जुलुसको अग्रपंक्तिमा रहेका युवाहरू आक्रोशित मुद्रामा हत्यारा सार्वजनिक गर्न माग गर्दै थिए। जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेपछि विरोधको स्वर झनै चर्को भयो। सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका डा. विजय यादवको मोरङको विराटनगरमा हत्या भएको भन्दै गाउँलेहरू आक्रोशित थिए। उनीहरू सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, गृहमन्त्री र मोरङ प्रशासनसँग हत्यामा संलग्न पत्ता लगाउन माग गर्दै थिए।
विष्णुपुर गाउँपालिका–१ खुरहुरियादेखि नै जुलुसको पछि लाग्दै आएका वृद्धहरूले नारासँगै हात उठाएर साथ दिइरहे। उनीहरूले भक्कानिँदै नारा लगाए। नजिकका छिमेकी र आफन्तले पनि मन थाम्न सकेनन्।
काँधमा भिरेको गम्छाले आँखाबाट बगेका आँसु पुछ्न थाले। जग्गाजमिन बेचेर नपुगेपछि वैदेशिक रोजगारबाट कमाएको सबै पैसा छोराछोरीको पढाइमा खर्चिएका थिए यदुनन्दन यादवले। यदुनन्द डा. विजयका बुबा हुन्। विद्यालयमा सधैं प्रथम हुने विजयलाई डाक्टर बनाउन र छोरी विनितालाई अप्टोमेट्री (दृष्टि विशेषज्ञ) शिक्षा पूरा गराउन यदुले ९ वर्षसम्म मलेसियामा गार्ड बनेर पसिना बगाएका थिए। सासूससुरा स्याहार्दै घरखेतको सबै जिम्मेवारी चन्द्रकलाले सम्हालेकी थिइन्।
धेरै पढ्न नपाएका यदु र चन्द्रकलाको एउटै सपना थियो छोराछोरीलाई डाक्टर बनाउने। पढाइमा अब्बल भएका कारण र खर्च गरेअनुसार आएको परिणामले यादव परिवार ज्यादै खुसी थिए। गाउँलेहरू पनि गौरवान्वित थिए। ‘आँखामा राखे पनि नबिझाउनेले अन्ततः गाउँलेलाई रुवाएर गयो’ विष्णुपुर गाउँपालिका–१ का ६८ वर्षीय बमभोलाप्रसाद यादवले भने, ‘बाल्यकालदेखिनै विजय उत्तिकै अनुशासित थिए।’ गाउँलेहरूका अनुसार छोराछोरीलाई विजयको उदाहरण दिएर पढ्न उत्प्रेरित गर्थे रे।
प्रदर्शनमा सहभागी ६० वर्षीय छिमेकी सत्यनारायण यादवले विजयलाई स्मरण गर्दै आँसु झारे। ‘दसैंमा आउँदा विजयले पापा भन्दै खुट्टा ढोग्दा आशीर्वाद दिएको थिएँ, तर दैवले सुनेनन्’ मिजासिलो विजयको त्यो आदरयुक्त नरम बोली अब कहिल्यै सुन्न नपाइने भयो भन्दै उनले बिलौना गरे।
गाउँकै किशन शर्माले भने, ‘आफ्नो छोरा नरेशले सधैं विजयको सहयोगी भावनाको प्रशंसा गर्थे।’ शर्माका अनुसार बंगलादेशमा सँगै एमबीबीएस पढेका नरेशले विजयको उत्प्रेरणा, साथ, सहयोगले आफूमा सकारात्मक परिवर्तन आएको सुनाउने गरेका थिए। ‘मेधावी विद्यार्थी भएकाले बुवाआमाले ऋणकर्जा बोकेर पढाइमा सारा खर्च लगाए तर जब छोराले कमाउने बेला भयो तब सपना चकनाचुर भैदियो’ विष्णुकान्त यादवले भने, ‘घरपरिवारको खुसी र गाउँको गौरव थियो, सदाका लागि बिलायो।’
साविक विष्णुपुर गाविसका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले जागिरको छोटो अवधिमै अग्रजहरूलाई उछिन्दै अगाडि बढेका हाडजोर्नी तथा नशा रोग विभागका डाक्टर विजयले शल्यक्रियामा गुणस्तरीय इम्प्लान्ट सामग्री (हाड जोर्नीमा लगाउने स्टीलका रडहरू) प्रयोग गर्न दबाब दिने गरेकाले हत्या भएको आशंका व्यक्त गरे।
केही औषधि व्यवसायी, सप्लायर्स र अस्पतालभित्रका माफियाहरूको आँखाको तारो बनेकाले उनीहरूकै षड्यन्त्रमा हत्या भएको सुरेन्द्रको भनाइमा डा. विजयका काका चितरञ्जन यादवले पनि सहमति जनाए। छानबिन प्रक्रियामा नोबेल अस्पताल प्रशासनले देखाएको उदासीनताप्रति पनि चितरञ्जनले गुनासो गरे। नियोजित रूपमा भएको हत्याको उच्च स्तरीय छानबिन र दोषीमाथि कारबाही नभएसम्म आन्दोलन नरोकिने गाउँलेहरूको प्रतिबद्धता थियो।
मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत ३१ वर्षीय डा. यादवको शव शनिबार बिहान अस्पताल नजिकै रहेको डेराको कम्पाउन्डमा फेला परेको थियो। शुक्रबार राति निर्ममतापूर्वक आक्रमण गरी हत्या गर्नेलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्नुपर्ने गाउँलेको माग छ।
यदुनन्दन यादव र चन्द्रकलादेबीका एक्ला छोरा डाक्टर यादवले बंगलादेशबाट एमबीबीएस अध्ययन गरेपछि पाँच वर्षदेखि नोबेल अस्पतालमा कार्यरत थिए। अप्टोमेट्री गरेकी डा. यादवकी बहिनी बिनिता भारतको दिल्लीस्थित मोदिराम लायन्स आँखा अस्पतालमा कार्यरत छिन्।