स्थानीय तह निर्वाचन : म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने
बेनी :आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा) का नेताहरुको बिहीबार बेनीमा बसेको संयुक्त बैठकले म्याग्दीका छवटै स्थानीय तहमा साझा उम्मेदार तय गर्ने निर्णय गरेका हुन् ।
सबै दलको वडा तहबाट आएको रिपोर्टको आधारमा दलहरुबीच पालिका र उम्मेदवार बाँडफाँडका लागि सहमति गरिने नेपाली कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले बताए । 'गठबन्धनमा आवद्ध दलहरुको शक्ति सन्तुलनको आधारमा पालिका र वडामा उम्मेदवार बाँडफाँडको निर्णय हुन्छ, 'उनले भने, 'चुनावी तालमेल गर्न जिल्ला र पालिकास्तरीय संयन्त्र बनाएका छौं।'
बैठकमा कांग्रेस सभापति खम्बिर गर्बुजा, माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छबि विश्वकर्मा र जनता समाजवादीका अध्यक्ष देबेन्द्रबहादुर विश्वकर्मालगायत नेताहरुको उपस्थिति थियो ।
२०७४ को निर्वाचनमा कांग्रेसले बेनी नगरपालिकामा प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वटा वडामा अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले सातवटा वडा जितेको थियो । एमालेले दुई गाउँपालिका अध्यक्ष, तीन गाउँपालिका उपाध्यक्ष र २३ वटा वडा अध्यक्ष जितेको थियो । बेनी नगरको उपप्रमुख राप्रपाले जितेको थियो ।